‘भाइ जाने हो ?’
‘कहाँसम्म होला ?’
‘पिपल चौतारासम्म ।’
‘बस्नुस् न त ।’
धुलो टक्टकायो । सिटमा बसाल्यो । अनुहारमा हेर्यो । केही बेर अक्मकायो । पार्टीका कार्यकर्ता हुन् वा होइनन् चिन्न खोज्यो । पार्टीका कार्यकर्ता जस्तै लाग्यो । ‘कुनै झण्डा लगाउँ कि हजुर ?’ आफूसँग पुरै पार्टीका झण्डा भएजस्तै गरी बोलेको थियो ऊ । यात्रु अलमलमा परे । मुखामुख गरे । फिस्स हाँसे । जवाफ दिए – ‘पर्दैन, पर्दैन ।’ उसलाई लज्जा बोध भयो । कतिपय यात्रुहरुले झण्डा राख्न लगाउने गरेकोले नै सोधेको थियो जिउलेले । यस पटकका यात्रु फरक किसिमका परेछन् ।
चौराहा, न्यूरोड, साझाचोक हुँदै पिपल चौतारासम्म अटो कुदायो जिउलेले । झण्डा फर्फराउँदै अन्य अटोहरु पनि तल माथि गर्दै थिए । गाडी, बाइक, बिद्युतका पोलहरुले थरिथरिका झण्डा बोकेका थिए । घरघरमा झण्डा फर्फराइरहेका थिए । लाग्थ्यो सबै घरहरु पार्टी अफिस हुन् ।
निर्वाचनको मिति नजिकिदैं थियो । पर्चा पम्पलेट र पोस्टरले सिंगारिएको थियो कोहलपुर । एउटै खम्बामा दर्जन पार्टीका पोस्टर भेटिन्थे कतै–कतै । कति सस्ता भएका झण्डा पनि ।
पिपल चौतारामा यात्रुहरु ओर्ले । नामको मात्र पिपल चौतारो । केही वर्ष पहिला गर्मी याममा धेरै पटक सुस्ताएको थियो पिपल चौतारामा ऊ । गर्मी छेक्न जिउले जस्ता दर्जनौं जिउलेहरुलाई आराम दिने पिपल चौतारो आधुनिक कोहलपुर सँगसँगै बिलिन भएको थियो । न त्यहाँ पिपल थियो न त चौतारो नै ।
गर्मी पनि कति साह्रो बढेको । केही दिनदेखि पानीको छिटोसम्म परेको थिएन । प्रायः जेठको अन्तिम साता कोहलपुरमा गर्मी सही नसक्नु हुन्छ । चुनावी गर्मी र मौसमी गर्मीले धेरैको रगत तताएको थियो । हावा पटक्कै चलेको थिएन । हावा पनि गर्मी छल्न छायाँमा गए जस्तै ।
चिया पिउन होटलमा छिर्यो । गर्मी होस् वा जाडो अल्छी लाग्दा चिया पिउने बानी पुरानै हो जिउलेको । तर चिया छोडेर एक ट्वाक लगाउन मन लाग्यो उसलाई । घाम ओरालो लागेका थिएनन् । कति पटक दिउसै झ्याम नपारेको त कहाँ हो र ? मन थाम्यो यस पटक बडो मुस्किलले ।
रिक्सावालाको हातमा तीन–तीन हजारका दरले पैसा थमाइदिदै भने ‘भोट चाहीं हामीलाई नै दिनुपर्छ नी । प्रचार पनि गर्दै रहनु’ ।
होटलमा थुप्रै मानिस थिए । बहस चलिरहेको थियो । मेयर पदको चर्चा गर्दै थिए । टिकट नपाएकोमा गुनासो गर्नेहरु पनि थुपै्र देखिए । पार्टीले योगदान नहेरेकोमा दुखेसो गर्नेहरु पनि भेटिए । यस्तो लाग्थ्यो पार्टी भित्रैका फरक गुटका मान्छेहरुको भेला थियो त्यो । पैसाको चलखेल भएको कुरा पनि सुन्यो । तर पटक्कै बुझेन जिउलेले । आपूmले पाएको भए सजिलै जित्थें भन्नेहरुले अरुलाई कमजोर सावित गर्न खोजिरहेका थिए । देशप्रेमी, राष्ट्रवादी र जनप्रिय नेता आफू हुँ भनेको सुन्दा हाँसो उठ्यो जिउलेलाई ।
आरोप र प्रत्यारोप चलिरहेको थियो । बागी उठ्ने कुरा पनि गर्दै थिए कसैले । बहस गर्नेहरु कोहलपुरका बासिन्दा थिए । बजार ओहोर दोहोर गर्दा देखेका अनुहार । कतिलाई त आफ्नै अटोमा बोकेको पनि थियो जिउलेले । चिया पियो बाहिर बेन्चमै बसेर । होटलका तीन कुनामा तीन थरीका झण्डा टाँगिएका थिए । यस्तो लागिरहेको थियो सबै पार्टीको एउटै अफिस हो यो होटल ।
‘साहुनी तिनै वटा पार्टीका झण्डा किन राखेको’ ? नसोधी बस्नै सकेन जिउलेले ।
‘साहु, साहुनी र छोराको फरक पार्टी परेर होला’नी’ हाँस्यो हर्के । उसैको छेउमा बसेर चिया पिइरहेको थियो हर्के ।
साहुनी फिस्स हाँसिन् ‘आएर राखिदिन्छन् । फालिदियो भने रिसाउलान् भन्ने डर । सबै आफ्ना ग्राहक हुन् । यिनीहरु नआए चल्दैन । कसको राख्ने कसको फाल्ने ?’
‘किन तपाइको आप्mनो पार्टी छैन ?’ हर्केले सोध्यो ।
हाँसिन् साहुनी ‘हामी साझा पार्टी हौं भाइ । त्यसैले सबैको चित्त बुझाउँछौं ।’
गोजीमा हात हाल्यो । सयको नोट मात्रै भेट्टायो । त्यो पनि भखैरै मात्र यात्रुले दिएको । एकछिन अलमलियो । बिहान मात्रै ‘चुनावसम्म हाम्रो प्रचार गर्नु र भोट हाल्नु’ भनेर टिसर्ट, झण्डा र दुई हजार थमाएका थिए एक नेताले । त्यो पैसा गोजीमा थिएन । साहुनीलाई पैसा दियो र हतारिदै अटोमा पुग्यो । झोला खोलेर हेर्यो । सेतो टिसर्टमा गुटुमुटु पारेर राखेको दुईहजार भेटियो । अनुहारमा थाकेर खुम्चिएका घेराहरु तनक्क तन्किए ।
‘आज प्रचारमा जान्छौ त जिउले दाइ’ छिमेकी रामशरणले सोधे । अन्कनायो ऊ । दुई दिन पहिला दुई हजार, टिसर्ट र झण्डा लिएको सम्झ्यो । उनी फरक पार्टीका थिए । ऊ केही बोलेन । रामसरणले लोभ देखाए । तीन हजार, एउटा टिसर्ट र झण्डा पायो उस्ले ।
घर खर्च बढेको थियो । अटोको किस्ता तिर्न हम्मे हम्मे परेको थियो जिउलेलाई । पैसाका लागि झण्डा टाँग्ने भयो । टिसर्ट लगाउने भयो र प्रचारमा जाने भयो जिउले पटक पटक ।
ऊ कसैको प्रचारमा हिडेको थिएन यस अघि । कुन पार्टी राम्रो भनेर छान्ने फुर्सद पनि थिएन उसलाई । सबै उस्तै लाग्थ्यो । चुनावमा बाहेक अरु बेला जनताको घर दैलोमा नेताहरु आएको उसलाई हेक्का थिएन । आफूलाई कसैले सहयोग गर्लान् भन्ने विश्वास पनि थिएन उसलाई ।
चौराहामा ऊ जस्ता धेरै रिक्सावाल जम्मा थिए । सबै प्रफुल्लित देखिन्थे । रामशरणले ‘लौ तिम्रो भाग जिउले दाइ’ भन्दै हातमा सेतो रंगको टिसर्ट थमाइदियो ।
‘टिसर्टमा छापिएको चिन्हमा भोट हाल्नु नि’ स्वीकारात्मक टाउको हल्लाए सबैले । जिउलेले पनि त्यसै गरी हल्लायो । मुसक्क हाँस्दै टिसर्ट मुसा¥यो । नयाँ, सफा मुलायम टिसर्ट देखेर आत्मा रसायो जिउलेको । अरुबेला पाएका कपडा सधैं अधुरा हुन्थे । कुनै टाँक खसेका । कुनै सिलाइ फुस्किएका । कुनै रंग खुइलिएका । तर आज उसले नयाँ पाएको थियो । । सफा पाएको थियो र मुलायम पनि ।
अरु रिक्सावालाहरुले टिसर्ट लगाइसकेका थिए । उसले पनि लगायो । मदनचोकका जिम्दार प्रभुदेवको कपडा आज उसैको जस्तो थियो । साझा चोकका ठूला व्यापारी निराजनको टिसर्ट पनि उसैको जस्तो थियो । आफ्ना मालिकको कपडा पनि आफ्नै जस्तो थियो । चप्परगौडीका होटल व्यवसायी शोभाकर, दशविगाहका औषधि व्यवसायी नन्कुलाल सबैलाई बरावर हैसियतमा देखेर आज ऊ गद्गद् भएको थियो ।
अब झण्डा समात्ने पालो थियो । पहिले अटोवालाहरुलाई झण्डा समात्न लगाइयो । अरु रिक्सावालाले ठूला ठूला झण्डा समाते ।
‘अलि ठूलो झण्डा समात्’– भन्यो सामेले ।
‘किन ? सानो भए पो लगाउन सजिलो होला ?’
‘चुनावपछि केटाकेटीलाई कपडा सिलाउन मिल्छ क्या । ’ आँखा मार्यो सामेले । मुसुक्क हाँस्यो जिउले । सोच्यो म पनि कति बुद्धु । कुरै बुझ्दिन । सामेले कति छिटो बुझ्छ । सामेले भने जस्तै गर्यो उसले । ठूलो झण्डा समात्यो र अटोमा फर्फरायो ।
चारैतिर पोस्टर पनि टाँसियो । नारा जुलुस सहित प्रचारमा खटिए सबैजना । सयौं नेता र कार्यकर्ताको जुलुसले चौराहा परिक्रमा गर्यो । उम्मेदवारहरुलाई लिएर भीड क्रमशः अगाडि बढ्दै गयो । साझा चोकमा मोटरसाइकलको ठूलो लाईन उनीहरु सँगै मिसियो । मदन चोकतिरबाट आएका रे । जिउलेलाई लाग्यो कोहलपुरमा यो बाहेका अरु पाटीको बर्र्चस्व छैन । ठिकै गरिएछ यस पाटीमा हिडेर । चिनियो भने पनि राम्रै हुन्छ । जित्यो भने केही काम त गरिदेला नि हाम्रो । रातो लालपुर्जा हातमा समातेको सपना देख्यो उसले ।
भाषणको भन्दा रासनको आवश्यकता थियो जिउलेको बस्तीमा । यस पटक केही होला जस्तो लाग्यो उसलाई । जिन्दावादको नारा लगाउँदै हवल्दारपुरसम्म पुग्यो ऊ पनि । भीड कोणसभामा परिणत भयो । विपक्षीलाई पछाडि पार्नका लागि बनाइएका केही रणनीतिहरु सुनाए नेताहरुले ।
अटो रिक्सावालाहरुलाई एक ठाउँमा बोलाए । नास्ताका लागि भन्दै तिनकुने होटलमा पसाले । मासु चिउरा खाए सबैले । रक्सी खानेलाई रक्सी थियो भने नखानेलाई चिसोका व्यवस्था थियो । ‘पैसा तिर्नु पर्दैन खाएर जानु’ । सबै रिक्सावालाको हातमा तीन–तीन हजारका दरले पैसा थमाइदिदै भने ‘भोट चाहीं हामीलाई नै दिनुपर्छ नी । प्रचार पनि गर्दै रहनु’ । अनुहार प्रफुल्ल भयो सबैको । बाहिर निस्कदा एउटा मुन्द्रेले ठूलो झण्डा निकालेर सानो थमाइ दियो । जिउलेको मन निचोरियो ।
आज ऊ घरमै थियो । अघिल्लो दिनको ह्रयाङ्ग उत्रेको थिएन । अलि बढी नै पिएछ जिउलेले । टोलमा भोट माग्नेहरु घुमिरहेका थिए । खरको छानो हालेर बनाइएको घर थियो उसको सुकुम्बासी बस्तीमा । उसले पुराना दिन सम्झदै थियो । बाबु र घरलाई राप्तीको बाढीले बगाएपछि आमासङ्गै बिचल्ली बनेको ऊ गणतन्त्र आए सङ्गै कोहलपुरको सुकुम्बासी बस्तीमा आइपुगेको थियो । आमाले अर्काको काम गरेर गुजारा चलाएकी थिइन् । भान्सामा कच्याककुचुक परेका भाडावर्तन मात्र थिए । आमाले उसको टाउको मुसारेर धेरै पटक रोएकी थिइन् । स्कुल नगएपनि इमान्दारिताका कक्षा आमाले घरमै पढाइन् । सम्मान, धर्म, परम्परा र संस्कार सिक्यो उसले आमाबाटै ।
कोहलपुर बजारका हार्डवेयरका व्यापारी भद्रप्रसाद एक दिन घुम्दै उनीहरुको छाप्रोमा आइपुगे ।
‘कान्छी छोरो त ठूलो भएछ ।’
‘छोरो ठूलो भएछ’ भन्ने शव्द सुनेर खुशी भई ऊ । अक्षर चिनाउन नपाएकोमा दुखेसो गरी । महिनामा एक हजार दिने र अक्षर पनि चिनाइदिने सर्तमा जिउले भद्रप्रसाद कहाँ जाने भयो । ‘साँझमा सुत्न म सँगै पठाइदिनुस् है साहुजी’ यत्ति सर्त राखी कान्छीले । बार्गेनिङ गर्ने कुरै थिएन । जे होस उसले काम पाएको थियो । साहुको काम गर्दा गर्दै दुईचार अक्षर सिकेको थियो ।
कोहलपुर बजारमा अटो रिक्सा दौडिन थालेका थिए । पानस अटो मोर्टसले अटो रिक्सा भित्राएपछि कोहलपुरमा पुराना रिक्साले काम पाउन छाडेका थिए । जिउलेले खुब सोच्यो । जीवनभर दुःख गर्नुभन्दा केही समय दुःख गर्नुपर्यो भन्ने सोंचेर साहुुसँग हार गुहार ग¥यो ।
ऊ अर्धचेत थियो । डाक्टरहरु उपचारमा तल्लीन थिए । दुई दिनदेखि अस्पतालमा भर्ना थियो ऊ । ठाउँ ठाउँ चुनाव हुँदै थियो । जिउलेलाई चुनावको चेत पटक्कै थिएन ।
साहुले दुइवटा सर्त राखेर अटो निकाल्न राजी भए । ‘बचत समूहमा सामेल भएर ऋण निकाल्ने । अटोको किस्ता र बचत समूहको किस्ता दुवै हरेक महिनामा तिर्नु पर्ने ।’ अटो निकालेपछि भने ऊ ढुक्क भएको थियो । किस्ता तिर्न बढी मिहिनेत गर्नु परेको थियो तर ऊ आत्तिएको थिएन ।
चुनाव आउन दुई दिन मात्र बाँकी थियो । घरघरमा प्रचार गर्ने क्रम जारी थियो । सुकुम्वासी वस्ती अरु बेलाभन्दा चहलपहल थियो । आज उसको घरमा अर्का टोली आइपुगे । सन्चो बिसन्चो सोधे । आफ्नो पार्टीलाई सहयोग गर्न अनुरोध गरे । जिउलेको अटोमा झण्डा लागेकै थियो । जिउलेलाई फकाउन थाले । आफ्ना टोल छिमेकीलाई पनि भोट हाल्न सहयोग गर्नु भन्दै पाँच हजार थमाइदिए । अटोको झण्डा निकाल्न पठाए र अर्को लगाउन सहयोग गरे । टिसर्ट थमाउँदै भने ‘जिउले भाइ तिम्रा छिमेकीलाई पनि सम्झाउनु है ।’ जिउलेले टाउको हल्लायो जसरी अरु पार्टीका कार्यकर्ताले भन्दा पनि हल्लाउने गथ्र्यो ।
आज नसोचेको पाँचहजार आयो । घरै बसेर पनि कमाइ भयो । ऊ खुशी भयो । घर बाहिर जिउलेका छोराछोरी खेलिरहेका थिए । आजको उनीहरुको खेल चुनाव थियो । मुर्दावाद र जिन्दाबादको नारा लगाएका थिए । झण्डाहरु हात हातमा थिए । धेरै पार्टीका झण्डा एकै ठाउँमा नारा लगाइरहेका थिए । पालैपालो सबै पार्टीलाई जिन्दावाद भन्थे उनीहरु । सबै राजनैतिक दलको एकपटक जिन्दावाद भन्ने पालो आउँथ्यो भने अरु सबैको मुर्दावाद । नाम जानेसम्मका पार्टीहरुको नारा लगाए उनीहरुले । आफ्नो साथी समूहमा सबै भन्दा अग्लो केटालाई बिजय उम्मेदवार घोषणा गरे । अबिर भन्दै भुँइको माटो लगाइदिए । एक आपसमा पनि लगाएर खुशी मनाए । जिउलेले रमाइलो मानेर हेरिरह्यो ।
आज प्रचार गर्ने अन्तिम दिन । टोलका बलीरामले सङ्गै जान अनुरोध गरे । मर्दा पर्दा काम लाग्ने उनै थिए । जान्न भन्ने कुरै भएन । जानै पर्ने भयो । खड्कवार, निबुवा र चप्परगौडी आसपासका क्षेत्र प्रचार गर्ने दिन रहेछ । सयौको संख्यामा रहेका नेता तथा कार्यकर्ता देखेर ऊ अचम्मित भयो । सबैलाई टिसर्ट र टोपी बाँडियो । मुसक्क मुस्कुराउँदै टिसर्ट छिरायो र टोपी लगायो । अहिलेसम्म चार पाँच पाटीबाट पैसा लिएको थियो र वचन दिएको थियो उसले । कता कता अप्ठेरो पनि मान्दै थियो । यी सबै म जस्तै त होलान् ? आ जे पो होस् । मौकामा चौका त हान्नै पर्यो नि ।
साँझ परिसकेको थियो । नास्ता पानीसँगै तिनहजार हात लाग्यो । आज त पैसा पाइएला जस्तो पनि लागेको थिएन । तर पाइयो । आफ्नै छिमेकीसँग माग्न पनि त सुहाउँदैैनथ्यो । लर्खराउँदै घर पुग्यो । टोपी र टिसर्ट डोरीमा झुण्डायो । फरक फरक पार्टीका फरक फरक चिन्ह भएका टिसर्टहरु लामबद्ध थिए । यसपटकको वर्षा टिसर्टले सजिलै कटाउने भए ।
मौन समय चल्दैं थियो । विभिन्न पार्टीहरुको प्रचारमा हिडेकोले उसलाई टाउको गह्रौ हुन थालेको थियो । सुकुम्बासी बस्तीमा राजनैतिक दलका उम्मेदवारहरु आउने क्रम जारी थियो । नमस्कार गर्दै आउँथे र आर्शिवाद थाप्थे । लाज मानीमानी टाउकोमा हात राखी दिन्थ्यो जिउलेले । हामी सुकुम्वासीको आर्शिवाद चाहिने मान्छे पनि हुँदा रहेछन् । जिल्ल पर्यो ऊ । सबैले उनीहरुका पक्षमा काम गर्ने प्रतिवद्धता गरे । उनीहरुलाई लालपुर्जा दिलाउने आश्वासन पनि दिए । जिउले झनै दोधारमा थियो ।
आज उसलाई कतै जान मन थिएन । गर्मी र दारु सङ्गै उत्रिदै थियो सायद । टाउको दुख्ने र वाक्वाक् लाग्ने सङ्गै हुँदै थियो । पेट ढुस्स फुलेको थियो । केही बेरमा नै बान्ता भयो । पेट गड्गडाउन थाल्यो । पखाला पनि सुरु भयो ।
ज्वरो हनहनी आइरहेको थियो । पानी पट्टी गर्दै थिइन् जिउलेकी श्रीमती । झाडा वान्ताले लखतरान् जिउलेको आवाज हराउँदै जान थाल्यो । अस्पताल लाने तरखर गर्दै थिइन् कान्छी । घरमा अटो थियो तर चलाउने कोही थिएन । कान्छीले अटो खोजेर ल्याइन् । मुस्किलले नेपालगंज मेडिकल कलेज कोहलपुर पु¥याए जिउलेलाई ।
जिउले अचेत थियो । डाक्टरहरु उपचारमा तल्लीन थिए । दुई दिनदेखि अस्पतालमा भर्ना थियो ऊ । चुनावको अन्तिम दिन थियो । सुरक्षा ब्यवस्था कडा पारिएको थियो । बीसौं वर्षपछि हुन लागेको स्थानीय चुनाव उत्सव जस्तै बनेको थियो । पार्टीका नेताहरु आ–आफ्ना कार्यकर्ता ओसार्न तछाड मछाड गर्दै थिए । जिउलेको खोजी भयो । घरसम्म पुगेका नेता कार्यकर्ताहरु अस्तालसम्म पुगे पालैपालो । सबैले आफ्नै सम्झेका थिए जिउलेलाई । हुन पनि जिउले सबैको थियो । सबै पार्टीका नेताहरुबाट रकम लिएको थियो । सबैका झण्डा टाँगेको थियो । सबैलाई आश्वासन दिएको थियो उसले ।
जिउले डाक्टरहरुको निगरानीमा थियो । कसैलाई पनि भेट्न दिएका थिएनन् डाक्टरहरुले । एक छेउमा टाउको झोक्राएर बसेकी थिइन् कान्छी । कान्छीको गाह्रो साह्रो कसैले सोधेनन् । जिउले भन्दा मतको चिन्ता थियो नेता कार्यकर्तालाई ।
फेरि एकपटक जिउले सबैको भयो । उसलाई खोज्दै सबै आए । जिउले कसैको भएन । किनकी उसले कसैलाई भोट दिन पाएन ।