कैलाली, कन्चनपुर र डडेल्धुरामा मतगणना सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कैलाली, कन्चनपुर र डडेल्धुरामा मतगणना सुरु


१५ असार २०७४, बिहिबार


धनगढी । कैलाली जिल्लाका दुई स्थानीय तहबाहेक सबै स्थानीय तहको निर्वाचनको मतगणना सुरु गरिएको छ ।

जिल्लाको पहाडी क्षेत्रको चुरे गाउँपालिका र मोहन्याल गाउँपालिका बाहेक छ तहमा गए रातिदेखि र पाँच तहमा आज बिहानदेखि मतगणना सुरु भएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले बताए ।

भौगोलिक विकटताका कारण मतपेटिका मतगणनास्थलसम्म पुर्याउन समय लाग्ने भएकोले चुरे गापा र मोहन्याल गापाको मतगणना आज रातिदेखि मात्रै सुरु हुनसक्ने अर्यालले बताए ।

जिल्लामा १३ स्थानीय तह रहेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार टीकापुर नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरम का लौटन चौधरीले १८०, नेकाका जङ्गबहादुर साउदले १०८ र नेकपा ९एमाले०का तपेन्द्र रावलले १०१, नेकपा माओवादी केन्द्रका ललित थापाले ६६ मत पाउनुभएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले बताए ।

यसैगरी, उपप्रमुखमा लोकतान्त्रिक फोरमकी सुदेश्नी चौधरी १७४, नेकाका केशरी रावलले १०६, एमालेकी कमला केसी ८९ र माओवादी केन्द्रकी आशा चौधरीले ७१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रेग्मीले जानकारी गराउनुभयो । वडा नं. ३, ५ र ६ को मतगणना भइरहेकोमा अहिलेसम्म ५०० मत गणना भएको छ ।

टीकापुरमा कुल ३९ हजार १९२ मतदातामा २७ हजार २३८ मत खसेको निर्वाचन अधिकृत रेग्मीले जानकारी गराए ।

यस्तै, भजनी नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका केवल चौधरीले २३९, नेकपा माओवादी केन्द्रका शेरबहादुर चौधरीले १६१, नेकाका वीरबहादुर हमालले ६६ मत पाएका छन् । निकै चासोका रुपमा हेरिएको धनगढी उपमहानगरको मतगणना पनि सुरु भएको छ ।

भीमदत्तनगरः कञ्चनपुरका तीनवटा तहमा मतगणना सुरु भएको छ । बुधबार भएको स्थानीय तहको निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने भनिएपनि आज बिहानदेखि मतगणना थालिएको छ । नौवटा तहमध्ये यहाँको महाकाली नगरपालिका, वेदकोट नगरपालिका र पुनर्वास नगरपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एकाबिहानै मतगणना थालिएको महाकाली नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । महाकालीमा २५० मतगणना हुँदा नेकाले १०८, नेकपा एमालेले ५९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २४ मत प्राप्त गरेको छ ।

त्यसैगरी, पुनर्वास नगरपालिकामा केही मतले नेकपा एमालेले अग्रता लिएको छ । ३०० मतगणना हुँदा एमालेले ८७, नेकाले ८० र माओवादी केन्द्रले ६३ मत प्राप्त गरेको छ ।

त्यसैगरी, यहाँको वेदकोट नगरपालिकामा पनि केही बेरअघिदेखि मतगणना सुरु भएको छ भने भीमदत्तनगरपालिकासहित अन्य सबै तहको मतणगना केहीबेरमै सुरु हुने निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

डडेल्धुराः यहाँको अजयमेरु गाउँपालिकामा ६०० मत गणना भएको छ । मतगणनाको परिणामअनुसार नेकपा माओवादी केन्द्रका उमेश भट्ट विकासले १८८ मत ल्याएर अग्रता लिएका छन् भने एमालेका धनबहादुर साउद १३८ र स्वतन्त्रबाट उमेदवारी दिएका लोकराज भट्टको १०९ मत रहेको छ भने नेकाले ९३ मत ल्याएको जनाएका छन् ।

अजयमेरु गाउँपालिका–६ को वडाध्यक्षमा माओवादी केन्द्रकै अग्रता रहेको जनाइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस