बराहबासी कोसी समस्याप्रति चिन्तित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बराहबासी कोसी समस्याप्रति चिन्तित


९ असार २०७४, शुक्रबार


इटहरी । भर्खरै नगरपालिका घोषित सुनसरीको बराह नगरपालिकाका बासिन्दाले ५२ वर्षदेखि उठाउँदै आएको कोसी बाढीपीडित समस्यालाई अब निर्वाचित हुने स्थानीय तहका पदाधिकारीले उचित समाधान दिनुपर्नेमा जोड दिएका छन् ।

नगरपालिकामा विभिन्न राजनीतिक दलबाट प्रमुख तथा उपप्रमुख र स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारसँगको सार्वजनिक सुनवाइका क्रममा बराहक्षेत्रवासीका हातमा जग्गाधनीपुर्जा भए पनि जग्गामाथि सप्तकोसी नदी बगिरहेकाले तत्काल स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवारले त्यस समस्याको चित्तबुझ्दो समाधान दिने वचनबद्धता गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाली काँग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार बमबहादुर विष्ट र उपप्रमुख उम्मेदवार पूजा धामी, नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेदवार कमलबहादुर कटवाललगायतले कोसी समस्या सबैको साझा समस्या भएकाले मिलेर समाधान गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरे ।

वि.सं. २०२२ देखि सप्तकोसीले तत्कालीन बराहक्षेत्र, महेन्द्रनगर, भरौल, प्रकाशपुर र मधुवन गाउँ तथा हालको बराह नगरपालिकाका आठ हजार छ सय बिघा जमिन नदीको कटान र डुबानमा पर्दा तिनमा बसोबास गर्ने तीन हजार परिवार घरबारविहीन छन् ।

बराह नगरपालिकामा बसोबास गर्दै आउनुभएका ८८ वर्षीय ईश्वरीप्रसाद काफ्लेले भने, “ मेरो जीवन बित्न लाग्यो, एमालेका नेता मनमोहन अधिकारी, नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेर समस्या समाधान गर्ने आश्वासन दिए पनि अहिलेसम्म कसैले समस्या समाधान नगरेकामा म ज्यादै दुःखित छु, अब त समस्याले निकास पाउला नि ।”

त्यस्तै ६६ वर्षीया नरमाया निरौला र शान्ति थापा मगरले लालपुर्जा भएर पनि कोसीको डिलमा घामपानी, झरी र हुरीबताससँग जुध्दै जीवन मरणको लडाइँ लड्नु ज्यादै कठिन भइरहेको दुःखेसो पोख्दै अब समाधान हुने आशा पलाएर आएकाले नेताहरुलाई मतदान गर्ने तयारी गरेको बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस