घरेलु श्रमिकको सेवा र सुविधा सुनिश्चित हुनुपर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घरेलु श्रमिकको सेवा र सुविधा सुनिश्चित हुनुपर्ने


२ असार २०७४, शुक्रबार


काठमाडौँ । घरेलु काममा लगाइएका श्रमिकलाई रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने र उनीहरुको पारिश्रमिक सुनिश्चित हुनुपर्नेमा शुक्रबार आयोजित एक कार्यक्रममा सहभागी वक्ताले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवसका अवसरमा घरेलु श्रमिक मञ्च र स्वतन्त्रता अभियान नामक संस्थाले संयुक्तरुपमा आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले सो कुरामा जोड दिएका हुन् ।

घरेलु श्रमिकको न्यूनतम तलब नौ हजार ७०० हुनुपर्ने तथा आठ घन्टाभन्दा बढी काममा लगाउन नहुने नियम सबै ठाउँमा अनिवार्य रुपले पालना गराउन र तीनको जीविकोपार्जन हुनेगरी सेवा तथा सुविधा रोजगारदाताले उपलब्ध गराउन पहल हुनुपर्ने सहभागी वक्ताले जोड दिए ।

विश्वमा हाल पाँच करोड २६ लाख घरेलु श्रमिक छन्, जस्मा चार करोड ३६ लाख महिला र ९० लाख पुरुष घरेलु श्रमिकको रुपमा कार्यरत छन् । एसियाली मुलुकमा ४१ प्रतिशत र नेपालमा दुई लाखभन्दा बढी घरेलु श्रमिक कार्यरत छन् । रोजगारको अभावका कारण बर्सेनि पाँच लाख २० हजार भन्दा बढी नेपाली घरेलु कामदारका रुपमा विश्व श्रमबजारमा कार्यरत हुँदै आएका छन् ।

नेपाल टे«ड युनियन काँग्रेसकी नेत्री रमा पौड्यालले सरकारले नेपालमा रोजगारीको सिर्जनामा वृद्धि गर्नुपर्नेमा जोड दिँदै रोजगारको अभावका कारण कतिपय मानिस भोको पेट रहन बाध्य भएको र सुत्केरी महिला खाद्यान्नको अभावमा गुज्रिरहेका छन् भने ।

कतिपय राम्रा रोजगारदाता रहे पनि कतिपयले श्रमिकलाई उब्रेको भात खुवाउने र समयमै पारिश्रमिक नदिने गरिएको गुनासो बढेको उनले बताए ।

एक्टिभ डोमेस्टिक वकर्सका अध्यक्ष प्रशान्त डङ्गोलले धनाढ्य, मध्यम र सामान्यवर्ग गरी नेपालमा तीन तहका रोजगारदाता रहेको बताउँदै कसैले पर्याप्त तलब दिन सक्ने भएपनि नदिएको उल्लेख गरे ।

घरेलु श्रमिक रोमा भण्डारीले घरेलु श्रमिक भई गर्वका साथ जीविकोपार्जन गरिरहेका कामदारलाई रोजगारदाता र समाजले गिल्लाको दृष्टिकोणले हेर्न नहुने सुझाव दिए ।

कार्यक्रममा घरेलु श्रमिक मञ्चका अध्यक्ष गोमा भण्डारीले प्रस्तुत गरेको घरेलु श्रमिकसम्बन्धी एक प्रतिवेदनमा काठमाडौँ, ललितपुर, भक्तपुर तथा बूढानीलकण्ठका २०० घरेलु रोजगारदाताको जनमत सङ्कलन गरी उनीहरुबाट प्राप्त धारणा प्रस्तुत गरिन् । प्रतिवेदनमा घरेलु रोजगारदाताका रुपमा ४२दशमलव पाँच प्रतिशत पुरुष र ५७ दशमलव पाँच प्रतिशत महिला रोजगारदाता सामेल गरिएको थियो ।

रोजगारदातामध्ये ६३ प्रतिशतसँग घरेलु श्रमिक रहेको, २७ प्रतिशतले घरेलु श्रमिक राख्ने चाहना राखेको जानकारी दिएका थिए । ८५ दशमलव पाँच ५ प्रतिशत रोजगारदाताले १८देखि ४० बर्षका घरेलु श्रमिक राख्न चाहेको, २८ प्रतिशत रोजगारदाताले ब्राह्मण घरेलु श्रमिक राख्ने इच्छा गरेको सात प्रतिशतले मात्र दलित श्रमिक राख्न चाहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै ३६ प्रतिशत रोजगारदाताले मासिक तलब ५००० र १६ प्रतिशतले १० हजार वा सो भन्दा बढी तलब दिन सकने बताएका कुरा पनि सो प्रतिवेदनमा समेटिएको छ । रासस

प्रतिक्रिया दिनुहोस