विद्यालय पुनःनिर्माण अपेक्षित गतिमा हुन सकेनः उपप्रधानमन्त्री श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्यालय पुनःनिर्माण अपेक्षित गतिमा हुन सकेनः उपप्रधानमन्त्री श्रेष्ठ


१ असार २०७४, बिहिबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले विद्यालय पुनःनिर्माणको काम अपेक्षित गतिमा हुन नसकेको स्वीकार गरेका छन् ।

विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दैआएको घाँसी आदर्श नेपाल संस्थाले बुधबार आयोजना गरेको ‘पुनःनिर्माण अभियानको अनुभव र स्मारिक विमोचन कार्यक्रम’मा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई वर्ष अगाडि गएको भूकम्पले नौ हजार विद्यालय भत्के पनि विद्यालय पुनःनिर्माण भने सुस्त गतिमा भएको बताए ।

उनले भने, “नौ हजार विद्यालय भत्के पनि बल्ल एक हजार विद्यालय निर्माण भएको छ । यो साह्रै सुस्त गतिमा भयो ।”

पूर्व शिक्षामन्त्री चित्रलेखा यादवले शिक्षा क्षेत्रको विकासका लागि घाँसी नेपालले गरेको सहयोग प्रसंशनीय रहेको बताए । उनले भने, “गैरसरकारी संस्थाले शिक्षालाई रोजेर काम गरेको छ यसलाई म सम्मान गर्दछु ।”

सांसद रामचन्द्र पोखरेलले बर्सेनि विदेसिने युवालाई स्वदेशमा रोजगार प्रदान गर्न रोजगारमूलक शिक्षा आवश्यक रहेको बताए ।

सांसद उमेश श्रेष्ठले देशको कुल बजेटको २० देखि २४ प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा लगाइए पनि सोचेजस्तो प्रतिफल प्राप्त नभएको बताए ।

राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले भानुभक्तले उल्लेख गरेको घाँसीको योगदानलाई सम्झेर घाँसी नेपालले विद्यालय पुनःनिर्माणमा पुर्याउँदैआएको योगदान उल्लेखनीय रहेको बताए ।

अभिनेता राजेश हमालले शिक्षा क्षेत्रलाई अगाडि बढाउने हो भने घाँसी नेपाल जस्ता संस्थालाई अगाडि बढाउनुपर्छ भने ।

एक दशकदेखि नेपालको सामाजिक क्षेत्रमा काम गर्दै आएको घाँसी नेपालले भूकम्पपछि गोरखा, सिन्धुली, काठमाडौँ, दोलखा, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा विद्यालय निर्माण गर्दै आइरहेको संस्थाका अध्यक्ष माधवप्रसाद घिमिरे बताउछन् । तीनसय विद्यालयका कक्षाकोठा पुनःनिर्माण गर्ने उद्देश्यसहित काम गरिरहेको घाँसी नेपालले अहिले एक दर्जनभन्दा बढी विद्यालयको पुनःनिर्माण सम्पन्न गरिसकेको छ ।

सो कार्यक्रममा सांसद श्रेष्ठले विद्यालय पुनःनिर्माणका लागि आफ्नो तर्फबाट पाँच लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस