राजपा र सत्तारुढ दलबीचको छलफल निष्कर्षविहीन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राजपा र सत्तारुढ दलबीचको छलफल निष्कर्षविहीन


२७ जेष्ठ २०७४, शनिबार


काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) लाई दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनमा सहभागी गराउनेबारे सत्तारुढ प्रमुख दलले अन्तिम कसरत गरिरहेका छन् ।

सत्ता नेतृत्वकर्ता दल नेपाली काँग्रेस तथा प्रमुख साझेदार नेकपा (माओवादी केन्द्र) र नेपाल लोकतान्त्रिक फोरमका शीर्ष नेताले आज राजपाका नेताहरुसँग छलफल गरेपनि कुनै निष्कर्ष निस्कन सकेन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न भएको बैठकमा राजपाले निर्वाचनको मिति पुनः सार्नुपर्ने माग राखेपछि सहमतिले गति लिन नसकेको हो । सत्तपक्षका नेताले निर्वाचनका सन्दर्भमा केही प्राविधिक र व्यवहारिक कठिनाई भए त्यसलाई सम्बोधन गर्न सकिने तर (असार १४ को) घोषित निर्वाचनको मिति भने सार्न नसकिने जनाएपछि दुवै पक्षको अडानले सहमतिको सम्भावना क्षीण बन्दै गएको छ ।

तर पनि आइतबारसम्म चरणबद्ध छलफल गरेर राजपालाई सहमतिमा ल्याउने प्रयास जारी रहने नेताहरुले बताएका छन् । यता राजपाले सरकार गठनका बेला भएको तीन बुँदे सहमति अनुरुप निर्वाचनमा जाने वातावरण बनाउनुपर्नेमा जोड दिँदै आएको छ । आजको बैठकमा पनि पुरानै अडान दोहो¥याउँदै उसले आफ्ना राजनीतिक माग पूरा नभए निर्वाचनमा जान नसकिने बताएको थियो ।

बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजपालाई कसरी निर्वाचनमा सहभागीता गराउने भन्नेबारे बैठकमा छलफल भएपनि निर्णयमा पुग्न नसकेको र पुनः छलफल गरी सहमति खोज्ने बताए ।

“राजपाका दुई माग राजनीतिक र प्राविधिक छन् पहिलो कुरा उनीहरु निर्वाचनमा जाने हो भने प्राविधिक पक्षलाई मिलाएर जान सकिन्छ, त्यसैले राजनीतिक मागलाई सम्बोधन गर्न पुनः छलफल गरेर सहमति खोज्छौँँ”–उनले भने ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजपालाई निर्वाचनमा सहभागिता गराउनेबारे छलफल भएको तर उहाँहरु निर्वाचनमा आउने स्थिति नरहेकाले आइतबारसम्म वार्ता र छलफललाई जारी राख्ने निर्णय भएको बताए ।

उनले भने, “आजको बैठकमा राजपाका नेताको धारणाअनुसार निर्वाचनमा जाने स्थिति देखा परेन, हामीसँग समय पनि छैन, तैपनि आज बेलुका र भोलि बिहानसम्म अन्तिम कुराकानी गरौँ भनेका छौँ, तर उहाँहरुले फेरी निर्वाचनको मिति सारेर छलफल गरेमात्र निर्वाचनमा आउन सक्छौँ भनेकाले त्यो सम्भव छैन भन्ने विषय सरकार र अन्य दलको तर्फबाट राखियो, प्राविधिक कुराबाहेक अरु कुरा सम्भव छैन ।”

राजपाका अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले गठबन्धन सरकारको सुरुवातमै तीनबुँदे सम्झौता भएको र आजसम्म कुनै माग पूरा नभएकाले निर्वाचनमा जाने वातावरण नरहेको उल्लेख गरे ।

“सरकारसँग जे सम्झौता भएको थियो, त्यो लागू गर्नुपर्छ मात्र भनेका छौँ, यसमा दुईटा पक्ष संविधान संशोधन र सरकारले आफूले गर्नुपर्ने कार्यकारी अधिकार प्रयोग गर्ने तर दुर्भाग्य अहिले ११ महिना भयो सरकारको नेतृत्व पनि फेरिसकेको छ, माग सम्बोधन भएको छैन, त्यसैले हामीले उठाएको राजनीतिक विषय हो, यो नटुङ्गिएसम्म प्राविधिक विषयमा जान सक्दैनौ,”–उनले भने ।

बैठकमा सत्तारुढको तर्फबाट प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल, नेता विमलेन्द्र निधि तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता श्रेष्ठ र उपप्रधानमन्त्री एवम् लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सहभागी थिए भने राजपाबाट अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबाहेक पाँचै जना सहभागी थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस