बन्द आवरण « प्रशासन
Logo २२ मंसिर २०७८, बुधबार
   

बन्द आवरण


२७ जेष्ठ २०७४, शनिबार


‘तिमीहरुले डेकुरेसनमा ध्यान दिनु, अतिथिहरुको ख्याल गर्नु, तिमीहरुले खानाका परिकारमा ध्यान दिनु, फलफुल लगायत अन्य चिजमा ध्यान दिनु’ फरक फरक समूहलाई निर्देशन थियो । धेरै समूहको बिभाजन गरेर कामको बाँडफाँड गरेकां थिए मेनेजरले । कुनै पनि कुरामा कमी नहोस् भन्ने मेरो कडा निर्देशन थियो मेनेजरलाई । खुबै सक्रिय बनेका थिए । आ–आफ्नो जिम्मेवारी पुरा गरे नगरेको आफै पुगेर हेर्थे उनी । अफिसमा सबै व्यस्त थिए । काम पनि सोंचे जस्तै भएको थियो । अफिसको चहलपहल र रौनक देख्दा कुनै मन्त्री नै आउँदै छन् कि जस्तो लाग्थ्यो ।

बाह्रौ बार्षिक उत्सव थियो । अगाडिका बार्षिक उत्सबभन्दा हरेक कुरामा फरक थियो यसपटक । रङ्गीचङ्गी ध्वजा पताकाले रङ्गिएर नवदुलही जस्तै भएको थियो मेरो अफिस । मूलगेटमा दुई वटा ठूला ठूला तामाका उज्याला गाग्रीहरुमाथि हरिया पातहरुसंगै राता सुन्दर फूलहरु थिए । दियो, कलश, सुस्वागतम् टाँगिएका तुलहरु मुलगेटदेखि अफिससम्म र दाँया–बाँया सजाइएका विभिन्न प्रकारका सुन्दर फूलहरुले अफिस शोभायमान थियो । जमिनमा ओच्छ्याइएको सुन्दर मार्बल र भित्तामा झुण्डाइएका बिभिन्न जातका फरक–फरक पँछीहरुले अफिसलाई खुबै मनमोहक तुल्याएका थिए । सबै कर्मचारीहरुले पदीय दायित्व निर्वाह गरेको महसुस भएको थियो मलाई । हरेक पटक बाहिरबाट मिठाईहरु ल्याएर मनाइन्थ्यो बार्षिक उत्सव । यसपटक भव्य कार्यक्रम गर्ने इच्छा मलाई किन जाग्यो ? पहिला–पहिला जस्तै आफूसँग सम्बन्धित एक उद्योगपतिलाई बोलाएकी थिएँ, बिशेष अतिथिका रुपमा । उनी बिराटनगरकी थिइन् । उनलाई यत्तिका तडक भडक देखाउनुपर्दछ भन्ने पनि केही थिएन । म आफै अलमलमा थिएँ । कर्मचारीहरुले पनि अनौठो मानिरहेको महसुस गरिरहेकी थिएँ ।

‘म्याम, यति बिघ्न खर्च आवश्यक थिएन । यसले अफिसलाई घाटा लाग्छ ।’

‘घाटा र नाफाको कुरा छैन, अर्डर अनुसार गर्नुस् ।’ मेरो कठोर निर्देशन थियो मेनेजरलाई दश दिन अगाडि । चारैतिर निमन्त्रणा कार्ड पठाइएको थियो । मिस मोनिका यस पटकको प्रमुख अतिथि । पटक पटकको फोन सम्पर्क पछि उनी आउने पक्का भएको थियो । दिनको ठिक दुई बजेसम्म सबै कुरा ठिक पारिसक्ने निर्देशन पाएका थिए कालिगढ र अन्य कर्मचारीहरुले । मेनेजरबाट बिभिन्न कुराको टिपोट लिइरहेकी थिएँ म ।

अतिथिहरु आउनेक्रम जारी थियो । मेनेजरबाट सम्मानका साथ उनीहरुलाई अतिथि कक्षमा प्रबेश गराइँदै थियो । मोनिका एउटा सफल उद्योगपति थिइन् । उनीसँग मेरो उद्योगको सहकार्य पाँचौ बर्ष प्रबेश गरिसकेको थियो । फोन सम्पर्कबाट उनी र म एक अर्काका नजिकका मित्र भइसकेका थियौँ । मेरो धागोको उद्योग थियो उनको कपडाको । मेरो उद्योगबाट तयार भएको धागो सबै उनी एक्लैले खपत गर्थिन् । उनीबाट मैले धेरै सिक्नुपर्छ भन्ने लागेको थियो । सायद यस्तै लागेर नै हुनुपर्छ मैले उनको लागि विषेश कार्यक्रमको आयोजना गरेको ।

मोनिका खुबै प्यारो नाम लाग्दथ्यो मलाई । ‘हाय म्याम’ भन्ने उनको सम्बोधनले मेरो मुटुको ढुकढुकी बढाउँथ्यो । धेरै व्यापारी साथीहरु थिए । मोनिका एक अल्लारे केटीलाई मैले बढी महत्व दिइरहेकी थिएँ व्यापारमा । हाम्रो भेट भएको थिएन । फोन सम्पर्कमा नै सीमित थियौं यतिका बर्षसम्म । व्यापारिक लेनदेनमै सीमित भएकाले पारिवारिक रुपमा हामी पुरै अपरिचित थियौं । उनी बिराटनगरकी थिइन् । म कोहलपुरकी । आफ्नो परिचय बिजनेस्बाटै दिनुपर्छ भन्ने मेरो मान्यता थियो । ब्यापारमा हामी एक अर्कामा अति विश्वासिला पात्र बनेका थियौँ । उनी ब्यापार र लेनदेनको मामलामा निकै कडा थिइन् । भनेको समय र गरिएको हिसाबमा खुबै सचेत थिइन् । पचास पैसाको पनि हिसाब गर्ने उनको स्वभाव हेर्दा निकै कन्जुस छन् जस्तो लाग्थ्यो । अन्य कुरामा उनी अति दयालु र स्पष्ट जस्ती । सुरुका दिनमा मेरै उमेरकी सम्झेकी थिएँ उनलाई । भेट गर्नेहरुले उनको बारेमा बताउँदा म दङ्ग परेकी थिएँ । उनको उमेरमा मलाई आफ्नै जीवनप्रति विश्वास थिएन । व्यापारको सोंचाइ नै थिएन । म पैतालिसकी थिएँ भने उनी करिब पच्चिसकी । छोटो उमेरमा उनले गरेको प्रगति देख्दा मलाई अचम्म लाग्थ्यो । रिस, घमण्ड, आक्रोश, अस्पष्टता उनमा थिएनन् यही भन्थे भेट्नेहरुले । लगनशीलता र मेलमिलापका साथै आत्मविश्वास उनका चारित्रिक विशेषता थिए यही भन्थे देख्नेहरुले ।

मोनिका मेरो आजको कौतुहलता । पहिलोपटक भेट हुँदै थियो । उनको प्रतीक्षामा थिएँ । भित्तामा टाँगिएको घडीलाई पटक पटक हेर्दै । सुगन्धमय थियो वातावरण । अतिथिसभाको प्रवेशद्वारमा मेरो कोठा भएकोले आउने सबै अतिथिहरुसँग औपचारिकता निर्वाह गरिरहेकी थिएँ । हलभित्र पाहुनाहरुको खचाखच भइसकेको थियो । एकपछि अर्को गदै बिशिष्ट पाहुनाहरुसँग भेट गराइरहेका थिए मेनेजरले । मोनिकाले तोकेको समय जति–जति नजिकिंदै थियो, उति–उति मेरो छट्पटी बढिरहेको थियो । मेरो तडक भडक अलि बढी नै थियो । यो देखेर मोनिकाले फजुलखर्च सम्झन्छिन् कि भन्ने डर पनि थियो मलाई । आफ्नै खर्चमा पनि किन मलाई मोनिकाको डर लागिरहेको थियो, सोच्न सकेकी थिइन । तोकिएको समयभन्दा ठीक आधा घण्टापछि मात्र उनी आइपुगिन् । अग्ली, गोरी, ठूलाठूला आँखा हिस्सी परेको अनुहार, टाउकोमाथि सुनौलो फ्रेमको कालो चस्मा, लामोे कालो कपाल, सुडौल हातपाखुरा साच्चिकै कुनै परीभन्दा कम थिइनन् उनी । मलाई उनको व्यापार लाइन मात्र होइन शराीरिक आकर्षणसँग पनि लोभ लाग्यो ।

‘हाय म्याम’

‘हाय मोनिका’ मेनेजरले भेट गराएपछि हेलो हाय सुरु भयो ।

‘सरि ल, अलि ढिलो भयो ।’ मोतिजस्ता चम्किला र अनारका दानाजस्ता मिलेका दाँतहरु देखाउँदै हँसिलो अनुहारमा बोलिन् उनी ।

‘व्यापार लाइन नै यस्तो हो, अलि वेफुर्सदिलो त भइन्छ नै’ मेरो उत्तर थियो ।

‘मेम, यत्रो ठूलो पार्टी ?’

‘हो मोनिका, यो हाम्रो बाह्रौ बार्षिकोत्सव हो । हाम्रो यस कार्यक्रममा स्वागत छ ।’

‘धन्यवाद मेम ।’

सबैसँग परिचय गराएँ मैले मोनिकाको । उनको शारीरिक आर्कषण र व्यवहार देखेर सबै दङ्ग थिए । म जति प्रसन्न थिएँ उनको आगमनमा, त्यति नै प्रसन्नता चाहन्थें, उनीभित्र पनि । प्रमुख अतिथिको रुपमा मोनिका उपस्थित भएपछि हाम्रो कार्यक्रम औपचारिकतातिर लाग्यो । मेनेजरले हाम्रो अफिसको तर्फबाट अतिथिहरुलाई स्वागत गर्दै हाम्रो उद्योगको आगामी कार्यक्रममा सहयोग गर्न आग्रह गरे । प्रमुख अतिथिको मन्तव्य दिइन् मोनिकाले । अब हामी जलपानतिर सरिक भयौँ । अतिथिहरु आ–आफ्ना घरतर्फ लागे । मोनिकाले निकै कोशिस गर्दा पनि जान दिइनँ मैले । उनीसँग एकरात सँगै बस्न मन लाग्यो मलाई । आफ्नो केही जोड नचलेपछि मेरो कुरामा सहमत हुन बाध्य भइन् मोनिका । हामी दु्ईजना सँगै  बस्ने भयौँ ।

‘मेम, खै त हजुरका अन्य परिवार ?’ घरमा कोही नदेखेपछि सोधेकी थिइन् उनले । काम गर्ने चन्द्रा भान्सामा थिइन् । मेरो भन्ने कोही थिएन ।

‘को छ र मेरो ?’ सहज उत्तरमा असहज भएकी थिइन् मोनिका ।

‘हो मोनिका एक जना काम गर्ने बाहेक म एक्लै छु ।’ मोनिका मेरो अतीत कोट्याउन चाहन्थिन् । मोनिकाले मेरो बिगत नसोधुन् भन्ने चाहन्थें म ।

‘मैले विहे गरेकी छैन । मेरा बुबा, आमा अर्कै घरमा हुनुहुन्छ दाइ भाउजुसँग । यो घर मैले आफंै बनाएकी र एक्लै बसेकी ।’

झनै असहज हुदै थिइन् मोनिका । यो सबै भन्नुपर्दा मलाई पीडा भइरहेको थियो । छाती पोलेको थियो । मुटु चर्केको थियो । एक्लोपनको महसुस भएको थियो मलाई ।

‘मेम किन विहे नगर्नु भएको ?’

‘सोच्ने फुर्सद नै भएन ।’

‘व्यापारलाई नै सबै थोक सम्झनु ठिक हैन जस्तो लाग्छ मलाई त’ प्रतिक्रिया दिएकी थिइन् मोनिकाले । म अतीत कोट्याउन चाहन्नथें, उनी खोतल्न चाहन्थिन् । हामी दुबैका चाहना विपरीत देखिन थालेका थिए ।

‘व्यापारलाई निहुँ बनाउनु ठिक होइन मेम ।’ मेरो कमजोरी पत्ता लगाईसकेकी थिइन् उनले । बुढाबुढीले जस्तै सम्झाउँदै थिइन् । उमेरको आधारमा मैले सम्झाउनु पर्ने थियो उनलाई तर त्यसो भएन ।

‘आफ्नो जिन्दगीभन्दा नजिक व्यापार हुनै सक्दैन । भविष्यदेखि पन्छिएर सुख प्राप्त गर्न सकिदैंन । भोलि पछुतो हुन सक्छ । आखिर एक्लो र सन्यासी जीवन बाँच्नेलाई उद्योग धन्दाको के काम ?’ अलि कडा हुँदै थिइन् । म चुपचाप उनका कुराहरु सुनिरहेकी थिएँ । ‘आफ्नो कोही नभएपछि कसका लागि मिहिनेत र परिश्रम गर्ने ? किन अनावश्यक टेन्सन लिने ? एक्लो शरीरलाई त सानो तिनो नोकरी गरे पनि त भइहाल्छ नि ।’ भन्दै थिइन् मोनिका ।

‘आफू सुहाउँदो कोही भेट्नु भएन ?’ सायद म एक्लो बसेको मोनिकालाई पटक्कै मन परेको थिएन ।

‘त्यसो पनि हुन सक्छ र नहुन पनि । यसलाई नखोतल्नु भएकै राम्रो । म अतीतमा फर्कन चाहन्न । भविष्य मात्र मेरो लक्ष्य हो ।’ धेरै बोल्न चाहन्थें तर यति मात्र भनें मन दह्रो पारेर ।

‘मेम सरि ल मैले हजुरको चित्त दुखाएछु क्यारे ।’

‘हैन हैन, ठीकै छ । बरु आफ्नो बताउनुस न, दिनचर्या कसरी बितेका छन् ? विवाह गर्ने सोच कहिले, कसरी र कस्तो गर्नु भएको छ ?’ एकै पटक धेरै प्रश्न सोधें मैले ।

‘मेम, म परिवारको आर्दश छोरी बन्न चाहन्छु । हजुरबुबा र हजुरआमाको सफल नातिनी बनेर देखाउनु छ मलाई । मेरो नैतिकता र वीरतामाथि गर्व होस् । नातिनी हुर्काएर ठीकै गर्यौ भन्ने होस् उहाँहरुलाई ।’ भावुक बन्दै गैरहेकी थिइन् मोनिका । उनी हजुरबुबा र हजुरआमाबाट हुर्काइएकी केटी रहिछिन् भन्ने बुझ्न मलाई त्यत्ति कठिन भएन । ‘मेरो वास्तविकता बेग्लै खालको छ । म मेरा आफन्त र नजिककालाई इतिहास बताउन दकस मान्दिन । मेरो माया सानैमा लुटिएको थियो ।’ आफ्नो इतिहास कोट्याउँदै थिइन् मोनिका, एक पछि अर्को गर्दै । हाम्रो सम्बन्ध व्यापारिक थियो । पारिवारिक जानकारी लिनु र दिनु पर्ने जरुरी थिएन । तर हामी एकले अर्कोलाई खोतलिरहेका थियौं ।

‘आमाको माया सानैमा पाउन सकिन मैले । म दश बर्षको हुँदा बुवाले दोस्रो विहे गर्नुभयो । हजुरआमाको प्यारले हुर्किएकी मलाई सौतेनी आमाले पनि उत्तिकै माया दिइन् । हाम्रो घर खै कता गाउँमा थियो रे । बुबाले त्यो ठाउँको बारेमा कहिले नसोध्नु भनेपछि कसैं सँग सोधिन मैले । अहिले एउटा भाइ छ । ऊ मलाई असाध्यै माया गर्दछ । चारैतिरबाट माया पाएकी छु,, जन्म दिने आमाबाट बाहेक । सबैले मलाई केही बनेर देखाउनु पर्छ भन्छन् । सानो पसलबाट म उद्योगपति बनिसकेकी छु । मेरा सबै परिवार मबाट धेरै खुसी छन् । मलाई मिल्काइएकी भन्नेहरु मदेखि चकित छन् । मोनिकाले इतिहास बताउँदै थिइन् ।

कुराकानी जारी थियो । धेरै कुराहरु सुनें मोनिकाको । एकपछि अर्को गर्दै । उनका सबै कुराहरुले मलाई छोएका थिए ।

‘जन्मै नदिनु थियो । जन्म दिएपछि किन मिल्काइन् मेरी आमाले ? यही प्रश्न पटक–पटक आइरहन्छ मनमा ।’ यति बेला भने मोनिकाका आँखामा आँसु भरिएका थिए । आँसु पुछ्दै भन्दै थिइन् ‘उनले मलाई मिल्काएर खै के पाइन् ? म भन्न सक्दिन तर मेरो मनमा काँडो बिझाएर गइन् । सबैले माया गर्छन् मलाई । तर मेरो अन्तर्मनले आमाको माया खोजिरहन्छ । आमाले गरेको घात मेरो मुटुमा गडेको छ, जसले मलाई पीडा दिने गर्छ । कहिलेकाँही खुबै घृणा लाग्छ । मेरी आमा र मेरी आमाजस्ता पतीत अधर्मी आइमाईहरुप्रति । खुबै आक्रोसमा थिइन् उनी यतिबेला । उनकी आमाले ठूलै पाप गरेजस्तो लाग्यो मलाई । म केही बोलेकी थिइन । सुन्ने र आँसुमा आँसु खसालेर आफन्त बनिरहेकी थिएँ उनको ।

‘म आफ्नै खुटामा उभिएकी छु र पनि असन्तुष्ट छु । मलाई मिल्काएर हिड्ने मेरी आमा भनाउँदीलाई मेरो प्रगति देखाउन चाहन्छु । तर मेरी आमाको बारेमा कोही केही बताउँदैनन् । व्यापारमा तपाईँ र म उस्तै भए पनि उमेरले मेरी आमा झैं लाग्यो । आफन्त सम्झेर सुनाएँ कहानीहरु । यी सबै सुनाउनु ठीक थियो या थिएन ? जे होस् माइन्ड नर्गनु ल ।’ यति धेरै कुरा हुन्छन् भन्ने मैले सोचेकी पनि थिइनँ । खानपिनपछि पनि धेरै बेर गन्थन ग¥यौं हामीले । रसिला आँखा पुच्छ्दै व्याग खोलेर फोटा निकालिन् ।

‘यी मेम धेरै पुरानो मेरी आमा सहितको फोटो । जुन फोटो सधंै मसँग रहिरहन्छ ।’ फोटा मेरा हातमा थमाइन् उन्ले । फोटोमा नजर पर्नासाथ म भिरबाट खसेजस्तै भएँ । चिटचिट पसिना आउन थाले । म आत्तिएँ । छट्पटाएँ । भित्र–भित्रै पग्लेर आँखाको बाटो हुँदै बाहिर निस्कन थालें । धेरै बेर हेर्न सकिन मैले त्यो फोटोलाई । मुस्किलले समालिएँ । फोटो तुरुन्तै थमाइदिएँ उनैलाई । मोनिका अझै कुरा गर्न चाहन्थिन् । थकान बढी भएको बाहना बनाई सुत्ने तयारी गर्न थालें । अब मोनिकालाई सोध्नुपर्ने केही थिएन । नसोचेकै भएको थियो यो घटना । हामी दुबै फरक–फरक बेडमा सुत्यौँ । कोठामा मधुरो प्रकाश थियो । मोनिका निदाइसकेकी थिइन् । मेरो आँखामा निद्रा थिएन । मेरो अतीतले मलाई जिस्काइरहेको थियो । एकपछि अर्को गर्दै पुराना विम्वहरु आँखा वरिपरि नाँच्न थालेका थिए ।

म धनी परिवारकी थिएँ । शारीरिक चन्चलता आवश्यकता भन्दा बढी थियो । परिवारकी एक्ली छोरी भएकाले मलाई अपुग भन्ने केही थिएन । बुबा, आमा, दाइ र म मात्र थियौ परिवारमा । बुबा ,आमा दुबै कर्मचारी हुुनुहुन्थ्यो, फरक–फरक ठाउँमा । हामी दुबैलाई अभिभावकत्वको अभाव थियो । मेरो जिद्दी स्वभाबले दाइलाई अमुक बनाउँथ्यो । आफ्नो जिउडाल, केशराशी, मुखाकृति र धनसम्पतिमा मलाई निकै घमण्ड थियो । साथीहरुले ‘कति राम्री छ’ भनेपछि त मलाई त्यस दिनको खुराक नै पुगिहाल्थ्यो । अरुको सुन्दरतासँग आफ्नो सुन्दरता दाँज्न खुबै मन पर्दथ्यो । पढाइमा पनि म कमजोर थिइन । केटा साथी बनाउन रुचाउने मेरो स्वभाव थियो । आठ कक्षा पढ्दा पढ्दै ममा जवानी चढ्न थालिसकेको थियो । सायद त्यसैले मैले निमालसँग सुटुक्क मन मुटु साटी सकेकी थिएँ । अन्धो प्यार चढेको थियो मलाई । यसै भन्न मन लाग्छ अहिले ।

निमाल स्कुलले विद्यार्थी थिएनन् । उनको सानो पसल थियो । पसलमा आउने जाने क्रममा निमालकी आफ्नी बनिसकेकी थिएँ म । गुपचुप रुपको यौन संबन्धले खुबै लट्ठ्याएको थियो मलाई । कहिलेकांहि घरमा आउने बुबा आमालाई सजिलै छल्न सक्थें । मैले बुवा आमाको विश्वास अलि बढी नै जितेकी थिएँ दाइलेभन्दा । रङ्गीन संसारमा रमाँउदै टेस्ट परीक्षासम्म पुगें । टेस्ट पनि पास भएँ । मैले निमालको प्यार आफ्नो शरीरमा जतनसँँग राखिसकेकी थिएँ । एस.एल.सी पूर्व निमालसँग वैवाहिक जीवनमा बाँधिन पुगें ।

त्यस बेला निमाल नै सबै थोक थिए मेरा लागि । पढाइलाई महत्व दिइन मैले । परीक्षा दिन खुबै कर गर्दा पनि मानिन । मेरो यो चाला बुबा आमालाई पटकै मन परेको थिएन । कमजोर आर्थिक स्थिति भएको निमालसँग छोरीले सुख पाउन सक्दिन भनेर मलाई फर्काउने कोशिस गरे उनीहरुले । म निमालको नासो लिएर माइत बस्न सक्दैनथें र चाहान्नथेँ पनि । मलाई निमालको साथ नै प्यारो लागेको थियो बुबा आमाको भन्दा । निमाल मलाई असाध्यै माया गर्दथे । सुरुसुरुमा मेरा फर्माइसहरुमा आनाकानी थिएन । नानी छुटे पनि बानी छुट्दैन भनेझैं निमालसँग गएपछि मेरो खर्चालु स्वभावलाई नियन्त्रण गर्नु पर्दथ्यो तर त्यसो भएन । सीमित आम्दानीमा घर खर्च चलाउन निमाललाई असाध्यै कठिन भइरहेको थियो । दिन प्रतिदिन मेरा फर्माइसहरु पूरा हुन छोड्दै थिए । यसो गर्नु निमालको बाध्यता थियो । मलाई कुनै मतलब थिएन यतातिर ।

‘मोहिनी तिमी मेरो परिवारमा कसरी रमाउन सक्छ्यौ ? म तिमीलाई कसरी खुसी र सुखी राखूँ ? मेरो प्यारलाई नै तिमी ठूलो सम्पति ठान है ।’ खुबै लाचार भएर भन्थे निमाल कार्कीले । १० महिना पुग नपुगमा सुन्दर छोरीलाई जन्म दिएँ मैले । कलिलो उमेरमै आमा भएँ म । मोहिनी र निमाल कार्कीका अगाडिका अक्षर मिलाएर छोरीको नाम जुराएका थियाँै हामीले ‘मोनिका’ ।

मोनिका तिनै छोरी थिइन् जुन आज मेरो साथमा छिन् । म मेरो अतीतमा अल्झिरहेकी थिएँ । हाम्रो परिवार बढेको थियो । तर व्यापार घटेको थियो । खानेहरु सासु–ससुरा र हामी तीनजना थियौं । कमाउने निमाल एक्लै । जहाँ अभाव त्यहाँ कलह, भने झैँ अव हाम्रो परिवारमा कलहको बीजारोपण भइसकेको थियो । निमाल मलाई धेरै सम्झाउने कोशिस गर्दथे । म मेरो माइतीको ध्वाँस देखाएर सासु–ससुरा र निमाललाई दुःख दिने गर्दथें ।

निमालले रक्सीलाई साथी बनाउन थालेका थिए । वैवाहिक जीवनमा बाँधिएको दुृृई बर्ष पुग्दा नपुग्दै हामी टाढा भैसकेका थियौं । मैले निमाललाई घृणा गर्न थालिसकेकी थिएँ । निमालसँग बस्न नसक्ने निश्चित भएपछि छोरी बोकेर बुवा आमाको शरणमा पुगें । त्यति बेला म एक्ली थिइन । मेरो साथमा थिइन् सानी छोरी । बुबा आमा छोरी त्याग्न भन्नुहुन्थ्यो । कहिल्यै नफर्किने गरी आउन भन्नुहुन्थ्यो । मलाई छोरी त्याग्न सजिलो थिएन । बुवा आमाको कुराले दोधारमा परेकी थिएँ । घरपरिवारको कुनै माया थिएन । आमा हुनुको नाताले मोनिकाको मात्र माया लागेको थियो मलाई ।

‘यो सबै पापको उपज हो । छोरी तेरी मात्र होइन, त्यस जँड्याहकी पनि हो । छोरी लिएर बसिस् भने जीवनभर त्यही जँड्याहाको शरणमा पर्नुपर्छ । यदि यो पापको डल्लो त्यहि छोडिस् भने हामी तँलाई सकेजति गर्नेछांै ।’ के नै भनेनन् र मेरा बा आमाले । म अलमलमा परें । छोरी छोडौं या जीवनभर मरेको जिन्दगी बाचौँ ? निमालले मलाई सुख र खुसी दिन नसक्ने निश्चित भइसकेको थियो । मनभरि माया भएर पनि मोनिकालाई घरमा छोडेर पुन म माइत बस्न थालें । सुरुमा छोरीको मायाले सताउँथ्यो तर बुवा आमाको अगाडि व्यक्त गर्न सक्दिनथें । छोरीको मायालाई आत्मभरी साँचेर एस.एल.सी. दिई पास भएँ । आई.कम, वि.वि.एस. गर्दै स्नातकोत्तर पास गर्दै आज प्रतिष्ठित व्यापारी भएकी छु ।

यो मेरो बुवा आमाको लगानी हो । मेरो पसिना र मिहिनतको कमाइ पनि । त्यही छोरी जसलाई घरमा छोडेकी थिएँ एक कलङ्कित आमा बनेर । आज उनैले मलाई सफलताको पाठ पढाउन थालिरहेकेकी छिन् । उनीसँग प्रतिस्पर्धामा उत्रन मलाई निकै धौ– धौ परिरहेको छ । उनले मलाई चिनेकी छैनन् । म उनको नामबाट पहिले नै आकर्षित भएकी थिएँ । उनी मस्त निद्रामा थिइन् । मेरो आँखामा पटक्कै निद्रा थिएन । एकैछिनमा सयौं कुरा सम्झेकी थिँए मैले विगत, वर्तमान र भविष्यका ।

मैले घर नत्यागेको भए निमालले रक्सी त्याग्ने थिएनन् । उनको होस खुलेको हुनुपर्छ पछिमात्र । लगनशीलताको पाठ उनैले सिकाएको हुनुपर्छ मोनिकालाई । मैले स्नातकोत्तर गरेर ब्यापारको दुनियामा सफल हुँदै जानु र अर्कोतिर छोरी साहसी र लगनशील उद्योगपति हुनु दुबै मेरा लागि अति खुसीका कुरा थिए । मैले जन्माएकी छोरीको यति ठूलो प्रगति ! कल्पना समेत गरेकी थिइन । गर्व लागिरहेको थियो छोरीप्रति । आफूप्रति भने पूर्ण रुपले सन्तुष्ट बन्न सकिरहेकी थिइन । ग्लानी भइरहेको थियो । आफैले जन्माएकी छोरीलाई छोरी भन्न सकिरहेकी थिइन । ‘मेरी आमा भनाउँदी कलङ्कित आइमाईलाई घृणा गर्दछु । मलाई जन्मै दिनुहुदैनथ्यो । जन्म दिएपछि किन त्यागी होलिन् मेरी आमाले ….?’ आदि सम्झँदै थिएँ । उनको नजरमा घृणित आमा थिएँ म । मप्रति उनी सकारात्मक होलिन् भन्ने पटक्कै लागेन । म जवानी छँदाको फोटो र मोनिकाको हालको अनुहार मिल्दोजुल्दो थियो । सोह्र, सत्र बर्षको उमेरमा नै म आमा बनिसकेकी थिएँ । ‘मिल्दो वर नपाएर विहे गर्नुभएन ?’ भन्ने मोनिकाको प्रश्नमा सहमति जनाइसकेकी थिएँ । आफूलाई कन्या सावित गर्न खोजिरहेकी थिएँ छोरीकै अगाडि । मोनिकालाई के थाहा, आफैलाई त्यागेकी कलङ्कित आमा यहि हो भनेर ।

‘लेखेको पाइन्छ देखेको पाइन्न’ भन्छन् बुढापाकाहरु । हो जस्तो लाग्दैछ मलाई पनि । भविष्य बनाउन घर त्यागेकी थिएँ । दाइको विहेपछि सधैं सँगै बसिरहन मन लागेन । छोडिदिएँ माईतीघर । बस्नको लागि राम्रो घर बनाएकी थिएँ । एक्लो घरले चयन दिएको थिएन । आज भव्य पाटीको आयोजना गरी छोरीलाई भित्राएकी थिएँ अन्जानमा । यो सबै दैवको खेल हुनुपर्छ । नारी नभएको घरको जति महत्व हुँदैन त्यति पुरुष नभएको घरको पनि । मैलेँ बुझिसकेकी थिएँ । छोरीलाई अन्जानमै भए पनि भित्राएकी थिएँ । श्रीमान् भित्राउन पाउँछु जस्तो लागेको छैन । अर्को विहे गरेर घरजम गरेको कुरा मोनिकाको मुखबाट सुनिसकेकी थिएँ । निमालप्रति घृणा होइन माया पलाउन थालिसकेको थियो । निमाल मेरा पहिलो र अन्तिम पे्रमी थिए । उनलाई छोडेर अर्को विवाह गर्ने सोंचमा कहिल्यै गइन म । निमाललाई मैले मेरो सारा यौवन घोप्टाएकी थिँए । यो सबै बिर्सन चाहन्नथें म अर्को विहे गरेर । ‘अतीत सम्झेर झोक्राउनु हुँदैन भविष्य हेर्नुपर्छ’ भन्ने भनाइले मलाई यहाँसम्म ल्याएको थियो । त्यसैले ‘अतीत नकोट्याऊ’ भनेकी थिएँ मोनिकालाई । तर मेरो अतीत झनै बल्झिन थालेको छ यतिबेला । चाहेर पनि बिर्सन सकिरहेकी छैन । मोनिकाले मलाई निकै सम्मान गर्थिन् । व्यापारको सिलसिलामा सल्लाह गर्थिन् । उनको नजरमा मेरो इज्जत सम्मानित थियो । मलाई निकै अप्ठ्यारो महसुस भइरहेको छ । आफ्नै रगतलाई मैले आफ्नो भन्न सकिरहेकी छैन । छोरी भनेर सम्बोधन गर्ने आँट ममा छैन ।

उनी निदाइरहेकी छन् । म छट्पटाइरहेकी छु । बाहिर चराचुरुङ्गीहरुले उज्यालो हुन लागेको सङ्केत गर्दै थिए । कुखुराहरु बासेको आवाज कानमा परिरहेको थियो । सूर्यको प्रभातकालीन किरणसँगै उनी उठ्ने छिन् । घर जाने तयारी गर्ने छिन्, यो निश्चित प्राय थियो । ‘यो पनि तिम्रै घर हो छोरी’ भन्ने म मा आँट थिएन । मलाई मेरो अन्तिम सहारा मोनिका नै हुन् भन्न मन लागेको छ । मोनिका यो स्वीकार्न तयार हुन्छिन् वा हँुदिनन्, असमन्जसमा छु । उनी निदाइरहेकी छिन, एकै तालमा एकै सुरमा । आँखा उनको अनुहारबाट टाढा जान मानेका छैनन् । हेरिरहेकी छु धित मर्ने गरी , अतीत र भविष्यको दोसाँधमा बसेर । निरन्तर निरन्तर……..।

Tags :
प्रतिक्रिया दिनुहोस