७३ वर्षिय पश्चिमेली लेखक, जो साइकिल चढेरै सबै श्रष्ठालाई ब्युझाइ रहेछन् « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

७३ वर्षिय पश्चिमेली लेखक, जो साइकिल चढेरै सबै श्रष्ठालाई ब्युझाइ रहेछन्


२७ जेष्ठ २०७४, शनिबार


नवस्रष्टा सर्जकहरुलाई साहित्यमा लाग्नको लागी धैर्य र लगनसिलताको खाँचो पर्छ भन्दै प्रेरित गर्नु उनको निस्वार्थ र निश्कलङ्क भावनाको एक ज्वलन्त परिचय हो ।

नेपाल विविधतामा एकता बोकेर आफ्नै सुसेधन्दामा निरन्तर प्रवाहित पृथ्वीको स्वर्ग हो । यसै धरातलमा विविध मन र हृदयका रंगिचंगी सृजनात्मक पुष्प कोपिला पनि बेला बेलामा पुस्वित हुँदै मुस्कुराउने गर्छन् र यस बनेली कलरवलाई मनमोहक पार्ने गर्छन् ।

सदियौं अघिको आदिदेखि आफ्नै सँस्कृतिको अपूर्व तर शोभनीय यस धरामा हू्ँदै आयो । नेपाली कला साहित्यको एक पवित्र र निश्चल सरोवरमा जस्ले जताबाट जसरी पनि पौडि खेल्न सक्छ । फरक यति हो कि उसले पौडि खेल्न कति जानेको छ । समयको आफ्नै काल खण्डमा यहाँ आफ्नै अस्तित्व र महत्व बोकेर बेला मौकामा स्रष्टा र सर्जक जन्मिए ।

इतिहासको पानामा कति लेखक लेखिए कति लेखिएनन् त्यो अध्ययनको विषय हो र छ पनि । प्रसंग नेपाली साहित्यको विकासमा र समाजको ढाँचालाई कसरी अनुशासित बनाउन सकिन्छ भन्ने कुरामा पचहत्तर वर्षे उमेरमा पनि साइकिल चढेर साहित्य र समाजका खाँतिर जीवन समर्पण गर्ने पश्चिम नेपालका एक अथक परिश्रमि स्रष्टा कृष्ण पनेरु बञ्चितको हो ।

कतिपयको नजरमा जीवन सुन्दर छ कतिपयको नजरमा कुरुप छ आँखिर सुन्दर कसरी किन कुरुप कसरी, किन भन्ने प्रश्नको गहिराईमा डुब्दै जाने हो भने यसले बहसको एउटा फरक बाटो लेला तर १९९८ मङ्सिर २० मा यस धर्तिमा पहिलो पाईला टेकेका बञ्चितको नजर भने यी दुबै पक्षको मध्यबिन्दुबाट दृष्टिगत गरेको पाईन्छ । सुदूरपश्चिमको मुटु अत्तरियामा स्थायी रुपमा बसोबास गर्दै आएका यी बृद्ध स्रष्टा बञ्चितले लामो समय अघिदेखि यस क्षेत्रको साहित्यलाई जीवित राख्दै फराकिलो तवरले अगाडि बढाउँदै लगेको कुरा पनि उनका प्रकाशित कृति बिसौनी रचना सङ्ग्रह र बल्झेर घाउ फेरि गजल सङ्ग्रहबाट प्रष्टिन्छ ।

प्रस्तुत रचनाभित्र मानवीय जीवनका विविध पक्षको गहन तवरले उठाउन अनि संयम ढङ्गबाट समापन गरेको देख्दा एकातिर बञ्चित एक संबेदनशील लेखक हुन् कि जस्तो पनि लाग्छ । यिनै रचनाभित्र कुनै कुनै ठाउँमा आगो ओकल्ने आक्रोस पोख्दा एक क्रान्तिकारी, समाजलाई बुझेको र समाजको बागडोर कुनै एउटा पक्षले, एउटा क्षत्रले लिनुभन्दा त्यो सम्पूर्ण मानब समुदायको साझा क्रिडास्थल हो भनेर भाव पोखेको पनि पाईन्छ ।

ब्राह्मण परिवारमा जन्मेर आज भन्दा ४६ वर्ष अगाडी अर्थात् २०२४ सालमा हलो जोत्न तम्सिएर समाजलाई सचेत बनाउन कोसिस गरेका बञ्चितले तमाम अप्रकाशित रचना गरेको पनि पाईन्छ । यी अप्रकाशित रचनामा पनि पुर्ण नेपाली समाजको वास्तविक चित्र आफ्ना शब्दका भावभित्र सजाएर राखिएका चेतनाका क्यानभासमा छर्लङ्ग देख्न पाईन्छ । दीप,स्पष्टीकरण, मलिन, समस्या, धौली नाट्यकृतिका अप्रकाशित पाण्डुलिपिलाई अत्तरियाको शान्त र एकान्त घरको दराजमा राखेका बञ्चितले प्रकाशनको सोच पनि बनाई रहेका कुरा उनको हाउभाउबाट प्रष्टिन्छ ।

नेपाली समाजलाई सचेत मार्गमा र स्पष्ट बाटोमा डो¥याउन निरन्तर नैतिक साधनाको जरुरत पर्छ भन्ने स्रष्टा बञ्चितले आफ्नो साहित्यिक यात्राको थालनी २०३४ सालमा मन कविताबाट गरेका छन् । समाजमा ब्याप्त चाप्लुसी प्रवृत्तिबाट टाढा बस्न रुचाउने र आडम्बरी स्वभावको कडा विरोध गर्ने भएकै कारण म बञ्चित हुँ भन्ने यी साधक ७३ वर्षमा अत्तरियाका हरेक क्षेत्रमा साईकिलमा बसेर नमस्कार थाप्दै केहि गर्ने जोस बोकेर यताउति दौडेका देखिनु र सबै नवस्रष्टा सर्जकहरुलाई साहित्यमा लाग्नको लागी धैर्य र लगनसिलताको खाँचो पर्छ भन्दै प्रेरित गर्नु उनको निस्वार्थ र निश्कलङ्क भावनाको एक ज्वलन्त परिचय हो ।

आफ्नो जीवनको पूर्वाद्र्धमा आफ्नै व्यक्तिगत जीवन निर्माणका खातिर कडा परिश्रम गरेका बञ्चित जीवनको उत्तराद्र्धमा समाजका खातिर केही गर्नुपर्छ भन्दै लागि परेका छन् । यसरी समाजको निर्माणमा आफ्नो बाँकी जीवन व्यतित गर्ने अझ यसो भनौँ समाज सेवामा आफुलाई होम्ने मनसायले परिश्रम गरीरहेका यी बयोबृद्ध स्रष्टाले मानवीय जीवनका विविध पक्षको कोमल र लपालु शब्दका थुङ्गाले उनेर वेदना जस्तो गहकिलो गीतको स्वरको रचना गरेर झङ्कार पनि स्रोतालाई दिइसकेका छन् । वेदनामा अति गहनताका कुरा प्रियताका कुरा समेटेर उनले हामीलाई बिर्सन नसकिने गुन लगाएका छन् ।

त्यसो त नेपाली माटोमा यस्तै यस्तै व्यक्तिको अभाव बेला मौकामा खट्किएको महसुस पनि नगरीएको हैन तर समयले नै यी र यस्तै व्यक्तिलाई परिस्थिति हेरेर जन्माईदिँदो रहेछ । यसरी साहित्यको क्षेत्रमा विशेष दखल राख्ने वञ्चित जीवनको उत्तराद्र्धमा जनताको निम्ति अति आवश्यक अझ यसो भनौं कुनै पनि समाजलाई सही मार्गमा नैतिक मुल्य र मान्यताको पाठ सिकाउन ज्ञानको स्रोत जुताउनमा उनी लामो समय निरन्तर खटिएर नै रहे । अत्तरयिा जसको पहाडबाट बसाइसराई गरी सामान्य जीवनयापन गरेका सर्बसाधारणलाई शिक्षाको उज्यालोमातिर बिस्तारै औँला समातेर डो¥याउनुमा बञ्चितको अहम् भुमिका छ । दुर्गालक्ष्मी उच्च मा.वि जस्तो अत्तरियाको विशिष्ट विद्मालयमा संस्थापक प्रधानाध्यापक भएर यस क्षेत्रका बालबालिकालाई ज्ञान छर्ने बञ्चितमा अघिदेखिनै सामाजीक जागरण पैदा भएको यो एक ज्वलन्त उदाहरण हो ।

सुदूरपश्चिमका विभिन्न साहित्यिक एवम् सामाजीक संस्थामा आफ्नो संलग्नतालाई निरन्तरता दिँदै नयाँ नयाँ विकासका संस्थाको स्थापनामा पनि बञ्चितको आफ्नो कालखण्डमा अग्रणी भुमकिा रहेको छ । यसरी समाजका विभिन्न पाटा र बाटाहरुमा आफ्नो उपस्थिति जनाउने क्रममा विभिन्न बाधा अड्चन पनि खेप्नुपर्छ त्यसमा पनि अत्यन्त खरो र हठी स्वभावका साथै अहम् स्वभावका यी बृद्ध स्रष्टा समाजसेविको आफ्नै जीवन जिउने शैली छ आफ्नै कला छ । साधारण जीवनशैलीमा भएर जीवन जिउनु र नभएर साधारण तवरले आफुलाई उभ्याउनु यी फरक अवस्थाका फरक विशेषता छन् । यस्तै विशेषतामा उनी पनि रुमाल्लिएका छन्

क्षेत्रीय स्तरबाट विभिन्न पुरुस्कार तथा सम्मान प्राप्त गरेका बञ्चितले भानुभक्तको दुईसय जन्म जयन्तीको अवसरमा राष्ट्रियस्तरबाट सम्मान ग्रहण गरेका छन् । सुदूरपश्चिमको माटो नै उनको कर्मथलो हो त्यसो त अनौपचारिक अभिव्यक्ति र केही रचनाको फेहरिस्तलाई बटुल्दा उनी सम्पुर्ण मानव जातिको निम्ति चिन्तन गर्ने एक मानवताबादी व्यक्तित्व हुन् । खुला मनले सुभारका हरेक विषयवस्तुमा बहस छलफल गर्न उनी अगाडी तम्सिन्छन् । अझै पनि युवा अवस्थाको जस्तै जोस र जाँगर बोकेर विभिन्न विषयवस्तु बोल्नु पर्ने समय अनुसारका छलफलमा आक्रमक देखिने बञ्चितले जीवनको उत्तराद्र्धमा यस क्षेत्रका सम्पुर्ण तह, तप्काका पेशा र व्यवसायका व्यक्तिहरुलाई बिर्सन नसकिने गुन लगाएका छन् ।

कति धेरै कुरा उनको जीवनका लेख्नै बाँकी छन् । समयको सान्दर्भिकतासंगै इतिहासलाई यी प्रखर व्यक्तिको आवश्यकता पर्दै जानेछ अनि यिनको खोजीको सीमाको दायरा पनि फराकिलो बन्दै जानेछ । जनस्तरबाट सम्पुर्ण रकम जुटाएर प्रतिभा पुस्तकालय जस्तो गरिमामय ज्ञानको भण्डारको स्थपना र त्यसको पुर्णतामा निरन्तर लागि परेर उनले फुलाई समाजसेवी र शिक्षासेवी दुबै व्यक्तित्वको रुपमा चिनाएका छन् त्यसो त मेहफिलमा उनको विषयमा विषद चर्चा परिचर्चा होला, यो चर्चाको हो । हाम्रो समाज यस्तै चर्चाहरुको पनि एक फरक चर्चा हो । अत्तरिया जस्तो मरुभुमिमा ज्ञानको अनि प्रज्वलित चेतनाको उषाको समुद्घाटन गरेर भावी पिँढीलाई अत्यन्त निस्वार्थ भावनाले केहि कुरा दिएका छन् यदि ग्रहण गर्न सक्यो भने ।

समाजले समयमै कहिँ कतै पनि कुनै पनि रुपमा यी ७३ वर्षे बृद्धमाथि पुर्वाग्रह नराखेर उनको कार्यको कदर गर्नमा कन्जुस्याइँ गर्नु हुदैन । प्रतिभा पुस्तकालयको स्थापना नै यो समाजमा सचेत वर्गको अनि बौद्धिक जमातको बिजारोपण हो भन्ने कुरा पनि निर्विवाद सत्य हो यही सत्यलाई समयमा नै अवलम्बन गरेर यो हामी सम्पुर्ण ज्ञानका भोकाहरुको भोक मेटाउने भोजन हो भन्ने भाव अन्तस्करणमा रोखर यसको भित्री कोठामा मनको कोठाको आवाज आदानप्रदान गरौँ । यो नै एक समाजसेवीप्रति शिक्षासेवीप्रति हामीले गरेको सच्चा न्याय हुनेछ । प्रतिभा पुस्तकालय कृष्ण पनेरु बञ्चित को मात्र पेवा हैन । यो हामी सबैको हो । त्यसैले यसको विकासमा हातेमालो गर्नैपर्छ समाजलाई सही मार्गमा डो¥याउन कसै न कसैको आवश्यकता पर्छ । यसको थालनी गरेर निस्वार्थ समाजसेवीको परिचय बञ्चितले दिएका छन् उनी एक सचेत र कर्मठ व्यक्तित्व हुन जो सदैब जीवित रहिरहने छन् कहिले पनि निभ्ने छैनन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस