भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपालीले ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपालीले ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने


२६ जेष्ठ २०७४, शुक्रबार


काठमाडौँ । भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशका अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने प्रावधानका लागि नेपालले पहल गर्ने भएको छ ।

पछिल्लो समय भारत र श्रीलंका हुँदै मानवतस्करले नेपालीलाई विभिन्न मुलुकमा लगि अलपत्र पार्ने तथा महिलालाई खाडीमा लगि बेचबिखन गर्ने क्रम बढेपछि त्यसलाई रोक्न यो प्रावधान लागू गर्न लागिएको हो ।

अध्यागमन विभागमा आज बसेको सरोकारवाला मन्त्रालयका प्रतिनिधिको बैठकले ती दुवै मुलुक हुदै वैदेशिक रोजगारी र पर्यटक प्रवेशाज्ञामा तेस्रो मुलुक जानेले ‘नो अब्जेक्सन लेटर’ देखाएमात्रै विदेश जान दिन भारत र श्रीलङ्कासँग कूटनीतिक पहल गर्न सरोकारवाला मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिए ।

सो प्रावधान अहिले पनि रहेकोमा त्यसको प्रभावकारी कार्यान्वयन नभएकाले कार्यान्वयनका लागि कूटनीतिक पहल अगाडि बढाउनुपर्ने निष्कर्ष बैठकले निकालेको हो । विभागमा बसेको बैठकमा परराष्ट्र, गृह, श्रम तथा रोजगार, महिला तथा समाज कल्याण मन्त्रालयका प्रतिनिधि र माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाको सहभागिता थियो ।

महानिर्देशक गेलालले मानव बेचबिखन र ओसारपसारका घटना बढेसँगै त्यसलाई रोक्ने उपायबारे आजको छलफल केन्द्रित रहेको जानकारी दिए । यसैगरी भारतमा अलपत्र नेपाली नागरिकको तत्काल उद्धारका लागि संयन्त्र निर्माण गर्न भारतसँग समझदारी गर्नुपर्ने निर्णयसमेत बैठकले गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस