ओली–काँग्रेस नेता भेटवार्ता सकारात्मक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओली–काँग्रेस नेता भेटवार्ता सकारात्मक


२२ जेष्ठ २०७४, सोमबार


भक्तपुर । नेपाली काँग्रेसका तीन नेता र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज ओली निवास बालकोटमा भएको भेटवार्ता सकारात्मक भएको छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् पुनः सञ्चालन गर्नका लागि छलफलका गर्न काँग्रेस नेता विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की र प्रदीप गिरी ओली निवास बालकोट पुगेका थिए ।

दुई घन्टाको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै काँंग्रेसका नेता निधिले अध्यक्ष ओलीसँग संसद्को अवरोध अन्त्य गर्ने बारेमा भएको छलफल सकारात्मक रहेको बताए । उपप्रधानमन्त्री निधिले भने, “संसद् अवरोधलाई हटाएर संसद सुचारु गर्ने सन्दर्भमा पार्टीको तर्फबाट हामीहरू एमाले अध्यक्ष ओलीसँग छलफल गर्न आएका हौंँ, उहाँसँगको छलफल सकारात्मक भएको छ ।” प्रधानमन्त्रीको निर्वाचनमा कांँग्रेसलाई सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरिएको नेता निधिले बताए ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संसद्मा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाउन पाए हुन्थ्यो भन्ने कांँग्रेस नेताहरूको धारणा रहेको बताए । उनले यसकै निम्ति छलफल गर्न काँग्रेसका नेताहरू आएका जानकारी दिँदै एमाले अध्यक्ष ओलीले भने, “एमाले सहमतिको बाधक नरहेको मैले बताएँ, सत्ता पक्षको दम्भ र अनुचित कार्यले समस्या देखिएको हो, समस्या समाधानका लागि एमाले सकारात्मक छ ।”

संसद्को प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री चयन प्रक्रियामै सहभागिता नजनाएपछि र संसद् पुनः सञ्चालन गर्न नदिइएपछि सहमतिको प्रयासस्वरुप सो भेटवार्ता भएको हो । प्रधानमन्त्रीका लागि संसद् सचिवालयमा काँंग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस