डडेल्धुरा काँग्रेसः उम्मेदवारको टुङ्गो लगाउन अन्योल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डडेल्धुरा काँग्रेसः उम्मेदवारको टुङ्गो लगाउन अन्योल


१६ जेष्ठ २०७४, मंगलबार


डडेल्धुरा । डडेल्धुरामा नेपाली काँग्रेसका उम्मेदवार को हो भन्ने कुराको टुङ्गो लगाउनमा अन्योल कायमै रहेको छ । लामो कसरतपश्चात् पनि आकांक्षी धेरै हुँदा काँग्रेसलाई उम्मेदवार छनोटमा समस्या देखिएको हो ।

काँग्रेसभित्र पञ्चायतकालदेखि गणतन्त्र, लोकतन्त्र स्थापनापछिका नेता कार्यकर्ता उम्मेदवारका रुपमा देखिएका छन् । छ दशक पुराना नेता र नयाँ पुस्ताका नेता कार्यकर्ताबीच उम्मेदवारीमा तालमेल मिल्न सकेको छैन । दुई नगरपालिका, पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको डडेल्धुरामा अहिलेसम्म कुनैपनि राजनीतिक दलले पूर्णतया उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।

निर्वाचनको मिति नजिकिँदै गएपनि उम्मेदवारको टुङ्गो भने पूर्णरुपमा कुनै पनि पार्टीले लगाउन नसकेको हो । कुल ५२ वडा रहेको डडेल्धुरामा प्रमुख/उपप्रमुख, गाउँपालिका प्रमुख÷उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी सबै स्थानमा उमेदवारी दिने राजनीतिकदलले दुईसय ७४ जना उम्मेदवार छान्नुपर्ने छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्रले दुईवटै नगरपालिका र पाँचवटा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारको छनोट गरेका भएपनि नेपाली काँग्रेसको भने अन्योल रहेको छ । सबैभन्दा ठूलो दल एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा काँग्रेसले पर्शुराम नगरपालिकामा प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको भएपनि अन्य स्थानीय प्रतिनिधिको टुङ्गो लगाउन भने सकेको छैन ।

बीस वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसभित्र धेरैजना उम्मेदवारका आकांक्षी भएका कारण उम्मेदवारी छनोटमा ढिलाइ भएको काँग्रेस नेताको भनाइ रहेको छ ।

एमाले र माओवादी केन्द्र डडेल्धुरामा पनि उम्मेदवारका आकांक्षीबीच विवाद रहेकाले सबै वडामा उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन ।

डडेल्धुरामा सबैभन्दा पहिले सबै वडा तथा गाउँपालिकामा नभए पनि सहमति जुटेका स्थानमा राष्ट्रिय जनमोर्चाले सञ्चारकर्मी समक्ष उम्मेदवारको नामावली र कार्यक्रम सार्वजनिक गरेको छ । अन्य कुनै पनि पार्टीले उम्मेदवारको नामावली सार्वजनिक गरेका छैनन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस