चाँगुनारायण नगरमा एमाले विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चाँगुनारायण नगरमा एमाले विजयी


१६ जेष्ठ २०७४, मंगलबार


भक्तपुर । चाँगुनारायण नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

यस नगरपालिकाको नगरप्रमुखमा एमालेका केन्द्रीय सदस्यसमेत रहेका सोम मिश्र आठ हजार ५१२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजाराम खड्काले छ हजार ८६९ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, उपप्रमुखमा एमालेकै विना बास्तोलाले आठ हजार ७८९ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी राधा (सरु) बानियाँले छ हजार ४७६ मत प्राप्त गरिन् ।

यस नगरपालिकामा राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहेका रवीन्द्रप्रताप शाहले पाँच हजार १९८ मत, उपप्रमुखकी उम्मेदवार यवती कार्कीले चार हजार ५४५ मत र नेमकिपाका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहेका न्हुछे फोजूले चार हजार ४४२ मत र उपप्रमुख रीता काफ्लेले चार हजार २२ मत मात्रै प्राप्त गरे ।

त्यसबाहेकका अन्य दलले एक हजार मत पनि नघाउन सकेनन् । कुल ३४ हजार ४४८ मतदाता रहेको यस नगरपालिकामा २८ हजार ९१ मत खसेको थियो ।

यस नगरपालिकामा नेपाली काँग्रेस पहिलो, नेमकिपा दोस्रो र एमाले वा राप्रपामध्ये एक दल तेस्रो हुन्छ भन्ने नेपाली काँग्रेस र नेमकिपाको दाबीलाई चिर्दै अन्ततः एमाले पहिलो दल बन्न सफल भएको छ ।

चाँगुनारायण नगरपालिकामा वडा नं. १, २, ५ र ७ मा नेपाली काँग्रेसको समूह विजयी भएपनि वडा नं. ३, ४, ६, र ८ मा एमालेको समूह नै विजयी भएको छ । वडा नं. ५ र ७ मा एक–एक सदस्यमा एमालेका उम्मेदवार नै विजयी भएका थिए ।

निर्वाचित भएलगत्तै प्रतिक्रिया दिँदै नगरप्रमुखमा निर्वाचित मिश्रले घोषणापत्रअनुसार नै एमालेले काम गर्ने र चाँगुनारायण नगरपालिकाको समग्र विकास गर्दै यस नगरपालिकाको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस