भरतपुर विवादबारे सत्यतथ्य बुझ्न छानविन समिति गठन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भरतपुर विवादबारे सत्यतथ्य बुझ्न छानविन समिति गठन


१५ जेष्ठ २०७४, सोमबार


काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा देखिएको विवाद समाधानका लागि छानविन समिति गठन गरेको छ ।

आयोगले सहन्यायाधीवक्ता गिता तिमिल्सिनाको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । छानविन समितिमा गृहमन्त्रालयका एक सहसचिव र एकजना डीआईजी समितिमा रहनेछन् ।

टोलीलाई घटनाको छानबिन गरी यही जेठ १७ गतेभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ । छानविन समितिले प्रतिवेदन बुझाएपछि मात्र आयोगले निर्णय लिने बताएको छ । छानविन समितिको निर्णय नआउन्जेल भरतपुरको मतगणना स्थगित गरिनेछ ।

टोलीले स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीका टोली प्रमुख र राजनीतिक दलसँगसमेत छलफल गरी प्रतिवेदन पेस गर्नेछ ।

निर्वाचन अधिकृतको कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नं. १९ को एक हजार ८०९ मतगणना पूरा भई बाँकी मतगणना भइरहँदा मतगणना प्रतिनिधिमध्ये केहीले मतगणनास्थलमा प्रवेश गरी मतगणना भएका र नभएकासमेत सयौँ मतपत्र च्यात्ने काम गरेको आयोगलाई जानकारी गराएको थियो ।

आइतबार राति ११ः५५ बजे मतगणना स्थलमा असामान्य अवस्था सिर्जना उत्पन्न भई तत्काल मतगणना कार्य स्थगन गर्नुपरेको व्यहोराको प्रतिवेदन मुख्य निर्वाचन अधिकृतले आयोगमा पठाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस