पन्ध्र वर्षे गुरु बा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पन्ध्र वर्षे गुरु बा


१३ जेष्ठ २०७४, शनिबार


विद्यालयमा प्रवेश

प्रश्न : तपाईँ साँच्चै पढाउनुहुन्छ ?

उत्तर : म पढाउनै आएको हुँ ।

प्रश्न : किन पढाउन चाहनुहुन्छ ?

उत्तर : मैले जानेको कुरा विद्यार्थीलाई सिकाउन र आफ्नो दैनिकी गुजार्न पढाउने पेसा रोजेको हुँ ।

प्रश्न : बिचमै छोडेर जानुहुन्छ कि  !

उत्तर : म शिक्षण पेसा नै अँगाल्छु भनेर शिक्षा सङ्काय पढेको हुँ । कसरी बिचमै छोड्न सक्छु र !

यो संवाद वि.सं. २०५८ असार २८ गते बिहान करिब ११ बजेतिरको हो । पश्चिम चितवनको रामपुरमा रहेको ग्य्राण्डी आवासीय माध्यमिक विद्यालयमा नेपाली शिक्षकको पद रिक्त रहेको थाहा पाएपछि म भरतपुरदेखि साइकल चढेर त्यहाँ पुगेको थिएँ । विद्यालयका प्रिन्सिपल जयकुमार लामाले आफ्नो कार्यकक्षमा बसेर मलाई केही प्रश्न गर्नुभएको थियो र मैले तिनै प्रश्नको जवाफ दिएको थिएँ । अहिले हामी बिचमा भएको तिनै सवालजवाफले मलाई निकै नोस्टाल्जिक बनाएको छ ।

समय चिप्ले किरा जस्तै लुसुलुसु हिँडिरहेको पत्तै नपाइने रहेछ । अहिले पन्ध्र वर्षपछि त्यो दृश्य जीवन्त बनेर आइरहेको छ । म बिरामीबाट भर्खर तंग्रीदै गरेको बेला नाताले काका पर्ने प्रेमवस्तीका केशव अर्यालले ग्य्राण्डी स्कुलमा नेपाली शिक्षक आवश्यक रहेको जानकारी दिनुभयो । उहाँ त्यो बेला मङ्गलपुरमा रहेको उषा ई. बो. स्कुलमा प्रिन्सिपल हुनुहुन्थ्यो । म जागिरको खोजीमा थिएँ । म भरतपुरको मामाघरमा बसेर आफ्नो अध्ययनलाई अगाडि बढाइरहेको थिएँ । तसर्थ मलाई अध्ययनका लागि र दैनिक खर्चका लागि पनि जागिर चाहिएको थियो । यस्तो बेलामा कुनै ठाउँ खालि छ भन्ने सुन्दा पनि केही आशा पलाउँथ्यो ।


हामी अधिकांश जागिरे मानसिकताका नै हुन्छौँ । स्वरोजगार अपनाएर पनि कयौँ मानिसले जीवनको गाडा राम्रै चलाएका छन् । व्यापार, कृषि वा अन्य व्यवसायबाट पनि कतिपय मानिस सन्तुष्ट छन् तर म र मजस्ता धेरै मानिसको मनोविज्ञानले जागिर नै खोज्दो रहेछ ।


हामी अधिकांश जागिरे मानसिकताका नै हुन्छौँ । स्वरोजगार अपनाएर पनि कयौँ मानिसले जीवनको गाडा राम्रै चलाएका छन् । व्यापार, कृषि वा अन्य व्यवसायबाट पनि कतिपय मानिस सन्तुष्ट छन् तर म र मजस्ता धेरै मानिसको मनोविज्ञानले जागिर नै खोज्दो रहेछ । यही समयमा अर्थात् २०५८ को जेठ—असारमा त्यतिखेर कन्या क्याम्पस नजिकै रहेको अरोमा ई.स्कुलमा पनि निमावि तहमा नेपाली शिक्षक आवश्यकता परेको रहेछ । त्यहाँ पनि एक दिन गएर कक्षा सातमा पढाएँ । मसँग विद्या विकास ई.स्कुलमा चार वर्ष शिक्षण गरेको अनुभव थियो नै । तर अरोमाका एक जना जिम्मेवार शिक्षकले मेरो शिक्षण प्रक्रियामा प्रश्न चिन्ह तेस्र्याउनुभयो । विद्यार्थीहरूले त मन पराएका छन् तर तपाईँ हामीलाई चाहिएको जस्तो हुनुभएन भनेर उहाँले जागिर पाउने सम्भावनाको मुना निमोठ्नुभयो । अरोमा स्कुलमा सम्भावना नभएपछि म जागिरकै खोजीमा रामपुर पुगेको हुँ ।

रामपुरको ग्य्राण्डी स्कुलमा माध्यमिक तहमा नेपाली शिक्षक आवश्यकता परेको रहेछ । त्यहाँ अध्यापन गराउने लेखनाथ घिमिरे नामका गुरुले छोडेर जानुभएपछि सो पद रिक्त भएको रहेछ । शैक्षिक सत्र प्रारम्भ भएको निकै दिन बितिसक्दा पनि कुनै शिक्षक नभेटिएको बेलामा म पुगेको रहेछु । हुन त म पुगेकै बेलामा अरु दुई जना उमेदवार पनि जानुभएको थियो । विद्यालयको प्रचलनअनुसार कुनै पनि उमेदवारले पहिले कक्षामा अध्यापन गर्नुपर्ने रहेछ । वीरेन्द्र क्याम्पसमा मसँगै स्नातक पढ्नुभएका एक जना मित्र (अहिले उहाँको नाम सम्झना भएन) पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो भने अर्की एक जना महिला पनि मेरो प्रतिस्पर्धीका रूपमा कक्षा शिक्षणमा जुटेका थियौँ । मैले त्यतिखेर पहिलो कक्षा दशमा लिएको थिएँ । मैले पहिलो पटक मा.वि. तहमा शिक्षण गर्दै थिएँ ।

विद्या विकास ई.स्कुलमा म नि.मा.वि. शिक्षकको मात्र भूमिकामा थिएँ । तसर्थ पढाउने अनुभव मसँग भए पनि माध्यमिक तहमा शिक्षण गरेको अनुभव मसँग थिएन । तथापि कक्षा दशमा रहेको ‘न्यायको पक्ष’ भन्ने पाठ पढाएँ । पौराणिक विषयवस्तुमा आधारित कथा भएको हुँदा मलाई खासै गाह्रो भएन । किनकि हिन्दू धर्मसँग सम्बन्धित कतिपय कथा सुनेकै भरमा मैले जानिसकेको थिएँ । जम्मा १९ जना विद्यार्थी रहेको त्यो कक्षामा पढाएर निस्कँदा म आफू सन्तुष्ट थिएँ । विद्यार्थीले कस्तो माने होलान् भन्ने जिज्ञासा मनमा रहिरह्यो । किनकि विद्यालयको प्रचलनअनुसार पहिले विद्यार्थीले मन पराएपछि मात्र नियुक्तिको अन्य प्रक्रिया प्रारम्भ हुन्थ्यो । त्यसपछि कक्षा नौ र कक्षा आठमा पनि शिक्षण गरेँ । त्यो दिनको शिक्षणपछि प्रिन्सिपलले भोलिपल्ट पुनः आउनुपर्ने भन्ने जानकारी दिनुभयो । मलाई भने पहिलो दिनको क्रियाकलापबाटै निर्णय गरिदिए हुन्थ्यो भन्ने लागेको थियो । तर जागिर खोज्ने मान्छेले आफ्नो रहरमा कहाँ हिँड्न पाउँछ र   ! जागिरसँगै निर्माण भएका अनेकौँ नियमका साङ्लाहरूले जागिरेलाई सीमित घेरामा बाँधेर राखिरहेको हुन्छ , जसबाट उसका रहर र स्वतन्त्रता पखेटा काटिएका चराजस्ता हुन्छन् । अझ शिक्षण पेसामा अरू पेसाका तुलनामा बढी मर्यादित र आदर्श देखिनुपर्ने हुन्छ ।


जागिर खोज्ने मान्छेले आफ्नो रहरमा कहाँ हिँड्न पाउँछ र   ! जागिरसँगै निर्माण भएका अनेकौँ नियमका साङ्लाहरूले जागिरेलाई सीमित घेरामा बाँधेर राखिरहेको हुन्छ , जसबाट उसका रहर र स्वतन्त्रता पखेटा काटिएका चराजस्ता हुन्छन् । अझ शिक्षण पेसामा अरू पेसाका तुलनामा बढी मर्यादित र आदर्श देखिनुपर्ने हुन्छ ।


भोलिपल्ट अर्थात् २०५८ असार २९ गते शुक्रबार पनि निर्धारित समयमा साइकल चढेर भरतपुरदेखि रामपुर पुगेँ । तोकिएका कक्षामा पुनः शिक्षण गरेँ । अन्य प्रतिस्पर्धी साथीहरू पनि निम्त्याइएका रहेछन् । त्यो दिनको कक्षा पनि सकियो तर नियुक्तिको निर्णय आएन । अघिल्लो दिनजस्तै त्यो दिन पनि अन्योलमै घर फर्किएँ । तर फर्किने बेलामा मैले प्रिन्सिपललाई अब यसरी अन्योलमा पढाउन मात्रै नआउने जानकारी दिएको थिएँ । तपाईँलाई यो संस्थाका लागि म उपयुक्त हुन्छु जस्तो लाग्छ भने कृपया खबर गर्नुहोला । खबर आएन भने म उपयुक्त भइनँ भन्ने बुझ्छु भनेर आफ्नो सम्पर्क नम्बर दिँदै त्यो दिन बिदा भएँ । भोलिपल्ट शनिबार थियो । असार ३१ गते आइतबार विद्यालयबाट कुनै खबर आएन । म छानिने छु भन्ने खुब आशा लागेको थियो । तर ३१ गते दिनभर खबर नआएपछि मैले लगभग आशा मारिसकेको थिएँ । श्रावण १ गते सोमबार बिहान १० बजेतिर मैले सम्पर्कका लागि दिएको फोन नम्बरमा खबर आयो । “तपाईँ छानिनु भयो । अब नियमित पढाउने गरी विद्यालय आउनुहोला ।” यसरी २०५८ असार २८ गतेदेखि अनौपचारिक र श्रावण १ गतेदेखि औपचारिक रूपमा मेरो ग्य्राण्डी आवासीय माध्यमिक विद्यालय, रामपुरसँगको सम्बन्ध जोडिएको थियो ।

तात्कालीन अवस्थामा मा.वि. शिक्षकको सरकारी तलब रु.७५००। (अक्षरुपी सात हजार पाँच सय मात्र) थियो । मसँग भने विद्यालयले पहिलो तीन महिना रु.६५००। (अक्षरुपी छ हजार पाँच सय) दिने र त्यसपछि मात्र सरकारले निर्धारण गरेको तलब सुविधा प्रदान गर्ने सम्झौता ग¥यो । मलाई जसरी पनि जागिरमा संलग्न हुनु थियो । विद्यालयको यो सर्त मान्नै पर्ने बाध्यता थियो† मानेँ । यसपछि सुरु भयो गुरुबाको दैनिकी ।

गुरुबा  !
गुरुबा  ! अर्थात् नेपाली विषय पढाउने शिक्षकलाई विद्यार्थीले गर्ने सम्बोधन । मलाई लाग्थ्यो , गुरुबा भन्ने सम्बोधन उमेर निकै पाको भएको शिक्षलाई गर्ने गरिन्छ । तर यहाँ त म २६ वर्षे ठिटोलाई नै विद्यार्थीहरूले गुरुबा भनिरहेका थिए । १६/१७ वर्षे विद्यार्थीले म भर्खरै गधे पच्चीसी पार गरेको मानिसलाई गुरुबा भन्दा प्रारम्भका दिनमा मलाई निकै असहज लागेको थियो । तर कुरो के रहेछ भने मभन्दा ठिक पहिला अध्यापन गरेर छोड्नु भएका नेपाली विषयका शिक्षक झण्डै ६० वर्ष उमेर पार गरेका गुरु हुनुहुँदो रहेछ । लेखनाथ घिमिरे नामका गुरु संस्कृत पृष्ठभूमिबाट आउनु भएकोले उहाँ आफूलाई गुरुबा भनेको मन पराउनुहुँदो रहेछ ।

उहाँ अहिले यस भौतिक संसारमा हुनुहुन्न । म विद्यालयमा कार्यरत हुँदै गर्दा एकपटक आइपुग्नु भएको थियो । त्यतिखेर उहाँलाई झुलुक्क देख्ने मौका पाएको थिएँ । तर झण्डै चार वर्ष जति अघि एउटा अप्रिय समाचार सुनेँ । वास्तविक गुरुबा अर्थात् लेखनाथ गुरु भरतपुर उकालोमा साइकलमा हिँड्दै गर्दा त्यसै ढल्नुभयो । त्यो ढलाइ नै उहाँको अन्तिम रह्यो, उहाँ फेरि उठ्न सक्नु भएन । अर्थात् उहाँले यस संसारबाट सदाका लागि विदा लिनुभयो । जसले गुरुकुल परम्पराअनुसार शिक्षकलाई गुरुबा भन्न सिकाउनु भयो र गुरु भनेका बा अर्थात् पिता समान हुन्छन् भन्ने मनोविज्ञान विद्यार्थीमा विकसित गरिदिनु भयो उहाँको इहलीला समाप्त भएको समाचार भने ‘रे’ शैलीमा कतैबाट सुन्नु प¥यो । उहाँले नै विद्यार्थीलाई गुरुबा सम्बोधन गर्न लगाउनु भएको रहेछ । त्यसै कारण विद्यार्थीहरू नेपाली विषय अध्यापन गर्ने पुरुषलाई गुरुबा र महिलालाई गुरुआमा भन्दा रहेछन् । सुरुका दिनमा मलाई गुरुबा सम्बोधन पचाउन निकै हम्मेहम्मे परे पनि कालान्तरमा त्यो शब्द नै प्रिय लाग्न थाल्यो ।


उनीहरू लेखिरहेका थिए, परीक्षण मेरो भइरहेको थियो । वास्तवमा परीक्षा भनेको विद्यार्थीको मात्र होइन रहेछ, वास्तविक परीक्षा त उनीहरूलाई पढाउने शिक्षकको पो हुने रहेछ ।


नयाँ ठाउँ, नयाँ मान्छे , नयाँ वातावरण मेरा लागि निकै चुनौतीपूर्ण थिए ती दिन । पहिलोपटक माध्यमिक तहमा अध्यापन गर्ने जिम्मेवारी लिएर कक्षा कोठामा प्रवेश गरिरहेको थिएँ । विद्यार्थीलाई पढाउन गाह्रो थिएन तर बुझाएर पढाउनु चानचुने कुरा थिएन । एउटा शिक्षकले पढाइरहेको ठाउँमा अर्को शिक्षक गएर फरक शैलीमा शिक्षण गर्नु निकै गाह्रो काम थियो र चुनौती पनि । अनि टिन एजका उरेन्ठेउला केटाकेटी, मौका पाउना साथ बदमासी गर्न उद्यत हुने स्वभाव । यी सब अप्ठ्याराहरूलाई चिर्दै अगाडि बढ्नुको विकल्प थिएन मसँग । कक्षा दशमा १९ जना विद्यार्थी थिए भने नौ कक्षामा यस्तै ३०÷३२ जना हुँदा हुन् । अहिले कक्षा नौका विद्यार्थीको सङ्ख्या ठ्याक्कै यकिन हुन सकेन । तर समय मेरो पक्षमा थियो क्यार । कुनै पनि दिन विद्यार्थीबाट मैले पढाउने समयमा कुनै किसिमको अप्ठ्यारो महसुस गर्न परेन । यसमा मेरो अध्यापन कुशलताले हो या विद्यार्थीको आत्मीय सहयोगले हो, वातावरण अत्यन्त स्नेहपूर्ण बन्यो । प्रशासनिक रूपमा पनि मैले निकै सहयोग प्राप्त गरेँ । प्राचार्य जय लामा निकै अध्ययनशील हुनुहुन्थ्यो । शिक्षणका विभिन्न नयाँ नयाँ प्रक्रिया र प्रविधि अपनाउन प्रोत्साहन गर्ने उहाँको स्वभावले आफूले शिक्षा सङ्कायमा अध्ययन गरेका कुराहरूलाई कार्यक्षेत्रमा प्रयोग गर्न निकै सजिलो भयो ।

म एउटा कुराबाट निकै डराइरहेको थिएँ त्यस समय । पढाउन त पढाइरहेको छु तर एस.एल.सी. परीक्षामा विद्यार्थीले कस्तो नतिजा ल्याउलान् ? आफूले पढाएको र परीक्षामा आउने प्रश्नहरू बीच तालमेल नमिल्ने पो हो कि ! विद्यार्थीहरू परीक्षा दिइरहेका थिए , चिन्ता मलाई लागिरहेको थियो । उनीहरू लेखिरहेका थिए, परीक्षण मेरो भइरहेको थियो । वास्तवमा परीक्षा भनेको विद्यार्थीको मात्र होइन रहेछ, वास्तविक परीक्षा त उनीहरूलाई पढाउने शिक्षकको पो हुने रहेछ । २०५८ सालका विद्यार्थीले एस. एल.सी. परीक्षा दिएपछि म एक वर्षे अनुभवी बनिसकेको थिएँ । आखिर एस.एल.सी.को नतिजा पनि सार्वजनिक भयो । धन्न सबै विद्यार्थी उत्तीर्ण भए । विद्यार्थीले नेपाली विषयमा कति अङ्क ल्याउनलान् भन्ने चिन्ता उनीहरूलाई भन्दा मलाई बढी थियो । त्यसैले बडो उत्सुकताका साथ नतिजा हेरेँ । सोचेजस्तो राम्रो नम्बर नआए पनि नराम्रो थिएन । अर्थात् उनीहरूले प्रथम श्रेणी र द्वितीय श्रेणीको नम्बर नेपाली विषयमा ल्याएका रहेछन् । पढ्नु र पढाउनु अलग कुरा रहेछ भन्ने मैले आफैँले पढाउन थालेपछि मात्र बुझ्न थालेको थिएँ ।

यसरी प्रारम्भ भएको गुरुबाको पदभार करिब १५ वर्ष सफलताका साथ पूरा गरेँ (मेरो मूल्याङ्कनमा) । सबैले ऐना हेर्दा आफूलाई राम्रो नै देख्छन् । तर अरूको नजरमा राम्रो बन्न निकै गाह्रो छ । किनकि हरेक व्यक्ति आफैँमा पूर्ण छ र छैन पनि । म पनि त यही समाजको मान्छे हुँ । ममा पनि मेरो गुनगान गरेको सुन्ने मनोविज्ञानले डेरा जमाएको छ । जे होस् , मलाई आफूले पाएको जिम्मेवारी र विद्यालयले दिएको कार्यभार सफलताका साथ पूरा गरेँ भन्ने लागेको छ । मलाई लागेको सबै सत्य हुनुपर्छ भन्ने केही छैन । यो त म कार्यरत संस्थाका संस्थापक, प्रशासक, सहकर्मी, कर्मचारी, विद्यार्थी, अभिभावक, शुभचिन्तक, निन्दक सबैले मूल्याङ्कन गर्ने कुरा हो ।

तथापि पछिल्लो समय मैले जुन सहयोग र विश्वास प्राप्त गरेको थिएँ, यसबाट मैले सन्तुष्टि पाउने धेरै आधारहरू तयार भएका थिए । मैले प्राप्त गरेको गुरुबा पद र सम्मान चानचुने थिएन र होइन पनि । अहिले भने म ती विद्यार्थीको नियमित गुरुबा बनिरहन सकिनँ । १५ वर्ष लगातार एउटै निजी विद्यालयमा सेवा गरेर २०७३ वैशाख ५ गतेबाट विदा हुँदै गर्दा गुरुबा पद पनि मैले त्यही विद्यालयमा छोडेर आएको छु । तर अचेल किनकिन त्यही गुरुबा प्यारो लाग्न थालेको छ । मैले १५ वर्षसम्म अध्यापन गराएका विद्यार्थीहरूले मलाई गुरुबाकै नामबाट सम्बोधन गर्ने छन् सधैँभरि । उनीहरूले गुरुबा भनिरहँदा म गुरुबाकै पदमा कार्यरत नहुन पनि सक्छु । तथापि अहिलेसम्म मेरो पेसा परिवर्तन भने भएको छैन स्थान मात्र परिवर्तन भएको हो । मलाई भने मेरा विद्यार्थीबाट गुरुबा कै सम्बोधन सुन्ने व्यसन प्यारो लागेको छ । गुरुबा सम्बोधन सुन्ने व्यसनबाट छुटकारा पाउन मलाई कुनै पुनःस्थापना केन्द्रमा जाने रहर छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस