गजल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गजल


६ जेष्ठ २०७४, शनिबार


शत्रु होओस् चाहे मित्रु, बिगार गरोस् भन्नुहुन्न
छिमेकीको बिउमा आफ्नो, गोरु चरोस् भन्नुहुन्न ।

पल्लो घरमा डाँका लागे, किन हाँस्नु मरिमरी ?
वल्लो घरमा पिसाच लाग्दा, उता सरोस् भन्नुहुन्न ।

मधुमेह लागोस् चाहे, या त भेटोस् अतिसारले
लटरम्म फलेको फल, कुहिई झरोस् भन्नुहुन्न ।

स्वार्थ पनि हुनसक्छ, मित्रताको सानो अंश
भए पनि मित्रतामा, बाधा परोस् भन्नुहुन्न ।

आदर होओस् विद्वताको, कदर होओस् सोझोपनको
कोही कसैले गैरीखेतमा, गहत छरोस् भन्नुहुन्न ।

पाखा–भित्ता वारि–पारि, पोस्नुपर्छ ग्वालटारले
“ग्वालटारे”ले मात्रै टन्न, पेट भरोस् भन्नुहुन्न ।

प्रतिक्रिया दिनुहोस