मुग्लिन सडक आजदेखि पुनः ६ घन्टा बन्द « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मुग्लिन सडक आजदेखि पुनः ६ घन्टा बन्द


४ जेष्ठ २०७४, बिहिबार


चितवन । चितवनको मुग्लिन–नारायणगढ सडक आयोजनाले आजदेखि पुनः ६ घन्टा बन्द गरेर काम गर्ने भएको छ । वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख २५ देखि जेठ ३ गतेसम्म १० दिन बन्द नगरेको आयोजनाले आजदेखि नियमितरुपमा सडक बन्द गरेर काम गर्न लागेको हो ।

आयोजनाका इन्जिनियर शिव खनालका अनुसार आजदेखि हरेक दिन विहान १० देखि ४ बजेसम्म सडक बन्द गरेर काम हुनेछ । अहिलेसम्म उक्त सडकखण्डमा ४७ प्रतिशत मात्रै काम पूरा भएको खनालले जानकारी दिए । समयमै निर्माण सम्पन्न नभएकाले आगामी पुस पहिलो हप्तासम्मका लागि समय थप गरेर निर्माण कार्य हुँदै आएको उनको भनाइ छ ।

उक्त सडकखण्डको ३४ किमी क्षेत्रमा तीन चरणमा ६ वटा निर्माण कम्पनीले अहिले काम गरिरहेका छन् । चुनावका लागि गएका मजदुर फर्किएको समेत आयोजनाले जनाएको छ । उक्त सडक भएर दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापा बताउछन् । बेलाबेलामा सुख्खा पहिरोका कारण सास्ती पाउँदै आएका यात्रुले यहाँ वर्षाका बेलामा थप सास्ती पाउँदै आएका छन् ।

अघिल्लो महिनामा यहाँ सुख्खा पहिरो खसेर दुईजनाको ज्यान गएपछि सतर्कता बढाइएको प्रहरीले जनाएको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा सडक चौडा पार्ने काम भइरहेको छ । कतिपय स्थानमा कालोपत्र गर्ने काम समेत थालिसकिएको आयोजनाको भनाइ छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस