Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

समाचार सही कि गलत पाठक आफैँले छानेर बुझ्नुपर्ने !


प्रशासन विशेष ब्युरो

२ जेष्ठ २०७४, मंगलबार


काठमाडौँ । ‘हैन कस्तो जमाना आएको ? समाचार सही कि गलत पाठक आफैँले छानेर बुझ्नुपर्ने ? ए स्वतन्त्र प्रेस, स्वतन्त्र पत्रकार भनेर कुर्लनेहरू हो, स्वतन्त्रता भनेको तिमीहरूलाई जे मन लाग्यो त्यही हो ।’

पहिलो चरणको स्थानीय निर्वाचनको प्रारम्भिक मतपरिणामबारे सञ्चारमाध्यममा आएका समाचारमाथि सामाजिक सञ्चालमा अच्युत लोहनीले उठाएको प्रश्न हो यो ।

गत वैशाख ३१ विभिन्न ३४ जिल्लाका ३८३ स्थानीय तहका लागि भएको निर्वाचनको मतगणना सोही दिन राति आरम्भ भएदेखि नै सञ्चारमाध्यमले निरन्तर समाचार सम्प्रेषण गरेका छन् । ती माध्यमले पाठक र दर्शकको उत्सुकता मेटाउन मेहनतका साथ आफ्नो दायित्व निर्वाह गरिरहेका छन्, जसका कारण चोकचोकमा कुन स्थानमा कुन दलका कुन उम्मेदवारको कति ? कसले बाजी मार्ला जस्ता टीकाटिप्पणी भइरहेका छन् ।


‘सञ्चारमाध्यमले समग्र प्रवृत्ति दिने हो, श्रोता र पाठकले आफ्नो हिसाबले बुझ्न सक्छन्, यहाँ त कसरी सञ्चारमाध्यमलाई सूचना दिने भन्ने व्यवस्थित प्रणालीको पनि अभाव छ ।’


 

 

 

सामाजिक सञ्जालले पनि सञ्चारमाध्यमलाई पछ्याइरहेका छन् भने कतिपय सञ्चारमाध्यमले सामाजिक सञ्जालका सूचनालाई पनि उपयोग गरेका छन् तर एक लाखभन्दा बढी मत भएको कुनै नगरपालिकामा ४०/५० मत गन्दादेखि नै ‘फलानोको अग्रता, फलानो पछि प¥यो’ जस्ता शीर्षक र सन्देशका प्रशस्त समाचार आइरहेका छन् । कतिपयले पुष्टि बिनाको आँकडाका आधारमा पनि समाचार बनाएका छन् ।

सञ्चार क्षेत्रको व्यावसायिकता र सूचना प्रविधिको दूत विकाससँगै देखिएको प्रतिस्पर्धात्मक वातावरण र आफ्ना स्रोता, पाठक र दर्शकलाई बढीभन्दा बढी ताजा सूचना दिन सञ्चारमाध्यमको पहल स्वभाविक हो तर तथ्यलाई भ्रमात्मक र सनसनीपूर्ण बनाउने प्रकारका सूचना पनि यसबीचमा सम्प्रेषण भइरहेका छन् । टेलिभिजन, रेडियो र अनलाइनले प्रत्यक्ष सम्प्रेषण गरिरहेका छन् भने दैनिक पत्रिकाले विशेष प्राथमिकतासहित पछिल्ला सूचना र विश्लेषण दिएका छन् ।

एउटा उम्मेदवारको १६ मत र अर्कोको ३२ आयो भने दोब्बरको अन्तर भनिदिएमा के होला ? खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले भन्नुहुन्छ, “अपरिपक्व सूचना पस्केर भ्रम सिर्जना गर्नु हुँदैन । गलत अर्थ लाग्ने गरी या जानेर/नजानेर वा बद्नियतपूर्वक सम्प्रेषण गरिनु गल्ती हो । सञ्चारमाध्यम ‘प्रोपोगान्डा’ गर्नेको पछि लाग्नु हुँदैन । सञ्चारमाध्यम र पत्रकार सचेत हुनुपर्छ ।” नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष समेत रहेका उनको विचारमा निर्वाचन परिणामसम्बन्धी समाचार ‘असरल्ल र तोडमोडपूर्ण’ भएको छ ।

त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख चिरञ्जीवी खनाल निर्वाचन आयोगको गणना प्रक्रियामा देखिएको धिमा गतिका कारण सूचना सम्प्रेषणमा यस्तो स्थिति देखिएको बताउँछन् । खनाल भन्छन् –“आयोगले सार्वजनिक गरिसकेका सूचना सञ्चार माध्यमले आफ्ना पाठक र दर्शकलाई दिनु उसको दायित्व हो । मूल कुरा आयोगले छिटो गणना र सहज व्यवस्थापनमा जोड दिनुपर्छ ।”

वरिष्ठ पत्रकार एवम् अन्नपूर्ण पोस्टका सम्पादक युवराज घिमिरे सञ्चारमाध्यमले गल्ती गरेको छ भन्नुभन्दा पनि आयोगको सूचना प्रणाली कस्तो छ भन्ने प्रश्नलाई बढी प्राथमिकता दिन्छन् । यस्तो सवालमा कुनै निश्चित मानक वा मापदण्डले काम गर्नुपर्छ भन्ने नहुने घिमिरेको तर्क छ ।

‘सञ्चारमाध्यमले समग्र प्रवृत्ति दिने हो, श्रोता र पाठकले आफ्नो हिसाबले बुझ्न सक्छन्, यहाँ त कसरी सञ्चारमाध्यमलाई सूचना दिने भन्ने व्यवस्थित प्रणालीको पनि अभाव छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस