कालिका–११ मा मतदान सुरु, दलितमा उम्मेदवारी नै परेन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कालिका–११ मा मतदान सुरु, दलितमा उम्मेदवारी नै परेन


२ जेष्ठ २०७४, मंगलबार


चितवन । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका वडा नं. ११ मा मतदान सुरु भएको छ ।

सर्वदलीय बैठकको निर्णयअनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार अहिले निर्वाचन सौहार्दपूर्णरुपमा भइरहेको छ ।

वैशाख २६ गते वर्षासँगै परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो ।

सोही कारण यहाँ वैशाख ३१ मा मतदान रोकिएकाले आज मतदान भएको हो । उनको सट्टामा माओवादी केन्द्रले वडा सदस्यमा सुकराम चेपाङलाई उम्मेदवार बनाएको छ ।

उक्त वडामा नेपाली काँग्रेसबाट अध्यक्षमा दानबहादुर प्रजासहित चारजना, नेकपा (एमाले)बाट वडा अध्यक्षमा कृष्णबहादुर प्रजासहित चारजना तथा माओवादी केन्द्रबाट अध्यक्षमा गयासिंह चेपाङसहित चारजनाले वडामा उम्मेदवारी दिएका छन् ।

यस्तै, राप्रपाबाट वडाध्यक्षमा कृष्णजङ्ग तामाङ र नयाँ शक्तिबाट जीतबहादुर प्रजाको उम्मेदवारी परेको निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए ।

उक्त वडामा कुल पाँच जनाका लागि १४ जनाको उम्मेदवारी परेको छ । दलितमा भने उम्मेदवारी नै परेको छैन । कालिका नगरपालिकामा वैशाख ३१ को मतदानका क्रममा १७ हजार ९४६ मत खसेको छ । यो करिब ७८ प्रतिशत मतदान हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस