अज्ञात समूहद्वारा बस र ट्रकमा आगजनी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अज्ञात समूहद्वारा बस र ट्रकमा आगजनी


३० बैशाख २०७४, शनिबार


दमौली । तनहँको रिसिङ र बेलभन्ज्याङमा शुक्रबार राति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ ।

रिसिङ –६ चालिसेमा अपरिचित समूहले एउटा बसमा आगो लगाउँदा बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । आठ नौजनाको समूहमा आएका अपरिचित व्यक्तिले पार्किङ गरिराखिएको ना६ ख ३५२५ नं. को बसमा आगो लगाएको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए ।

उक्त समूहले चालक र सहचालकलाई खुकुरी देखाई बाहिर निकालेर आगो लगाएको र उनीहरुको तीव्र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एक हप्ताअघि मात्रै अज्ञात समूहले निर्वाचन प्रयोजनका लागि ल्याइएको घिरिङ गाउँपालिकाको स्कार्पियो जिपमा आगजनी गरेको थियो । सो घटनामा शङ्कास्पद एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै शुक्रबार राति नै तीन चारजनाको अज्ञात समूहले बन्दीपुर गाउँपालिका– १ स्थित बेलभन्ज्याङमा ना ३ ख ९११६ नं. को ट्रकमा आगजनी गरेको छ । चालकलाई ट्रकमै राखेर उनीहरुले आगो लगाए पनि सिसा फोडेर उनी बाहिर निस्केको घटनास्थल पुग्नुभएका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए ।

शनिबार बिहान ५.१५ बजेतिर उक्त समूहले पेट्रोल छर्केर ट्रकमा आगजनी गरेको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए । बन्दमा गाडी चलाएको भन्दै चालक र सहचालकलाई भाटाले समेत हानिएको थियो । चिनी बोकेर डुम्रेबाट पोखरा जाँदै गरेको उक्त ट्रकमा आगजनी भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

व्यास नगरपालिकाबाट लगिएको दमकल, प्रहरी र स्थानीय बासिन्दाले करिब चार घन्टा लागाएर आगो निभाएको प्रनानि पाण्डेले बताए । रासस

प्रतिक्रिया दिनुहोस