होटल हनुमान एण्ड लज « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

होटल हनुमान एण्ड लज


३० बैशाख २०७४, शनिबार


के छ भिम्वाँ अँकल ? रामेले मलाई भन्यो ।

खुसिले मनमा ज्वारभाटा उठिरहेको छ ।

किन कस्तो खालको खुशी हो र अँकल मनमै ज्वाँरभाटा उठ्ने ?

केही होइन दुई बर्षपछि भोलि नेपाल फर्कदै छु त्यही भएर कति बेला ट्रेन चढौँला भनेर मनमा हर्षपूर्ण खुलदुली भइरहेछ ।

ए ! त्यही भएर हो अँकल ? म त केही अरू नै हो कि भनी सोचेको । कतै त्यो सेटकी छोरीले मधुबन बजार घुम्न जाऊँ, नेपाल नजा त भनिन ?

खाली तँ पनि मजाक गर्छस् यार, अरु केको खुशी हुनु र, हामी प्रदेशीको । अनि तँ कहिले जान्छस् नेपाल ?

अँकल यो साल हुँदैन अर्को साल जान्छु । अनि अँकललाई सेटकी छोरीले नजा नेपाल भनिन ? फेरि उस्तै स्वरमा रामेले भन्यो ।

के गर्छस् रामे भन्न त भन्छ उसले भनेर कहाँ हुन्छ त, घर त जानै पर्छ । त्यो त खाली दुई दिनकी रामछाया हो । सबै मनले खोजे सोचेजस्तो हुँदैन । घर, घरै हो । प्रदेश, प्रदेशै हो । आखिर चाहिने भनेकै घर हो । उसले जति भने पनि घर जान त छोड्नु भएन ।

हो अँकल अनि भोलि को को जाँदै हुनुहुन्छ नेपाल ? मलिन स्वरमा रामेले मलाई सोध्यो अनि मेलै जवाफमा ठेग्घरको स्यानु, मल्लाघरका माइला, भूलको खिन्त्या, मल्लाबाडाको पहले, मल्दाइ र म जाने हौँ भोलि दश बजे छुट्ने हो ट्रेन ।

राम्रोसँग जानु अँकल लामो यात्रा छ बिचार गरेर जानु होला आफ्नो त यो साल नहुने भयो अर्को साल दशैमा जानु पर्ला घर ।

नत्र तँ पनि हिड् सँगै जाऊँ नेपाल । सबै दाजुभाइ योपालि दशैं रमाइलो गरी मनाउँला ।

घर जाने मन नभाको कहाँ हो र अँकल यसपालि हुँदैन कर्ज लागेको छ बरु अलिकति घरखर्च लगि दिनु होला ।

हुन्छ,त्यति नगरुँला र, नत्र छिमेकी भएको के काम ।

हुन्छ अँकल लगि दिनुहोला म भोलि बिहानै खोली आउँछु । अहिलेलाई छुटिऊँ त है अँकल ।

हुन्छ भोली बिहानै आइजा ।

हुुन्छ अँकल बिहानै आउँछु ।

लामो कुराकानी पछि रामे आफ्नो खोलीतिर लाग्यो । त्यसपछि म आफ्नो सर–समान झोलामा प्याक गर्दै थिएँ त्यतिकैमा अचानक खोलीभित्र शीलाको आगमन भो । म छक्क परेँ । हिजो मलाई नेपाल नजा भनेर रिसाएर जाने मान्छे आज मेरो खोलीमा यसरी आएको देख्दा मेरो अन्तरमनमा प्रश्नहरुको कारखाना पैदा भयो म सोचमग्न भएँ । कतै यो शीलाले मेरो बषौँ पछिको नेपाल जाने सपना चकनाचुर बनाउने त होइन भन्ने अनेक शंकापूर्ण सोचहरु मनमा जन्मन थाले । नजन्मनु पनि कसरी नेपालको सम्झनाको प्यास यिनै शीलाले मेटेकी थिइन् । प्रेमको बन्धनमा पहिलो पटक शीलाले नै पारेकी थिईन् र प्रेम पूर्वक गरिने सम्पूर्ण व्यवहारहरु केवल सीमित थिए उनी र म मा । यसकारणले म छुटिदा उनको मन चस्किनु स्भाविक हो यस्तै यस्तै प्रश्नहरु मेरो मनमा खेल्न थालेँ त्यतिकैमा उसले मेरो समीपमै आएर मलिन स्वरमा भनी कल नेपाल जाओगें आप ?

मैले पनि उसका गालाहरु मसार्दै भने, “हाँ जाउँगा दो चार महिने के बाद वापस आउगाँ ।” मेरो टाउको मसार्दै उसले भनी, “अच्छासे जाना, अप्ना ध्यान राख्ना फिरसे जल्दी आजाना ।” ठिक हे दो महिनेके बाद आजाउन्गा । आँशु झार्दै मलिन स्वरमा “ठीक हे मै जाति हुँ घरपेँ मेरी तरफसे ये साडी मम्मीको दे देना । नेपाल पहुज्नेके बाद कल कर्ना बाई !” भन्दै शीला मबाट विदा भइन् । मनमा लागि रहेको थियो शीलाको यति यादगार मायालाई मूर्तरुप दिन पाएको भए पनि हुन्थ्यो तर त्यो कार्य मलाई फलामको चिउरा चपाउनु सरह थियो । किनकि शीला नेपाल नआउने मैले विदेश भूमिमा उसलाई आत्मासात गरे पनि सायद म उसकै आमा बुवाबाट मृत्युको शिकार हुने । यस किसिमको कष्टपूर्ण कदम मैले चाल्नै सक्दिनँ । अनि कसरी मूर्तरुप लिन सक्छ त हाम्रो सम्बन्धले । यस्ता सोचहरुको बाढीले मनमा ओहरदोहर गरिरहेको थियो । त्यतिकैमा रामेको आगमन भो । “ओहो ! अँकल झोला त रेडी पार्नु भो, धेरै समान छ कि के हो ?” छेउमै राखेको झोला देखेर रामेले भन्यो ।

अलिअलि गर्दागर्दै झोला भरिहालेछ अनि तेरो समान पनि छ कि ?

नाई अँकल छैन अलिकति घरखर्च मात्र हो ।

खै कति छ मैले लैजानु पर्ने ?

धेरै छैन, दश हजार मात्र हो । दश हजारमध्ये पाँच हजार डल्लीलाई खुसुक्कै दिनु होला बाँकी पाँच हजार घरमा ।

ल ल, हुन्छ भन्दै मैले पैसा खल्तीमा राखेँ । सबै समान तयार गरि सकेको थिएँ । यतिक्कैमा माइला अँकलको फोन आयो । अँकलले “रेडी भै हाली” भने मैले रेडी नै छु भने अनि हजुर ?

म त निस्की सके तँ छिटो आइजा अँकलले भने ।

हुन्छ आइहाले म पनि । भन्दै रामे र म कानीमा झोला राखी रेलबे स्टेसन जान खोलीबाट निस्की रिक्सामा बस्यौँ । केही समयको यात्रापछि रेलबे स्टेसन पुग्यौँ । रेलबे स्टेसनमा अरु सबै पुगि सकेका थिए । सबै जना मेरो प्रतिक्षामा बसेका थिए । ठेग्घरको स्यानु, मल्लाघरका माइला, भूलको खिन्त्या,मल्लाबाडाको पहले, मल्दाइ आपसमा गफ गर्दै थिए । त्यतिकैमा खिन्त्याले भन्यो “कउजु ढिला प गर्या ?”

अलि ढिलो उठेँ खिन्त्या, त्यही भएर ढिलो भो ।

दाइजु पनि जान्या हौगी ?

नाइ खिन्त्या म तमुखीलाई विदाई गर्न आएको हुँ रामेले भन्यो ।

सबै जना जान लागेका छु नत्र सँगै जाऊँ दाइजु ।

नाई खिन्त्या योपालि हुँदैन मेरो अब अर्को साल हुन्छ ।

मैल पनि यो साल नजान्या भन्या हुँ ऊ त घरबाटी आइजा आइजा भन्न लागी त्यही भएर जान्लाछु । घरमा काम गर्ने पनि कोही छैनन् ।

ल ल राम्रोसँग जानु बाटोमा विचार गर्नु होला ।

हुन्छ दाइजु बरु यता कामकाज राम्रोसँग गर्नु होला । त्यतिकैमा हामी सबै जना रेलमा चढ्यौँ रामेले हामी सबैलाई बिदाई गर्यो । दुई दिन एकरातको यात्रापछि हामी मथुरा पुग्यौँ । मथुराबाट बसको यात्रा शुरु भयो । मथुराबाट एक रातको यात्रापछि हामी नेपालको सीमा नाका गौरीफण्टा पुग्यौँ । यात्रामा मेरो शरीर थकित थकित भएको छ । नहुनु पनि कसरी दुई दिनको अनवरत यात्रा । म लगायत सबैजना गौरीफण्टा पुग्यौ । गौरीफण्टा पुगेपछि एउटा रिक्सावाला “बसपार्क बसपार्क” भन्दै मेरो हातमा भएको झोला समातेर रिक्सामा राखिहाल्यो । त्यसै रिक्सामा माइला अंकल र म बस्यौँ भने अर्को रिक्सामा माल्दाइ, खिन्त्या र मल्लाबाडाको पहले बसे । रिक्सामा बसेर आउँदै गर्दा नाकामा भारतीय कस्टमले रोक भन्यो । रिक्सावालाले रिक्सा रोक्यो । भारतीय कस्टमले भन्यो “क्याहे इस्मे ?”

मैले भन, “थोडा सामान हे ।”

क्या सामान हे ?

घरके लिए लुगाफाटा हे ।

कस्टमका कर्मचारीले भन्यो “पाँच पाँच सौँ निकालो,” मैले भने “यित्ना पैसा त नहि हे हमारे पास ।”

“ज्यादा मत बोल्ना देना हे तो देउ, नहि देना हे तो चेक करौँ अप्ने पास कित्ने पैसा हे क्यु ठगरहे हो आप् ।”

यसको बबालमा फस्नु छैन भनेर कसैले पाँच सय कसैले तीन सय गरी दियौ । यसैगरी भारतबाट आएका अरुले पनि कस्टमका कर्मचारीलाई पैसा दिर्दै आए । यता नजिकै सीमानमा नेपालका पुलिस पनि थिए । नेपालका मजदुर दाजुभाइले कस्टमका कर्मचारीलाई पैसा बुझाउँदै गरेको देख्दा पनि उनीहरुले टुलुटुलु हेरिरहेका थिए । उनीहरुले पनि हेर्न सिवाय केही थिएन । गौरीफण्टा नाकामा यस किसिमको भारतीय कस्टमबाट नेपाली मजदुर माथिको दादागिरी र नेपालका पुलिसहरुको मौनताले मेरो मनमा अनेक प्रश्नहरु उब्जन थाले । मनमनै अनुरोध गरेँ– ए दुःख ए पीडा म तेरो सधैको ग्राहक हुँ अलिकति त सहुलीयत दे । एक मनले भन्दै थियो हामी मजुदुरहरु माथि ज्यादती गर्ने कस्टम कर्मचारीमाथि मुक्काहरु बजाराँै अर्को मनले भन्यो मैले यसो गरे घरमा मेरा बा आमा छन् । जो म भनेर बाँचेका छन् जसको आशा र भरोसाको एक मात्र पात्र म हुँ दुई सालपछि घर फर्केको छु ।

मैले यसो गर्नु हुँदैन । मैले यसो गरे मेरा बा आमाको हालत के होला । हामी मजदुर माथिको ज्यादति नेपालको प्रशासनले नदेखे पनि भगवानले देखेका छन् भन्दै मैले मनमनै भगवान् पुकारेँ । रिक्सावालाले रिक्सा चलायो । सबै जना नेपाली भूमिमा पुग्यौँ । मन हलुका भएको महसुश गरेँ । मोहना नदी तरी सकेपछि नेपालका पुलिसले चेकजाँचका लागि रोक्यो, यसमा के के छ भनेर सोध्यो । सडकको दाया किनारातिर सामान बोकेका साइकलको लाइन थियो । सँगसँगै केटाकेटी र महिला दिदी बहिनीहरु पनि थिए । माइला अँकलले भने घरको सामान छ । के के छ सामान पुलिसले भन्यो, माइला अँकलले भने यस्तै खिज्रीमिज्री सामान हो सर, पुलिसले भन्यो अलिअलि चिया पानी देऊ । सबले दश बीस रुपैया दियौँ । मैले दिन्न भने, त्यसपछि पुलिसले मेरो सबै झोला चेक गर्यो । पुलिसले अरुले दियो त किन नदिने ? मैले भने तपाइको काम यही हो, तपाइको काम जनताको सुरक्षा गर्ने हो की जनता लुट्ने हो ? उसले भन्यो तँ को होस् सिडियो होस् नाना थरिको पाठ पढाउने । अर्को पुलिस आयो उसले भन्यो ल ल जाऊ । मेरो मनमा अनेक बाँछिटाहरु गुन्जन थाले । रिक्सावालाले रिक्सा चलायो केही मीनेटपछि हामी बसपार्क पुग्यौँ ।

समय कति परिवर्तनशील है माइला अँकल ? एक बर्ष भित्रै धनगढी बसपाकर्को मुहार कति परिवर्तन भएको रैछ है अँकल । हो त नि अहिले ठूलाठूला घर बन्न लाएका रहेछन् । केही होटलहरु प्नि थपिएका छन् । बम्मै जाने बेला तेती होटल थिएनन् । बसपार्कका होटेलहरुले ग्राहकलाई तान्न तछाड मछाड गरिरहेका थिए । हामीहरु सबै जना चिने जानेको आफ्नै गाउँ घरको चन्द्रदीप बोगटान होटलमा गयाँै । हामीलाई होटलका मालिक पुरन कुड्मालले आथित्त्य पूर्वक कोठामा राखे । चन्द्रदीप होटलमा मलाई नुहाउन समस्या भो अनि होटल बाहिर निस्कीएँ । यताउता हेरे मेरा आखाको नजर होटल हनुमान एण्ड लजको साइन बोर्डतीर पर्यो । त्यस बोर्डमा लेखिएको थियो । यहाँ खाना नास्ताको उचित ब्यवस्था हुनुको साथै बास बस्नको लागि पनि एटेच तथा नन्एटेच आरामदायी कोठाहरुको सु्विधा रहेको छ ।

कृपया एक पटक सेवा गर्नेे मौका दिनुहोला ।
प्रो. शिव हनुमान
खिन्त्या र म पनि त्यसै साइनबोर्ड भएको होटलतिर लाग्यौ । होटलको काउण्टरमा एक रुपवती युवती थी, मैले सोधे सिस्टर रुम खाली छ ?

खाली छ कस्तो रुम चाहिएको हो सर ?

भन्नाले ?

एटेच हो कि नन्एटेच ?

रुमको कसरी छ ?

सस्तै छ ।

त्यही त कति छ भन्नु न ?

एटेच ६००, नन्एटेच ३०० ।

अलिकति मिलाउनु न ?

यो एकदम मिलाएर नै हो ।

त्यसो भए हामीलाई एक एटेच रुप दिनु भनेर मैले भने ।

हुन्छ भैहाल्छ नि सर अलिकति डिपोजिट गरिदिनु भए हुन्थ्याँे ।

अहिले पाँच सयले हुन्छ नि ?

हुन्छ भैहाल्छ नि सर, लिनुहोस् यो चापी रुम नम्बर १०१ माथिल्लो फ्लोरमा छ ।

चाँपी समातेँ माथिल्लो तलामा गयौँ । कोठा खोलेँ राम्रै रहेछ । दुबैले नुहायौँ एकछिन् आराम गर्यौँ ।

हामी कोठामै थियौँ एक जना भाइ आयो र उसले भन्यो सर खाना खाने हो की ?

खान्छौ ।

कति बेला खानुहुन्छ ?

एक छिनमै,

त्यसो भए खाना लगाउदै गर्छु है सर ।

हुन्छ, लगाउदै गर्नु हामी आइहाल्यौ । त्यसपछि भाइ बाहिर निस्कियो केही छिनमा खिन्त्या र म पनि निस्कियौँ । खाना खान टेवलमा बस्यौँ एकैछिनमा टेवलमा खाना आयो, खाना खादै थियौँ, भाइले सोध्यो खाना कस्तो छ ? राम्रो छ मैले भने अनि दुबैले खाना खाइ सकेर कोठामा गएर बसेका थियौँ फेरि अघिकै भाइ आएर भन्यो सरहरु आज यही बस्ने त होला नि ? यही बस्ने हो, किन र ? रमाइलो गर्ने भए त्यो पनि ब्यवस्था छ हामी कहाँ, चाहिने भए भन्नु होला हातको इसरा गर्दै उसले भन्यो । ए यहाँ यस्तो पनि ब्यबस्था रहेछ ।

छ सर, चाहिए भन्नु होला, भाइको मुखबाट यति सुनेपछि मेरो मानसपलटमा शीलाको चित्र कोरियो मनमनै सोचेँ आज शीलाको कोख पाइने भो मनमा काउकुति जाग्यो अनि भने भन्नु न त भाइ कति पर्ने हो एक रातको ? कतिको चाहियो त्यही अनुसारको ब्यबस्था हुन्छ । कतिसम्म हुन्छ र ? एकै छिन्लाई हो की रातभरी चाहिने हो ? भए त रातभरी राम्रो, कति पर्ने हो र ? धेरै छैन २ हजारदेखि ५ हजारसम्म, दुई हजारमा त्यस्तै मिल्छ पाँचहजार तिर्नु हुन्छ भने कलेजको केटी पाउँछ भन्नुहोस् कुन मिलाई दिऊँ ।

भाइ कलेजको केटी मिलाउनुहोस् अलिकति पैसा पनि मिलाउनुहोस् । होइन सर सबै पैसा लिने भनेको केटीले नै हो, हामीले त खाली कोठा भाडा मात्र लिने हो त्यसो भए दुई हजारवाला मिलाई दिन्छु हुन्न र ? दुई हजारमा कस्ति पाउछन् र भाइ ? दुई हजारमा आइमाई मिल्छन् जसका श्रीमान् विदेश गएका हुन्छन्, त्यसो भए म दुई हजारवाला बोलाइ दिन्छु हुन्न ? हँुदैन भाइ कलेजको केटी नै मिलाउनु, अलिकति पैसा नि मिलाउनु । केटीलाई सोध्छु कतिमा आउछ, कतै आज अन्तैै प्याक छ कि अनि खवर गर्छु हुन्न र ? हुन्छ भाइ । ल म गएँ एक छिनमा खवर गर्छु । ओहो ! कउजु मैले त देश मात्र हो सोच्या यसो अब त याँ पनि यसो हुन्या रैछ खिन्त्याले भन्यो । के छ र भन्नै खिन्त्या पैसा हुन् नपाइन्या, पैसा भया सबथोक पाइनो । मरी लानु के छ भन्नै आज रमाइलो अरु ? नाइ कउजु म त उतै बस्छु हजुर बस यहीँ । के चिन्ता मान्नै म तिरुला पैसा तौखिलाई दुइ हजारवाली बोलाइ दिन्छु । खाली क्याखि अद्दा तेति खर्च, क्या चिन्ता मान्नै यही बस म छनै छु । त्यतिकैमा होटलवाला भाइ आयो के गराँै सर, बोलाऊँ कि नबोलाऊँ ।

भाइ दुइटा बोलाइदेऊ – एक कलेजवाली एक दुइ हजारवाली पैसाचाहिँ मिलाएर भन्नुहोस् । सर दुई हो भने एकदम मिलाएर हो आवश्यक भए भन्नुहोला नभए केही छैन । हुन्छ भाइ बोलाउनुहोस् । ल सर पाँच बजे आइ पुग्छन् । ल ल हुन्छ भाइ । दिउसोको दुई बजेको थियो खिन्त्या र म सामान किन्न बजार निस्कियौ । अँकित टेड्रसबाट घर परिवारका लागि समान किन्यौँ अनि होटलमा फिर्ता भयौँ । साँझको चार बजिसकेको थियो । म समय कुरी बसिरहेको थिएँ वा कलेजवाली । जे भए पनि मेरो मनमा अनेक हलचल मच्चिरहेको थियो । मेरो प्रतीक्षाको समय पनि नजिकै आई सकेको थियो ।

होटलको काउण्टरमा गएँ भाइलाई भने “पाँच त बज्यो त ?” ए है एकै छिनमा सर, म कोठामै पठाई दिन्छु । सरको कोठा नं. १०१ र १०२ त हो नि ? हो १०१ कोठामा कलेजवाली हो है कतै फरक पर्ला । पर्दैन सर चिन्ता नगर्नुहोस् । हुन्छ भाइ हामी कोठामै छौँ, अनेक कुरा खेलाउँदै कोठामा बसेको थिएँ एकै छिनपछि ढोका ढकढक्याएको आवाज आयो ढोकाको चुकुल खोलेँ, एक रुपवती सुन्दरीको आगमन भो । कोठामा आएर बेडमा बसी, म एकछिन् एकोहोरो भएँ, उसको रुप, बसेँ देखेर । मनले उसँग धेरै कुरा गर्न भनिरहेको थियो तर जिब्रोले शब्द व्यक्त गर्न सकिरहेको थिएन । तै पनि उसको समीपमै गएर बसेँ। उसले मेरो पिठिउमा हात राखेर भनी, “वा ! क्या हेन्सम्” । एउटा अपरिचित स्त्रीले पहिलो भेटमै पिठिउँमा थम थम्याउँदा मनमा केही संकोच र त्योभन्दा बढी आश्चर्य चकित तुल्यायो । मेरा नजरहरु उसको मुखाकृतिलाई नियाली रहेका थिए ।

चञ्चल मनसँगै उद्येश्य बिचलित भएर कोठाको घुमिरहेको पँखाभन्दा तीव्र गतिमा घुमिरहेको थियो मन । बलिरहेको बक्तीभन्दा दोब्बर चमक थियो उनको अनुहारमा र भित्तामा टासिएका तस्बिरहरुसँग अतुलनीय थियो उनको आकृति । उनलाई सौन्दर्यले सज्जित पुज्यमूर्तिका रुपमा र आवजहीन मानिसलाई दिइने उपमाको मूर्तिका रुपमा आफूलाई उभ्याएँ । मन बाडिन थाल्यो रुखका हाँगाहाँगा र पात पातहरुमा तर जमिनमा जरा गाडिएर उभिएको काण्डजस्तै शरीर हलनचल । म मा यौन उत्तेजनाको अन्ध आवेग मन्द भई सकेको थियो । उनको सुकोमल अनुहार र उमेर मैले आफ्नै बहिनीभन्दा फरक पाएनँ । दिदीबहिनीहरुलाई देवीको रुपमा सम्मान गर्ने समाजमा हुर्केको मान्छे म । अघिको म हराएँ उनले देखाएको व्यवहार आफ्नै भाउजूको जस्तो पाएँ । मनमनै आफैले आफैलाई धिकारेँ । उसको सौन्दर्यताले सम्पन्न, अनुहार हेर्दा म आफै शब्दबिहिन भएँ मेरो चित्रकला देखेर उसले प्रश्न गरी “मलाई यहाँ किन बोलाएको ?”

नाजवाफ बस्नु पनि भएन । उत्तर दिने दृढता नभएपछि मैले नि प्रश्न गरे, यो तिम्रो रहर कि बाध्यता ?

जवाफ अलि कडा आयो – तिमिलाई के मतलव ? रहर होस् वा बाध्यता ! आफ्नो उद्येश्य पूरा गर्नुहोस् ।

मेरो उद्येश्य भनेकै यही जान्नु हो । के उद्येश्य पूरा हुन्छ ?

यसले तिम्रो उद्येश्य पूरा होला मेरो हँुदैन ।

तिम्रो उद्येश्य के ?

पैसा !

ओहो ! पैसा यस्तो पो रहेछ । म भएर पुगेँ, ऊ नभएर पुगी । पैसादेखि आफैलाई घृणा लाग्न थाल्यो । सुनेको थिएँ पैसाकै लागि दाजुभाइ बीच फाटो आएको, आफ्नै छोराले आफ्नै बाउको हत्या गरेको र समाजमा भइरहेका तमामौ घटनाका कहानी । प्रश्न गरेँ – इज्जतको डर लागेन ?

उसले नम्र स्वभावमा भनी, “इज्जतकै डर लागेर त यहाँ आए । पढेँ, सर्टिफिकेटले जागिरीका लागि योग्य पनि भए, तर दुर्भाग्य ! आमा बुवाको उमेर ढल्कदै गयो जीवनलाई जागिरीले छोएन । जागिरीको लागि प्रयास नगरेको होइन । नेपालमा जन्मिनु र आफ्नो सोर्सफोर्स नहुनु एक मात्रै कारण रहेछ आफू यस्तो हुनुको । मैले अरु जसरी सडकमा मागेर गुजरा गर्न सकिनँ, सडकमा नाङ्गिनु भन्दा कोठा भित्रै नाङ्गिनु इज्जत ठानेँ । बुढा आमा बुवाको पेट भोको राख्नुमा सन्तानको इज्जत देखिनँ । त्यसैले यहाँ आएँ । ”

कस्तो बिडम्बना ! हाम्रो देश, हाम्रो समाजको एउटा इज्जत जोगाउनका लागि अर्को बेइज्जत सहनु पर्ने । कोही स्वदेशमै भोगिरहेका छन् कोही विदेशी भूमिमा । सरकारले नागरिकताको प्रमाणपत्र त दियो तर नागरिकले पाउनु पर्ने स्वभिमान, इज्जत र सुरक्षा दिएन । स्वाभिमानका सात कहिले पाइएला पसिना र योग्यताको फल । एउटा सन्तानले आमा बुवा पाल्नैका लागि पैसासँग बैस साट्नु पर्ने । फेरी प्रश्न तेस्र्याए – यसमा आमा बुवाको पनि अनुमति छ र ?

संसार विश्वासले चल्दछ । विश्वास भ्रमबाट पैदा हुन्छ मैले आफ्ना आमा बुवालाई भ्रम पारेकी छु । उहाँको नजरमा म एक असल छोरी नै हुँ । झुट बोलेर भए पनि समाज र आमाबुवाको इज्जत जोगाएकी छु । समाज झुटैझुटले चलेको छ, म पनि त्यसरी नै चलेकी छु । नेताहरुले दिनदिनै झुट बोलेर वाह वाह पाएका छन् । झुटा आश्वाशन र फुर्तीले समाजका अगुवाहरु माला पहिरिन लाज मानिरहेका छैनन् । यहाँ समाज र राष्ट्रलाई ढाट्नेले त इज्जतदार सम्झन्छन् भने मैले आमा बुवा ढाट्दा के फरक पर्यो ।

मैले नबुझेका गुह्य कुराहरु यसरी एकाएक उनको सुललित स्वरमा सुन्दा कुनै एक प्राध्यापकले जीवन पढाएको अनुभूति गरेँ । प्रतिप्रश्न गर्ने तार्किक क्षमता म मा रहेन । सम्झेर भावविभोर भएँ । उनको बेदनासँग आफ्नो मन डुलाएँ । पीडा आफ्नै जस्तै सम्झीएँ । मेरो साथले उनको पीडामा कमी आउँछ भने साथ दिनुमा नै आफ्नो इज्जत ठानेँ । अन्तर्हृदयदेखि आएको स्वर डरैडरले उनी सामु प्रस्तुत गरेँ । –आज एक रात होइन, तिमिलाई स्वीकार्य छ भने हरेक रात तिमिसँगै जीउन चाहन्छु । के मञ्जुर छौ ? बत्तीको उज्यालोले शरीर उज्यालो देखिएला तर मनमा उज्यालो छाउदैन । सूर्यको आलोकले धर्ती आलोकित होला तर जीवन आलोकित हुँदैन । आकाशको कालो बादलले सूर्यलाई छेके पनि प्रकाशलाई छेक्दैन तर मनमा लागेको कालो बादलले न प्रकाश दिन्छ न सुख, केवल रात मात्र । मैले त्यही रातमा साथ दिने कुरा गरेको ।

मेरो कुरा सुनेर, उनले गम्भीर मुन्द्रामा भनिन्, “ आज यो कस्तो कुरा आयो । म यहाँ जति दिन आएँ, जति रात बिताएँ आजसम्म कसैले यस्तो कुरा गरेन । सयौँ राती सयौँ परपुरुषसँग बिताएको कुरा थाहा हुँदाहुदै उसगै जीवन बिताउछु भन्ने ब्याक्ति हाम्रो समाज र संस्कृतीमा जन्मेकै छैन यदि कोही त्यस्तो भन्छ भने, कि त्यो पागल हो कि त्यो ठग हो । के तिमी पागल हौँ ? के तिम्रो इज्जत छैन ?”

मनमनै मैले सोचेँ उसको बुझाइ स्वभाविक हो किनकि ऊ मेरो लागि एक दिनको ग्राहक भएर आएकी थी । मैले उसलाई मालिक बनाउने कुरा गरे जो हाम्रो समाज, संस्कृति विपरीत थियो । समाजको एकोहोरो गोरेटोमा हिड्ने हो भने सम्भव पनि थिएन । तर मैले उनका प्रश्नको जवाफ मैले आफै भित्र खोजेँ । उनी पागल हुन् भने म पनि पागल हुँ । उनको इज्जत छैन भने मेरो पनि इज्जत छैन । फरक यति मात्र हो उनी पैसा नभएर आमा बुवा घर परिवारको भोको पेटका लागि आइन् म भएर रमाइलो लागि आएँ । त्यसैले उनी मभन्दा इज्जतदार छन् । म आफ्नो मलिन मुहारसँगै होटल हनुमान एण्ड लजको बोर्ड हेर्दै बाहिर निस्किएँ ।

Tags :
प्रतिक्रिया दिनुहोस