अवैधरुपमा सुन आयात गर्ने एक अभियुक्तलाई कारागार चलान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अवैधरुपमा सुन आयात गर्ने एक अभियुक्तलाई कारागार चलान


२९ बैशाख २०७४, शुक्रबार


रसुवा । रसुवागढी नाकाबाट अवैधरुपमा सुन आयात गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई पुर्पक्षका लागि शुक्रबार कारागार चलान गरिएको छ ।

रसुवा जिल्ला अदालतका स्रेस्तेदार ढाकाराम पौडेलका अनुसार चीनको केरुङबाट गत चैत ३ गते नेपाल भ्यिाइएको सात किलो सुनसहित टिमुरेमा पक्राउ परेका स्याङ्जा वालिङ घर भई हाल रसुवा जिल्लाको उत्तरगया गाउपालिका–४ मा बसाइँ सरी आएका प्रकाश गैह्रेलाई सङ्गठित अपराध नियन्त्रण ऐन २०७० र भन्सार ऐन २०६४ अन्तर्गत मुद्दा पेस भएकाले जिल्ला न्यायाधीश रामराजा उप्रेतीको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो ।

निज गैह्रेले ल्याएको सुनको मूल्य तीन करोड २० लाख ७० हजार पाँच सय कायम भएको बताइएको छ ।

सुन कारोबारमा दुई चिनियाँ नागरिक पनि रहेको गैह्रेले बयानमा उल्लेख गरेका छन् । सुन आयातमा संलग्न अर्का रसुवा कालिका गाउँपालिका–३ (साबिक धैबुङ गाविस–१ बेतिनी) का ३१ वर्षीय चेतनाथ न्यौपाने फरार रहेकाले निजलाई फरार सूचीमा राखी अभियोगपत्रसहित अदालतमा मुद्दा दायर गरिएको बताउँदै सहायक जिल्ला सरकारी वकिल वासुदेव लम्सालले यसअघि पनि दुई किलो सुन पार गरिसकेको गैह्रेको बयानबाट खुलेको जानकारी दिए ।

लम्सालका अनुसार सङ्गठित अपराधअन्तर्गत अभियुक्त दुवैलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना एवम् भन्सार ऐनअन्तर्गत पनि थप एक वर्षदेखि तीन वर्षसम्म कैदको माग दाबी गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस