मौन अवधिमा सामाजिक सञ्जालः सिर्जनात्मक प्रयोगदेखि दुरुपयोगसम्म « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मौन अवधिमा सामाजिक सञ्जालः सिर्जनात्मक प्रयोगदेखि दुरुपयोगसम्म


२९ बैशाख २०७४, शुक्रबार


काठमाडौँ । “बीउ छरे पो अन्न पलाउँछ, केही नछरे झार पलाएर हैरान बनाउँछ । आफै विचार गर्नुस् भोट दिएर आशा जीवित राख्ने कि भोट नदिई झारलाई गालीमात्र गर्ने ?”

सामाजिक सञ्जाल ट्विटरमा व्यक्त निश्चल बस्नेतको यो पोस्टलाई काठमाडौँ महानगरपालिकाका प्रमुखका उम्मेदवार रञ्जु दर्शनाले सेयर गरेपछि तत्कालै क्रिया प्रतिक्रिया सुरु भयो । निर्वाचन, लोकतन्त्र, पार्टी, नेता र जनताका सपनादेखि विगतमा कुन दलले कस्तो काम गरे भन्नेबारे मत अभिमतको सवाल जवाफ अहिले सामाजिक सञ्जालमा यो वा त्यो रुपमा चलिरहेको छ ।

युवा उम्मेदवार भएका कारण पनि विवेकशील नेपालका दर्शनालाई सामाजिक सञ्जालमा पछ्याउने धेरै छन् । मौन अवधि सुरु भएपछि चलाइएको बहसमा ठूला दल र तिनका नेताका कारण देश उँभो नलागेको गुनासा अभिव्यक्त भएका छन् । स्थानीय निर्वाचनको प्रचार नगर्न मौन अवधि लागू भएपछि प्रत्यक्ष मत माग्ने काम नभए पनि अप्रत्यक्ष रुपमा आफूले समर्थन गरेको दल र उम्मेदवारका पक्षमा जनमत तान्ने प्रयास जारी छ । प्रत्यक्ष रुपमा घरदैलो गरेर प्रचारप्रसारमा रोक लागे पनि सामाजिक सञ्जाल र अन्य प्रयोगबाट मतदाताको मन जित्ने प्रयासलाई सम्भवतः निर्वाचन आयोगको अनुगमनले पनि नदेखेझैँ गरिदिएको छ ।

त्यसो त मौन अवधिमा केही भन्न नपाइने वा सामाजिक सञ्जाललाई पनि पूरै नियन्त्रण गर्न खोज्ने विषय सम्भव हुँदैन । पत्रकार भुवन केसीले फेसबुकमा भने झैँ “मौन अवधि भनेको थर्कमानको अवधि होइन ।” यही अवधिलाई सामाजिक सञ्जालमा सिर्जनात्मक सदुपयोग गर्ने काम पनि भइरहेको छ भने दल र नेताहरुबीच आरोप प्रत्यारोप पनि चलिरहेको छ ।

यही वैशाख ३१ गते तीनवटा प्रदेशमा हुने स्थानीय तहको निर्वाचनका लागि जुलुस, सभा र प्रचारप्रसारका लागि गएराति १२ बजेदेखि निर्वाचन आचारसंहिता बमोजिम मौन अवधि सुरु हुने भएकाले प्रचारप्रसारमा रोक लगाइएको छ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले आज दिउँसो “मौन अवधिमा पनि घाम त लागिरहँदो रहेछ १ जय सूर्यदेव, जय सूर्यमुखी ।” भन्ने पोस्ट गरेर अप्रत्यक्ष रुपमा आफ्नो पार्टीको निर्वाचन चिह्नको प्रचार गरे । यसलाई जवाफ दिने प्रकारले नेपाली काँग्रेसका युवा नेत्री प्रतिमा गौतमले “मौन अवधिमा पनि शीतल हावा चलिरहेछ । रुख नभए शीतलता कहाँ होला र ? रुख जीवन हो, जीवन रुख हो……… हामीले बुझ्न जरुरी छ ।” यो पोस्टलाई नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष डिल्लीराम सुवेदीले तत्काल सेयर गरेर अरुमाझ पु¥याए ।

नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगरपालिकाका प्रमुखका उम्मेदवार सर्वोत्तम डङ्गोलले आफ्नो फ्यान पेजमा एक अनलाइनमा प्रकाशित आफू अब्बल उम्मेदवार भएको अन्तर्वार्तालाई मौन अवधिमै सेयर गरेका छन् ।

सामाजिक सञ्जाललाई नियमित अवलोकन गरिरहेका पत्रकारिताका अध्येता केसीका विचारमा “सोसल मिडियामा आचारसंहिता लागू गराउनु आफैँमा विवादास्पद छ । यसमा विश्वका जुनसुकै स्थानबाट पनि सामग्री राख्न सकिन्छ । स्थानीय तहको निर्वाचन नेपालको तीनवटा प्रदेशमा मात्र हुँदैछ । त्यो क्षेत्रभन्दा बाहिरबाट सोसल मिडियामा प्रचार गरे र मत मागे भने त्यसलाई नियन्त्रण गर्ने संयन्त्र पनि छैन । त्यो कुरा व्यावहारिक हुँदैन ।”

केसी भन्छन्– “निर्वाचन आयोगको आचारसंहितालाई मान्ने नै हो भने पनि मौन अवधिमा कुनै पार्टी वा उम्मेदवारको पक्ष र विपक्षमा प्रचार गर्नुलाई राम्रो मानिँदैन । तर व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न मिल्दैन ।”

Tags :
प्रतिक्रिया दिनुहोस