कोहलपुरबाट छ महिलाको उद्धार « प्रशासन
prasaLogo
२४ बैशाख २०७४, आईतवार

कोहलपुरबाट छ महिलाको उद्धार


प्रकाशित मिति : 7 May, 2017 6:36 pm

बाँके । भारतीय नाका हुँदै विभिन्न अरब देशमा लैजान लागेका छ जना महिलालाई बाँकेको कोहलपुरबाट प्रहरीले उद्धार गरेको छ ।

भारतको बाटो हुँदै राम्रो काम लगाइदिने बहाना र प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यका साथ बाँके, दाङ, सुर्खेत, बुटवलका गरी छ जना महिलालाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इप्रका कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार देशका विभिन्न क्षेत्रबाट अनेक प्रलोभन दिएर भारतीय बाटो हुँदै अरब देशमा पठाउने योजनाका साथ कोहलपुरको बसपार्क, ढकेरी र जीगाउँमा राखिएका महिलालाई उद्धार गरिएको हो ।

प्रहरीले अवैध रुपमा खाडी मुलुकमा पठाउने कार्यमा संलग्न तीन जना एजेन्टलाई प्रक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ परेकाविरुद्ध जिल्ला अदालत बाँकेमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध मुद्दा दर्ता गरिएको छ । प्रहरीले प्रक्राउ परेका व्यक्ति र उद्धार गरिएका महिलाको नाम भने खुलाएको छैन ।

यस घटनामा ठूलै गिरोह संलग्न रहेकाले थप अनुसन्धान जारी रहेको इप्रका कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस