बाजुराबाट लाखौँको खोटो निर्यात « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बाजुराबाट लाखौँको खोटो निर्यात


२४ बैशाख २०७४, आइतबार


बाजुरा । बाजुराका विभिन्न सामुदायिक वनबाट बर्सेनि सल्लाका रुखबाट खोटो सङ्कलन गर्दै निर्यात हुने गरेको छ ।

सामुदायिक वनमा प्रशस्त रुपमा सल्लाका बोट पाइने भएकाले खोटो सङ्कलन गर्दै निर्यात हुने गरेको जिल्ला वन कार्यालय, बाजुराका निमित्त वन अधिकृत मनकुमार छन्त्यालले बताए ।

बडिमालिका नगरपालिकामा रहेका १६ सामुदायिक वन र गौमुल गाउँपालिकामा रहेको एक सामुदायिक वनबाट प्रत्येक वर्ष दुई कम्पनीले खोटो सङ्कलन गरेर लैजाने गरेको बताइएको छ । खोटो सङ्कलनका लागि मनकामना रोजिन क्यामिकल उद्योग प्रालि र हिउँचुली कम्पनीलाई सङ्कलन अनुमति दिइएको छन्त्यालले बताए ।

सामुदायिक वनमा रहेका प्रतिरुखबाट चार किलो खोटो सङ्कलन गर्न पाउने प्रावधान रहेको छ ।

खोटो सङ्कलनका लागि मनकामना रोजिन क्यामिकल उद्योग प्रालि नेपालगन्जलाई १० वटा सामुदायिक वन र हिउँचुली उद्योग कम्पनीलाई सातवटा सामुदायिक वनबाट खोटो सङ्कलन गर्न अनुमति दिइएको जिल्ला वन कार्यालयका रेञ्जर विशालकुमार लामाले जानकारी दिए ।

खोटो सङ्कलन चैतदेखि कात्तिकसम्म मात्र गर्न पाउने लामाले बताए । मनकामनाले एक हजार ३८० माउ रुख र ३६ हजार ६८४ अन्य रुख गरी ३८ हजार ६४ वटा सल्लाका रुखबाट खोटो सङ्कलन गरिएको छ ।

खोटो सङ्कलनका लागि चार हजार ८९० मुख्य रुख र ५० हजार ५२९ गरी ५५ हजार ४१९ रुखबाट खोटो सङ्कलन गर्नका लागि हिउँचुली कम्पनीलाई अनुमतिपत्र दिइएको छ ।

हिउँचुलीले २१४ दशमलव ७० बढी किलो खोटो सङ्कलन गरिएको कम्पनीले जनाएको छ । खोटो सङ्कलनका लागि मनकामना रोजिन उद्योगले ३६ हजार ६८४ योग्य रुखबाट एक लाख ४६ हजार ७३६ किलो खोटो सङ्कलन गरी निर्यातका लागि अनुमतिपत्र दिइएको कम्पनीका भीमप्रसाद पौडेलले बताए ।

खोटो सङ्कलनपछि नेपालगन्ज निर्यात हुने भएको छ । खोटो सङ्कलनपछि कार्पेन तेल बनाएर रङ्गमा मिसाउन प्रयोग गरिने पौडेलको भनाइ छ । बर्सेनि बाजुराबाट एक लाख ४६ हजार ९५० दशमलव ७० किलो सङ्कलन भई जिल्ला बाहिर निर्यात हुने गरेको जिल्ला वन कार्यालय, बाजुराले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस