नेताबाट वाचाअनुसारको काम चाहन्छन् मुसहरहरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेताबाट वाचाअनुसारको काम चाहन्छन् मुसहरहरु


२२ बैशाख २०७४, शुक्रबार


चितवन । बिहीबार १० बजेतिर रत्ननगर नगरपालिका वडा नम्बर ८ मा रहेको मुसहर वस्तीमा पुग्दा खेसरीलाल मुसहर ब्रसले दाँत माझ्दै थिए । कोही आफ्नो घर अगाडि बाटोमा छरिएको गिटी बालुवा सम्याउँदै थिए । कोही नयाँ घर बनाउँदै पनि थिए त कसैको भान्छामा खाना पाक्दै थियो ।

हालखबर सोध्ने बित्तिकै खेसरीलालले प्रतिप्रश्न गरे, “सूचना लिन धेरै आए । खै हामीलाई के भो र ? अहिले दिएर के हुन्छ ? हामीले के पाउँछ ?” उनी आक्रोश पोखेर घरभित्र छिरे । बलिराम र बास्मतीसँग कुरा हुँदै थियो । खाना खाएर एकछिनमा निस्किए खेसरीलाल । मेरो आग्रहमा बातचित गर्न राजी भए ।

“चुनाव आउँछ नि, नेताहरु भन्छन् यो गर्छु भनेर, कुर्सीमा जब मासु भात खान थालेपछि त्यो नुन खुर्सानी हेर्छ कि हेर्दैन नि, अनि हामी सानोलाई के हेर्नु,” खेसरीलालले विगत सम्झँदै भने ।

खेसरीलालसँगको कुराकानी सुरु भएपछि वरिपरिका मुसहरहरु झुम्मिन थाले । बोलेको कुरा पुर्याइदिए त हुन्थ्यो भन्ने उनीहरुको सामूहिक भावना थियो ।

गुम्सिएको पीडा पोख्दै खेसरीलालले भने– “भोटको आशमा आउँछन्, म यस्तो गर्दिन्छु भन्छ । मेरो भनाइ एउटै छ पहिले गरेर देखाउ । अहिले नमस्कार आफैं गर्न आउँछ, जितेपछि हामीले नमस्कार गर्यो भने हातै उठाउँदैन, भेट्न गयो भेट्दैन ।”

यो पीडा खेसरीलालको मात्रै होइन । बलिराम, महिला अगुवा बास्मती, छिमेकी गाउँ मालपुरका अक्कल बहादुर र भगन्तिया मुसहरको गुनासो पनि यस्तै छ । गाउँको विकासमा कुनै दलले वास्ता गरेनन् । उनीहरु आफैंले पहल गरे । नगरपालिकाबाट बजेट ल्याए । केही गैरसरकारी संस्थालाई गुहारे र गाउँको विकासमा जुटे ।

चुनावको रौनक मुसहर वस्तीमा एकदमै धेरै छ यसपालि । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका उम्मेदवार यहाँ भोट माग्न आइसकेका छन् ।

“हामीलाई भोट दिनुस्, तपाईहरुको समस्या हेर्दिन्छम् भनेका छन्,” बलिरामले भने– “अधुरो ढल पूरा गर्नुप¥यो भनेका छौं । खाने पानीको समस्या छ, वस्ती व्यवस्थापन अधुरो छ भनेका छौं ।”

अहिले रत्ननगरको चित्रसारीमा रहेको २४ घरधुरीको मुहार फेरिन लागेको छ । पुरानो थोत्रो एउटै कोठा भएको घर विस्थापित गरी सबै नयाँ घर बनाउँदै छन् । “के गर्ने नेताले हेरेनन्, आफैंले गर्नुपर्यो नि,” बास्मतीले भनिन् ।

नेताहरु जिते पछि काम गर्ने वाचासहित भोट मागेर फर्किएका छन् मुसहर वस्तीबाट । जिताउन त जिताउने, जिताइसकेपछि मुखै देखाउन नआउने भएकाले भोट दिएको पनि अर्थ लाग्दैन भन्छन् उनीहरु । अघिल्लो चुनावमा जितेर गएपछि नेताले मुखै देखाउन नआएको भन्दै बलिरामले दुखेसो पोखे ।

मुसहर समुदायबाट दुई उम्मेदवार

यसपालि पहिलो पटक रत्ननगरकै दुईजना मुसहर महिला उम्मेदवार बनेका छन् । रत्ननगर वडा नम्बर ८ को वडा सदस्यमा दलित महिलाबाट बास्मती मुसहर र रत्ननगर वडा नम्बर ७ बाट दलित महिला वडा सदस्यमा भगन्तिया माझी मुसहर चुनावी मैदानमा छन् । वास्मती माओवादी केन्द्रबाट र भगन्तिया नेपाली काँग्रेसबाट उठेकी हुन् । उनीहरुको सामूहिक प्रतिबद्धता चाहिँ जिते पनि विकास गर्ने र नजिते पनि विकास गर्ने छ । अन्य नेताहरु जिते मात्रै काम गर्छु भन्छन् । उनीहरु भने हारे पनि चुप लागेर नबस्ने बताउँछन् ।

मुसहरहरु बजेटबाट वञ्चित भएको भन्दै बास्मतीले वडाका सबैलाई समेटेर अघि बढ्ने बताइन् । उनी भोट माग्न गाउँगाउँमा गएकी छिन् । “प्रायः गाउँटोल भित्रका सबैले भोट दिन्छु भन्या छ, माग धेरै कसैले राखेको छैन,” उनले भनिन् ।

उनीसँग धेरै ठूलो माग छैन, मतदाताको । एक ठाउँमा तटबन्धन आवश्यक छ रे ठकुरी टोलमा । दुई वटा बिजुलीको खम्बा र दुई लाइन तार विस्तार गर्ने अर्को माग पनि छ । थारु टोलमा पनि खम्बा र तारको माग आएको छ । बास्मती आश्वस्त पार्दै भन्छिन्– “म जिते नि नजिते नि काम हुन्छ ।”

भगन्तिया पनि भोट माग्न गाउँटोलमा खटिएकी छिन् । सबैले साथ दिन्छु भनेको उनले बताइन् । “चुनाव धेरै लाग्या छ, मलाई जितायो भने साथ दिन्छु, म पनि बजेट माग्छु नि सरकारसँग,” नजिते पनि समुदायको काममा लाग्ने उनले सुनाइन् ।

विदेशीले हेर्छ, नेताले हेर्दैन

“यो घर खैरेले बनाएको हो, कोही नेताले बनाएको हैन, कुनै नेताले काम गर्दैन, गरेपनि त्यही खैरेले गर्छ होला,” अक्कलबहादुर मुसहरले खुलेर भने ।

खैरे भनेको तेस्रो मुलुकबाट आएका व्यक्ति हुन् । उनीहरुको घर एक दशक अघि विदेशीको सहयोगमा बनेको थियो । रत्ननगरको चित्रसारीमा रहेको २४ घर पनि २०६० सालमा विदेशी सहयोगमा बनेका हुन् । उनीहरुलाई खोलाको बगरबाट उठाएर सात धुर जग्गामा घर बनाएर राखिएको हो । अहिले यो गाउँमा ४० मतदाता छन् ।

रत्ननगर नगरपालिका वडा नम्बर ७ मालपुरमा छ अर्को मुसहर वस्ती । यहाँ ३७ घर छन् । पचासभन्दा बढी मतदाता भएको बताउने उनीहरु यकिन सङ्ख्या भन्न सक्तैनन् । उनीहरुको घर पनि विदेशीकै सहयोगमा बनेको हो ।
“गाउँमा समस्या धेरै छ, सबैको जस्ता भत्किएर पानी चुहिन्छ, नेताहरुले अघिल्लो चुनावमा पनि बनाउँछु भनेका थिए तर हेरेन,“ उम्मेदवारलाई देखाउँदै अक्कलले भने । उनको भनाइमा बोल्न नजान्ने अरु मुसहरहरु हो मा हो मिलाउँदै थिए । जिल्लाको कठार, माडी रत्ननगर, साझापुरमा पनि मुसहरको वस्ती छ । उनीहरु सबै ज्याला मजदुरी, माछा मारने, डुङ्गा चलाउने काम गरेर जीविका चलाउँछन् ।

एउटै कोठामा स–परिवार सुत्न बाध्य

सहर बजारमा घर परिवारका हरेक सदस्यका फरक फरक कोठा हुन्छन् । विलासिताको जीवन हुन्छ । तर यहाँका मुसहरहरु एउटै कोठामा बस्न बाध्य छन् । पत्याउने गाह्रो छ ।

छोरा बुहारी, सासु ससुरा, छोरी सबैका लागि एउटै कोठा छ । एउटै कोठामा सबै परिवारको जिन्दगी कति सकस होला अनुमान गर्नै गाह्रो छ । दशकौंदेखि यसैगरी दिन बिताउँदै छन्, उनीहरु ।

जिल्ला तथ्याङ्क कार्यालय चितवनका अनुसार चितवनमा मुसहरको जनसङ्ख्या ४२८ छ । वि.सं. २०६८ को जनगणनामा २२९ जना महिला र १९९ जना पुरुष मुसहर थिए । चितवनको रत्ननगर, कठार, पश्चिम चितवनको साझापुर, माडी लगायत क्षेत्रमा उनीहरुको बसोबास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस