परराष्ट्रनीति, आर्थिक कूटनीति र विकास « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

परराष्ट्रनीति, आर्थिक कूटनीति र विकास


८ बैशाख २०७४, शुक्रबार


ललितपुर । मुलुकको परराष्ट्रनीति, आर्थिक कूटनीति सञ्चालन र विकास बहसका विषयबाहेक तिनलाई व्यवहारमा अनुवाद गर्ने इमान्दार प्रयास नहुनु राष्ट्रका निम्ति दुर्भाग्य भएको टिप्पणी कूटनीतिक एवम् आर्थिक क्षेत्रका जानकारहरूले गरेका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्ले शुक्रवार आयोजना गरेको ‘नेपालको परराष्ट्र नीति, आर्थिक कूटनीति र विकास’ विषयक कार्यक्रममा उनीहरूले राजनीतिक स्थायित्व र राष्ट्रप्रतिको बेवास्ताका कारण त्यस्तो अवस्था आएको बताए ।

नेपालको समग्र विकासका ढाँचा, आवधिक योजना, आर्थिक कूटनीतिको प्रभावकारी सञ्चालन र आर्थिक उन्नयनका नीति र कार्यक्रम प्रचुर मात्रामा तर्जुमा गरिएका भए पनि तिनको इमानदारीपूर्वक कार्यान्वयन नहुँदा मुलुक अत्यन्त कमजोर बनेको उनीहरूको कथन थियो ।

प्रत्यक्ष वैदेशिक लगानी, संयुक्त लगानीमा कलकारखानाको स्थापना, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन, मुलुकमा उपलब्ध प्राकृतिक स्रोत र साधनको उपयोगका निम्ति कुशल ढङ्गले आर्थिक कूटनीति सञ्चालन हुन नसक्दा वैदेशिक सीप, ज्ञान र प्रविधिसहितको सहायता मुलुकलाई प्राप्त नभएको उनीहरूले बताए ।

पूर्व अर्थ एवम् परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले मुलुकको अर्थतन्त्र विप्रेषणले धानेको र त्यो दिगो नहुने बताउँदै तुलनात्मक लाभका क्षेत्र र वस्तुको आधिकारिक उपयोग गरी व्यापार विस्तार एवम् बजारीकरण बढाउनुपर्ने सुझाव दिए ।

दलीय स्वार्थका कारण देशको विकास रसातलमा पुगेको टिप्पणी गर्दैं उहाँले मुलुकको विकास, परराष्ट्रनीति सञ्चालन, आर्थिक क्षेत्रको समृद्धिलगायत राष्ट्र निर्माणका लागि पारित योजना, नीति र ऐन– कानुन कार्यान्वयन नभएसम्म विकास असम्भव हुने बताए ।

अर्का पूर्व अर्थ एवम् परराष्ट्रमन्त्री प्रकाशशरण महतले सूचना प्रविधि र ज्ञानको वर्तमान प्रविधिमा प्राकृतिक स्रोत र साधनको उपयोगमा तिनको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै सुशासनमा केन्द्रित नभएसम्म आर्थिक विकास, आर्थिक कूटनीति सञ्चालन र सुझबुझपूर्ण परराष्ट्रनीतिको कुनै अर्थ नहुने बताए ।

उनले दक्षिण एसियाली देशको प्राथमिकता राजनीति भएकाले यस क्षेत्रको विकास हुन नसकेको अर्थतन्त्रलाई सधैँ बढावा दिँदै आएका दक्षिण पूर्वी एसियाली देशले प्रगति हासिल गरेका दृष्टान्त प्रस्तुत गरे ।

अर्थशास्त्री प्राध्यापक विश्वम्भर प्याकु¥यालले परराष्ट्रनीति र आर्थिक कूटनीतिमा सामन्जस्य कायम हुन नसकेमा अर्थतन्त्र प्रभावित हुने तर्क गर्दै जलविद्युत् उत्पादनमा विदेशी लगानी भित्र्याउन आर्थिक कूटनीतिको प्रभावकारी सञ्चालनमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस