भारत । तीब्र गतिमा गुडेको रेल लिक बाहिर जाँदा भएको दुर्घटनामा बिहीबार कम्तिमा ३६ जना यात्रु घाइते भएको भारतीय अधिकारीले बताएका छन् ।
घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको भए पनि भाग्यवस घटनास्थलमा कसैको मृत्यु भने नभएको प्रहरीले बताएको छ ।
बिहीबार बिहानै २ः३० बजे जवालपुर–निजामुद्दिन महाकौशल एक्सप्रेस उत्तर प्रवेदको राजधानी लखनउबाट २७० किलोमिटर टाढा महोवा जिल्लाको कुल पहाड रेल वे स्टेसनमा दुर्घटनाग्रस्त भएको थियो ।
घाइते सबैलाई स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । घटनास्थलमा स्थानीय टेलिभिजनकर्मी पुगी पठाएका दृश्यचित्रमा भारतीय राष्ट्रिय रक्षा सुरक्षा बलका अधिकारी पुगी घाइतेहरुलाई उद्धार गरेको देखाइएको छ ।
उत्तर प्रदेशका नवनिर्वाचित मुख्यमन्त्रीले स्वास्थ्यमन्त्रीलाई घटनास्थल पुगी उद्धार कार्यको निरीक्षण गर्न निर्देशन दिएका छन् । घटनाबारे छानबिन गर्न अनुसन्धान समिति गठन गर्ने मुख्यमन्त्रीले निर्देशन दिएका छन् । रासस/सिन्ह्वा