म छापामार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

म छापामार


५ चैत्र २०७३, शनिबार


क्रान्तिको उदयसँगै उदाएको म छापामार
रातो र तातो रगत सँगै दौडी
हसिया हथौडा काँधमा बोकी
उकाली तिर लागेको
तर,

तर, त्यो उकाली नै पैरो गई
झर्नथाले पछि
ओरालो लागेको मृग जस्तै भौंतारिदै
गन्तव्य खोज्दा खोज्दै
पहरामा हराउन पो पुगेछु

कति निर्दोषहरु मारे
कति संरचनाहरु झारे
कति आमाका काख रित्तिए
कति बहिनीको सिउँदो पुछियो
कति बुवाका आँशु झारियो
कति वस्तीहरु अन्तै सारियो

ति आमाका आँशु
निर्दोषीका रगतले
निथरुक्क भिजेको म
मेरो कुनै मूल्य रहेन

कति मेरा लाश गिद्धका आहार बने
कति स्याललाई बहार बने
तर मेरी अभागी आमाले
मेरो हड्डीसम्म चुम्न पाइनन्

उनी कति छट्पटाइन् होला
पानी विनाको माछा झैं भटभटाइन् होला

कुशको पुत्ला बनाउँदै
मृत्युशैयामा सुताउँदै
आगो दिन मसानघाट पुगेको
मेरो छोरो
अचम्म मान्दै टोलाइ रह्यो
बुवा बुवा भन्दै वोलाइ रह्यो
क्रान्तिको पहाड बोकी गएको बुवा
कुशको लाश बनेरपो आएछ
सायद, क्रान्तिले
मानिसलाई कुश बनाउँदो रहेछ
उ पनि दोधारमा थियो
बुवा कस्तो हुन्छ भनेस्
सन्तानको इच्छा
श्रीमतीको इच्छा
श्रीमतीको चोट
आमाको पीडा
बुझ्न सकिन हुला
क्रान्तिमा होमिएको बेला

आज,
त्यो कुशको पुत्ला माथि पनि
रजाइँगरी खानेहरु
मेरो रगत खाएर नअघाएका भोकाहरु
मेरो सन्तानको
भविष्य माथि पेट्रोल छरिरहेछन्

म जिउँदो भए पनि
यस संसारमा नरहे पनि
यस धर्तीको माटोले
आमाका आँशुले
धिक्कारी रहने छ मेरो क्रान्तिलाई
पछुतोको आगोमा जलेको
मेरो आत्मा
नेपाल आमाका व्यथासँग सधैं रोइरहने छ
सधै जलिरहने छ
सधै बली रहने छु म छापामार

Tags :
प्रतिक्रिया दिनुहोस