सप्तरीको राजविराजमा प्रहरी र मोर्चाका कार्यकर्तावीच झडप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सप्तरीको राजविराजमा प्रहरी र मोर्चाका कार्यकर्तावीच झडप


प्रशासन संवाददाता

२३ फाल्गुन २०७३, सोमबार


राजविराज । नेकपा एमालेको मेची–महाकाली जागरण अभियान अन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको जनसभा बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता नियन्त्रण क्रममा गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी मलेठ–२ का २३ वर्षीय सञ्जन मेहता, जोलहरी मलेठ–४ का ५० वर्षीय पीताम्बरलाल मण्डल र प्रस्वनी गाविस घर भई राजविराज–९ मा बस्दै आएका ३४ वर्षीय आनन्द साह रहेका छन् । मेहताको घटनास्थलमै तथा मण्डल र साहको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलका अनुसार प्रहरीको गोली लागेर घाइते भएका अन्य सात जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको पेटमा गोली लागेको बताइएको छ । प्रहरीको गोली लागेर दीगम्बर यादव, दिलीप यादव, सुरेन्द्र मण्डल, प्रमोद मण्डल, जितेन्द्र साह, इन्द्र नारायण साह र वीरेन्द्र महतो गम्भीर घाइते भएका छन् ।

औद्योगिक क्षेत्रमा गरिएको आमसभा बिथोल्न ठूलो सङ्ख्यामा मोर्चा कार्यकर्ता पुगेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको प्रशासनले जनाएको छ । मोर्चाका कार्यकर्तालाई रोक्न प्रहरीले ठूलो सङ्ख्यामा हवाई फायर गरेको थियो । साथै सयौँ राउण्ड अश्रुग्यास पनि प्रहार गरेको थियो ।

मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिन र सभास्थलको सुरक्षाका लागि प्रहरीले गोली चलाउनु परेको सप्तरीका प्रजिअ उद्धव तिमल्सिनाले बताए ।

औद्योगिक क्षेत्रमा एमालेको सभा सुरु नहुदै पुगेका मोर्चाका कार्यकर्ता एमाले अध्यक्ष केपी शर्मा ओलीले भाषण गर्न थालेपछि थप उत्तेजित भएका थिए । त्यसअघि नेता माधवकुमार नेपाल, लालबाबु यादव, सत्यनारायण मण्डललगायतले सम्बोधन गरेका थिए । स्थिति तनावग्रस्त भएपछि प्रहरीले कडा सुरक्षाबीच ओलीसहितका शीर्ष नेतालाई सुरक्षित स्थानतर्फ लगेको थियो ।

यसअघि एमालेका कार्यकर्ताको सभास्थल अगाडि सडकमा राखिएको एमालेको झण्डासहितको मोटरसाइकललाई आगजानी गरेका थिए । त्यस्तै मोर्चाका कार्यकर्ताले एमाले कार्यकर्ता चढेका गाडीमाथि समेत तोडफोड गरेका थिए ।

यसैबीच, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सप्तरी घटनाको विरोधमा सोमवार साँझ सिरहाको गोलबजारमा विआर ५१ ए ४०१३ नं को भारतीय ट्रकमा आगजनी गर्नुका साथै दर्जनभन्दा बढी सवारी साधनहरुमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

सो क्रममा आधा दर्जन भन्दा बढी यात्रुसमेत घाइते भएको र घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको इप्रका गोलबजारले जनाएको छ । अहिले मोर्चाका नेता कार्यकर्ताले टायर बालेर सडक अवरुद्ध पार्दै प्रदर्शन गरिरहेका छन् । यस्तै मोर्चाका कार्यकर्ताहरुले लहान र मिर्चैयामा पनि प्रर्दशन गरेका छन् ।

त्यस्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरी घटनाको विरोधमा दुई दिन धनुषा बन्दको घोषणा गरेका छन् । आज जनकपुरमा बसेको मोर्चाको आकस्मिक बैठकले मङ्गलबार र बुधबार धनुषा बन्दको घोषणा गरेको मधेसी मोर्चा धनुषाका अध्यक्ष सतिशचन्द्र लाल दासले बताए ।

यसैगरी सप्तरी घटनाको विरोधमा मोर्चाका कार्यकर्ताले पर्साका विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । मोर्चाका नेता कार्यकर्ताले वीरगन्जको घण्टाघर चोक, मुर्ली चोक, पावरहाउस चोक, नगवा, छपकैया चोक, इनर्वा चोकलगायत स्थानमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस