युद्धस्तरमा निर्वाचनको तयारी हुँदैः निर्वाचन आयोग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

युद्धस्तरमा निर्वाचनको तयारी हुँदैः निर्वाचन आयोग


प्रशासन संवाददाता

१६ फाल्गुन २०७३, सोमबार


काठमाडौँ। झन्डै दुई दशकपछि आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी युद्धस्तरमा भइरहेको छ ।

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले दिनरात र बिदासमेत नभनी निर्वाचन सफलरुपमा सम्पन्न गर्न काम गरिरहेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए।

आयोगस्थित आफ्नै कार्यकक्षमा कुरा गर्दै सचिव मैनालीले निर्वाचनका लागि आवश्यक सामग्री जुटाउने, जनशक्ति व्यवस्थापन गर्ने र अन्य तयारी भइरहेको बताए । उनले भने, “मुलुकमा उपलब्ध नभएका सामग्री जस्तै मतपेटिका, कागज, नउड्ने मसी, सिल, छेकावार आदि विगतमा झैँ विदेशबाट आयातका लागि तयारी भइरहेको छ ।” निर्वाचनमा करिब २१ हजार मतदान केन्द्र हुने र त्यसका लागि करिब ९० हजार मतपेटिका आवश्यक पर्ने बताउँदै उहाँले भन्नुभयो, “हाल आयोगसँग ७० हजार मतपेटिका मौज्दात छन् बाँकी अपुग मतपेटिका ल्याउने विभिन्न विकल्पका बारेमा छलफल भइरहेको छ, एक/दुई दिनमा टुङ्गो लाग्छ ।”

नामावली सङ्कलन तथा मिलाउने कार्य अन्तिम चरणमा रहेको बताउँदै सचिव मैनालीले स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन भने आवश्यक सर्त भएको बताए । आयोगले उक्त प्रतिवेदन सरकारलाई तत्काल उपलब्ध गराउन आग्रह गरेको र सरकारले यही साताभित्र उपलब्ध गराउने आश्वासन दिएको उनले जानकारी दिए ।
यसबाहेक आयोगले मतदाता शिक्षा दिने तयारी गरिरहेको र यसमा आमसञ्चार माध्यम तथा राजनीतिक दलबाट पनि सहयोगका लागि आह्वान गरेको छ । “जनताले निर्वाचन चाहेकाले निर्वाचन जसरी भए पनि हुन्छ । निर्वाचन हुँदैन भन्ने त म कल्पना पनि गर्न सक्दिन”– उनले भने ।

निर्वाचन गर्न कानुनको समस्या नपर्ने बताउँदै सचिव मैनालीले निर्वाचनका लागि आवश्यक पर्ने पाँचमध्ये चार कानुन प्रमाणीकरण भइसकेको जानकारी दिए । बाँकी रहेको राजनीतिक दलसम्बन्धी कानुन नआएका खण्डमा आयोगले उपलब्ध निर्वाचन आयोग ऐनको प्रावधानअनुसार संविधान र सङ्घीय कानुनका सन्दर्भमा बाधा अड्काउ फुकाउ आदेश जारी गर्नसक्ने अधिकार रहेको उनले उल्लेख गरे ।

राजनीतिक दल तथा उम्मेदवारको सङ्ख्याअनुसार मतपत्र फरकफरक हुने र त्यसको तयारी भइरहेको बताउँदै उनले तराई र काठमाडौँ उपत्यकाका लागि ठूलो आकारको मतपत्र हुने जानकारी दिए । अन्य क्षेत्रमा भने उम्मेदवारको सङ्ख्याअनुसारको मतपत्र हुनेछ ।

नेपालमा पहिलोपटक एकै चरणमा स्थानीय निर्वाचन हुन लागेकाले चुनौती धेरै भए पनि व्यवस्थापन गर्न सकिने विश्वास व्यक्त गर्दै उनले भने, “मतपत्र छाप्ने सम्पूर्ण जिम्मा जनकशिक्षा सामग्री केन्द्रलाई जिम्मा दिएका छौँ । प्रेस तयारी अवस्थामा रहेको र कागज मौज्दात छ ।”

निर्वाचनको प्रवेशद्वारबाट नै संविधानको वास्तविक कार्यान्वयन सुरु हुने धारणा व्यक्त गर्दै उनले निर्वाचनको तयारीका लागि आयोगसँगै सञ्चारमाध्यम, राजनीतिक दल, युवा, नागरिक समाजलगायत सबैको साथ रहेको उनले बताए ।

यसपटक विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भावना कम रहेको जानकारी गराउँदै उनले फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस