एकपछि अर्को सफलता चुम्दै सुनमाया र पूर्णालक्ष्मी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एकपछि अर्को सफलता चुम्दै सुनमाया र पूर्णालक्ष्मी


८ फाल्गुन २०७३, आइतबार


जुम्ला । अन्तर्राष्ट्रिय छवि बनाउँदै गरेकी म्याराथुन धावक सुनमाया बुढा र पूर्णालक्ष्मी न्यौपानेले चीनको हङ्कङमा भएको दौड प्रतियोगितामा फेरि अर्को सफलता हासिल गरेकी छन् ।

चीनमा सम्पन्न भएको ५० किलोमिटरको एमएसआइजी एचके ५० किलोमिटर साइकुङ हङकङ दौड प्रतियोगिताको १८ देखि ३९ वर्षको उमेर समूहमा सुनमायाले प्रथम स्थान हासिल गरेकी हुन् ।

यसैगरी चीनका यान फ्रेङ द्धितीय र नेपालकै पूर्णालक्ष्मी न्यौपानेले तृतीय स्थान हासिल गर्न सफल भएको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । प्रतियोगितामा सुनमायाले सात घन्टा २५ मिनेट २६ सेकेन्ड र पूर्णालक्ष्मीले सात घन्टा ५३ मिनेट ४७ सेकेन्डमा तोकिएको दूरी पार गरेको उनले बताए ।

यसैगरी सम्पूर्ण महिला तर्फबाट चीनको यान फ्रेङ प्रथम, सुनमाया द्धितीय र पूर्णालक्ष्मी न्यौपानेले चौथो स्थान प्राप्त गरेकी छन् । आफ्नो उमेर समूहमा प्रथम नेपाली म्याराथुन धावक सुनमायाले आठ हजार ५०० र पूर्णालक्ष्मीले चार हजार हङ्कङ डलर नगद पुरस्कार पाएकी छन् । यस प्रतियोगिताले फेरि पनि नेपाल र जुम्ला कर्णालीको नाम विश्वमा उचालिएको छ ।

हिम चितुवाका नामले चिनिने म्याराथुन धावक हरिबहादुर रोकायाका उदाउँदा प्रशिक्षार्थी सुनमायाले नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउने अर्को अवसर पाउँदा खुसीको सीमा नरहेको बताइन ।

यसअघि हङ्कङमै सम्पन्न भएको म्याराथुन दौड प्रतियोगितामा सुनमाया र पूर्णालक्ष्मीले एसियन स्काई म्याराथुन दौड प्रतियोगितामा प्रथम र द्धितीय स्थान हासिल गरेकी थिन् । दौडमा अन्तर्राष्ट्रिय छवि निर्माण गरिरहेका सुनमाया बुढा र पूर्णालक्ष्मीले बिदाइका क्रममा नेपालका लागि जुम्ली चेलीका हैसियतले अन्तर्राष्ट्रिय दौडमा सहभागी भएर प्रतियोगितामा पनि आफूले सानदार जित हासिल गर्ने बताइन । सुनमाया र पूर्णालक्ष्मीले फागुन ७ गते खेलमा सहभागी हुने अवसर पाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस