काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेकाले त्यसमा सहयोग गर्न सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग आग्रह गरेका छन् ।
आफूलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष महतोलाई प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचनको घोषणा गर्नु सरकारको दायित्व भएको बताउँदै संविधान संशोधन प्रक्रिया र स्थानीय तहको निर्वाचनको मिति सँगसँगै अगाडि बढ्ने जानकारी दिए। प्रधानमन्त्रीले मुलुकको आवश्यकता र चाहनालाई सम्बोधन गर्न र सहमतिमा आउनसमेत महतोलाई आग्रह गरेका थिए ।
प्रमुख तीन दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । त्यसमा मधेसकेन्द्रित दलको समेत सहमति जुटाउने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका थिए ।
भेटपछि अध्यक्ष महतोले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन आफूले आग्रह गरेको जानकारी दिए। मधेसकेन्द्रित दलका अन्य नेता राजधानी बाहिर भएकाले उनीहरु फर्केपछि थप छलफल गरिने अध्यक्ष महतोले प्रधानमन्त्रीलाई बताए । रासस