नेपाल सांस्कृतिक सङ्घको महाधिवेशन उद्घाटन « प्रशासन
Logo ८ आश्विन २०८०, सोमबार
   

नेपाल सांस्कृतिक सङ्घको महाधिवेशन उद्घाटन


२२ माघ २०७३, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले परिकल्पना गरेको आगामी वर्षको माघ भित्रैमा तीन तहको निर्वाचन गरेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न अहिले सबैको सहयोग अपरिहार्य रहेको बताएका छन् ।

नेपाल सांस्कृतिक सङ्घको दोस्रो महाधिवेशनको सनिवार उद्घाटन गर्दै उनले भने, “संविधान कार्यान्वयनको बाटोमा गइरहेको छ, सबै जातजातिको भावनालाई समेट्न संविधान संशोधनको प्रस्ताव ल्याइएको हो ।”

सभापति देउवाले लोकतन्त्रलाई स्थायी बनाउन नेपाली काँग्रेको काँधमा ठूलो जिम्मेवारी रहेको बताउँदै संविधान सशोधनका बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अप्ठ्यारो पारिरहेको छ भने ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको मूल्य मान्यता, आदर्श र संस्कृतिका आधारमा नेपाली काँग्रेसको सङ्गठन चलाउनुपर्नेमा त्यसो हुन नसक्दा कार्यकर्ताको भावना कुडिएको बताए ।

संविधान संशोधन गराउन काँग्रेस प्रतिबद्ध रहेको जनकारी गराउँदै उनले जनतालाई निर्वाचनतर्फउन्मुख गराउनुपर्ने आवश्यकतामा जोड दिए ।

वरिष्ठ नेता पौडेलले नेताको भाषणभन्दा कलाकारलाई मञ्च दिँदा पार्टीको जनमत बढ्न जाने पक्षलाई आगामी दिनमा ध्यान दिइने बताउँदै हिमाल, पहाड र तराईलाई समेट्ने गरी पार्टीले देश अभियान सञ्चालन गर्नु आवश्यक छ भने ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसले कस्ता मुद्दालाई अघि बढाउन आवश्यक छ भन्ने कुराको कलाकारले पहिचान गरेर सुझाव दिन आवश्यक रहेको बताए ।

अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी वर्षको माघभित्र तीन तहकै निर्वाचनको जिम्मेवारी पूरा गरेर नेपाली राजनीतिलाई स्थायित्व दिनुपर्छ भने ।

केन्द्रीय सदस्य एनपी साउदले निर्वाचनका माध्यमबाट स्थानीय तहमा नेपाली काँग्रेसको उपस्थितिलाई बलियो तुल्याउन आवश्यक छ भने ।

अर्का केन्द्रीय सदस्य गुरु घिमिरेले कला र संस्कृतिका माध्यमबाट तराई–पहाडबीचमा भाइचारा र लोकतन्त्रको प्रवद्र्धन गर्नु उपयुक्त हुनेछ भने ।

केन्द्रीय सदस्य प्रदीप पौडेले कलाकारलाई साधना गर्नका लागि प्रोत्साहन गर्न राज्यको लगानी बढाउन आवश्यक रहेको बताए ।

नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मीले आगामी निर्वाचनका लागि नेपाली काँग्रेसले नेतृत्व लिनुपर्ने भएकाले त्यसका लागि पार्टी एक ढिक्का हुनुपर्ने र सांस्कृतिक सङ्घको भूमिकालाई प्रभावकारी तुल्याउनुपर्ने बताइन् ।

नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत राजनीतिक व्यवस्थापनमा देखिएको चुनौतीको निकास दिन हम्मेहम्मे हुने कि भन्ने देखिएको धारणा व्यक्त गरे ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले राजनीतिक भित्र देखिएको असङ्गतिलाई हटाएर जनतामा सुशासनको प्रत्याभूति दिन आवश्यक छ भने ।

सङ्घका अध्यक्ष तीर्थ थापाले ‘समृद्धिका लागि हाम्रो अभियान समृद्धि, सुरक्षा र पहिचान’ मूल नारा रहेको तीनदिने महाधिवेशनले सङ्घ हाँक्न सक्ने नयाँ नेतृत्वको चयन गर्ने विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहमा कलाकारले नेपाली काँग्रेसभित्र देखिएको गुटउपगुट तथा त्यसको अत्य गर्न प्रेरित गर्ने व्यङ्ग्यसहितको प्रहसन प्रस्तुत गरेका थिए । नेपालको विविधता झल्कने गीत सङ्गीत पनि समारोहमा प्रस्तुत गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस