जनक शिक्षाले नभ्याए पाठ्यपुस्तक छाप्न साझा प्रकाशन तयार « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

जनक शिक्षाले नभ्याए पाठ्यपुस्तक छाप्न साझा प्रकाशन तयार


६ माघ २०७३, बिहिबार


काठमाडौँ । साझा प्रकाशनले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नभ्याएको अवस्थामा पाठ्यपुस्तक मुद्रणसहित विगतमा खोसिएको वितरणको जिम्मेवारीसमेत बहन गर्न आफू सक्षम रहेको जनाएको छ ।

संस्थाले ‘एक पटकः एक काम साझा प्रकाशन’ भन्ने अभियानसहित सरकारका सबै कार्यालयका मुद्रणका काम लिन पहल गर्ने तथा शिक्षा मन्त्रालय मातहतका विशेषगरी पाठ्यक्रम विकास केन्द्रबाट थप काम लिई छपाइ र वितरण गर्ने घोषणा गरेको हो ।

व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले समयमा सरकारी निकायलाई जिम्मा दिन र काम गर्ने वातावरण गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । केन्द्रले कागज र चालु पुँजी अभावमा आवश्यक पाठ्यपुस्तक छाप्न नसकिएको जनाउँदै आएको छ । साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले निजी क्षेत्रले त्यही पाठ्यपुस्तकको काम गरेर नाफा कमाउने र राज्यका संस्था घाटामा जानुका कारण खोज्न अध्ययन समूह गठन गरिएको भन्दै विगतमा प्रकाशनमा भएका अनियमितताबारे पनि आगामी वैशाखभित्र लेखा परीक्षण प्रतिवेदनसहित सबै विवरण सार्वजनिक गर्ने बताए ।

सरकारले गत महिना ऋण र अनुदान गरी ३० करोड निकासा गरे पनि सङ्क्रटग्रस्त सो संस्था बामे सर्न थालेकाले अब आफैँ कमाएर राज्यसँग माग्ने होइन दिनसक्ने नमुना संस्थाका रुपमा यसलाई विकसित गर्ने शर्माले प्रतिबद्धता व्यक्त गरे । साझाको सञ्चालक समितिले शर्मालाई बुधवारदेखि लागू हुने गरी थप चार वर्षका लागि महाप्रबन्धकमा नियुक्ति गरेको छ । दोस्रो कार्यकालको आज केन्द्रीय कार्यालयमा थालनी गर्दै शर्माले आगामी दुईवर्षे सुधारका कार्ययोजना सार्वजनिक गर्दै चुस्त व्यवस्थापन र दक्ष जनशक्ति परिचालन गरी सो जिम्मेवारी पूरा गर्ने जनाए ।

सो अवसरमा उनले प्रकाशनले आर्थिक व्यवस्थापन, कानुनी र नीतिगत, संस्थागत र आय बढाउनेसम्बन्धी ३७ बुँदे कार्ययोजना सार्वजनिक गरे ।

लेखकको लेखकस्व, कर्मचारीको पारिश्रमिकलगायत सेवानिवृत्त तथा अवकाशप्राप्त कर्मचारीलाई दिनुपर्ने उपदान, विभिन्न व्यक्ति, निकाय र संस्थालाई तिर्नुपर्ने कुल ४० करोडभन्दा बढी ऋण दायित्व साझा प्रकाशनलाई छ । राजनीतिक आधारमा नियुक्त र उत्पादन बढाउन नसक्ने तथा २० वर्ष सेवा पार गरेकासहित १७२ जना कर्मचारीलाई साझाले कटौती गरिसकेको छ । साझामा अब ८३ कर्मचारी बाँकी छन् । प्रकाशनका सञ्चालक सदस्य तथा पूर्वशिक्षामन्त्री प्रदीप नेपालले महाप्रबन्धक शर्माले संस्थालाई पुनःजागरण गराएको बताए भने अर्का सदस्य डा कृष्णहरि बरालले विगतमा राजनीतिक भर्ती केन्द्र र भनसुनका आधारमा साहित्यिक कृति प्रकाशन गरेर संस्था डुबेको बताए ।

प्रतिक्रिया दिनुहोस