फोटो सहितको मतदाता नामावलीमा चार हजारको नाम दर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फोटो सहितको मतदाता नामावलीमा चार हजारको नाम दर्ता


३ माघ २०७३, सोमबार


कञ्चनपुर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली सङ्कलन र अद्यावधिकको कार्यक्रमअन्तर्गत तीन हजार नौ सय ७० जना मतदाताले नाम दर्ता गरेका छन् ।

निर्वाचन कार्यालयले निर्धारण गरेका एक सय छ निर्वाचन केन्द्र मध्ये ६३ केन्द्रमा हालसम्म एक हजार नौ सय १६ महिला र दुई हजार ५४ पुरुषले नाम दर्ता गराएका छन् । ५३ वटा केन्द्रमा नामावली सङ्कलन र अद्यावधिको कार्य भइरहेको निर्वाचन कार्यालयका लेखापाल हरिलाल भट्टले बताए ।

एक महिनासम्म सञ्चालन हुने नामावली सङ्कलन तथा अद्यावधिक कार्य आठवटै नगरपालिकाका एक सय दुई वडासहित चार गाविसमा जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले एकै साथ सुरु गरेको हो । नगरपालिकाको प्रत्येक वडा र गाविसमा केन्द्र निर्धारण गरी मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ को दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेका व्यक्तिको फोटो सहितको नामावलीमा नाम समावेश गर्ने, नाम सार्ने, हटाउने र सङ्कलन भएको नामावलीमा भएको त्रुटि सच्याउने लगायतका कार्य भइरहेको निर्वाचन कार्यालयका लेखापाल भट्टले बताए ।

नामावली सङ्कलन र अद्यावधिकका लागि निर्वाचन कार्यालयले सातवटा टोलीलाई परिचालन गरेको छ । पुस १० गतेदेखि परिचालित टोलीले यही माघ १२ गतेसम्म नामावली सङ्कलन र अद्यावधिको कार्य गर्नेछ । जिल्ला निर्वाचन कार्यालयले गत वर्षसमेत मतदाताको नामावली सङ्कलन र अद्यावधिको कार्य गरेको थियो । जसमा नयाँ दुई हजार छ सय ६६ मतदाता थपिएका थिए । सोही क्रममा तीस जना मतदाताको त्रुटि भएको नामावली सच्याइएको र ४० जना मतदाताको नामावली हटाइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस