जातीय हिंसा गर्नेलाई कडा कारबाही हुने प्रधानमन्त्रीको भनाइ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जातीय हिंसा गर्नेलाई कडा कारबाही हुने प्रधानमन्त्रीको भनाइ


१९ पुस २०७३, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल जातीय छुवाछुत, भेदभाव र हिंसा गर्नेप्रति सरकार पूर्ण रुपमा कठोर बन्ने र दोषीमाथि कडा कारबाही गरेरै छाड्ने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमवार बसेको जातीय भेदभाव तथा छुवाछुत उन्मूलन कार्यान्वयन उच्चस्तरीय समितिको बैठकमा प्रधानमन्त्रीले एक्काइसौँ शताब्दीमा पनि जातीय हिंसा गर्ने विषय क्षम्य हुन नसक्ने उल्लेख गर्दै कुनै पनि मूल्यमा त्यस्ता गैरकानुनी काम गर्नेलाई छुट नदिइने स्पष्ट पार्नुभयो ।

बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “आजको विकसित समाजमा पनि जातीय भेदभाव र दलितमाथिको हिंसा रोकिएको छैन । यो लज्जास्पद विषय हो । सरकार यस्ता हिंसा सहेर बस्न सक्दैन । हामीले कठोरतापूर्वक संविधान र कानुनमा भएको व्यवस्था कार्यान्वयन मात्र गर्न सके पनि हिंसा न्यूनीकरण हुन सक्छ र उत्पीडित समुदायले न्यायको अनुभूति गर्न सक्छन् ।”

प्रधानमन्त्रीले परिवर्तनको राप ताप कमजोर हुँदै गएपछि सामन्ती सोच र संस्कारले टाउको उठाउँदै गएको भन्दै त्यसविरुद्ध सामाजिक जागरण अभियान र कठोर कानुनी उपचार जरुरी रहेकामा जोड दिनुभयो ।

मुख्य सचिव डा सोमलाल सुवेदीले स्थानीय प्रशासनले कुनै पनि प्रभाव र दबाबमा अपराधी छाड्न नहुने बताउनुभयो। रासस

प्रतिक्रिया दिनुहोस