विद्यालयद्वारा साढे तीन करोड सङ्कलन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विद्यालयद्वारा साढे तीन करोड सङ्कलन


१५ पुस २०७३, शुक्रबार


बागलुङ । जिल्लाको नारायणस्थान–५ स्थित गणेश माध्यमिक विद्यालयले लगाएको श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा रु. तीन करोड ४९ लाख पाँच सय ३१ सङ्कलन भएको छ ।

विद्यालयले बिहीबार पत्रकारसम्मेलनको आयोजना गरी अपेक्षित रकम उठेको जनाएको छ । विद्यालयको समग्र विकासको लक्ष्यसहित गत मङ्सिर २८ देखि पुस ५ गतेसम्म महायज्ञ सञ्चालन गरिएको थियो ।

महायज्ञमा नारायणस्थान–४ का गङ्गाबहादुर जिसी र डम्मरकुमारी जिसीले सबैभन्दा बढी रु २५ लाख २५ प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले जानकारी दिनुभयो । चार सय २१ जनाले रु ३५ हजारका दरले सहयोग गरी महायज्ञमा सभानायक बनेका थिए । महायज्ञमा केही जग्गा र जिन्सी सामान पनि निःशुल्क रुपमा प्राप्त भएको प्रअ सुवेदीले बताउनुभयो ।

महायज्ञ सञ्चालनका क्रममा रु ३१ लाख खर्च भएको जनाइएको छ । “सङ्कलित रकम सबै अक्षय कोषका रुपमा राख्र्छौं”, प्रअ सुवेदीले भन्नुभयो – “ब्याजबाट आएको रकम मात्र विभिन्न क्षेत्रमा खर्च हुनेछ ।” उक्त कोषको रकम निजी क्षेत्रका शिक्षकको तलब व्यवस्थापन, छात्रवृत्ति कार्यक्रम, गुणस्तरीय शिक्षा, पुस्तकालय, बाल उद्यान, विज्ञान प्रयोगशाला, अत्याधुनिक कम्प्युटर ल्याब, खेल मैदान, शैक्षिक सङ्ग्रहालय लगायतमा खर्च गरिने विद्यालयले जनाएको छ ।

“धान्याञ्चलबाट हामीले लक्ष्य लिए अनुसारकै रकम जुटेको छ,” प्रअ सुवेदीले भन्नुभयो – “विद्यालयको समग्र विकास र उत्थानमा रकमको सही सदुपयोग हुनेछ ।” विसं २०३७ मा स्थापना भएको विद्यालय जिल्लामै नमुना विद्यालयका रुपमा चिनिन्छ । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने उक्त विद्यालयमा ६ सय ९१ जना विद्यार्थी अध्ययनरत छन् । कार्यरत ३७ शिक्षकमा २२ जना शिक्षक निजी स्रोतबाट राखिएको छ ।

बाँकी केही स्थायी र राहत दरबन्दीका शिक्षक छन् । उक्त विद्यालय गत वर्ष देशभरका सामुदायिक विद्यालयतर्फबाट उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृतसमेत भएको थियो । विद्यालयले विद्यार्थीलाई आवासीय सुविधासमेत उपलब्ध गराउँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस