संसद् केहि दिनमै सञ्चालन हुन्छः सभामुख « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसद् केहि दिनमै सञ्चालन हुन्छः सभामुख


७ पुस २०७३, बिहिबार


काठमाडौँ । सभामुख ओनसरी घर्तीले संविधान संशोधनको प्रस्ताव अघि बढेसँगै प्रमुख दलबीच देखिएको मतभेद र तिक्तता केही दिनभित्रै हट्ने विश्वास व्यक्त गर्नुभएको छ ।

व्यवस्थापिका–संसद् सचिवालयद्वारा बुधवार आयोजित ‘प्रभावकारी संसद् र जनतासँगको सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले संसद्मा अहिले देखिएको अवरोध हट्न गई संसद्का गतिविधि केही दिनभित्रै सञ्चालन हुने बताउनुभएको हो ।

मुलुक र राजनीतिक दलको प्रमुख कार्यभार भनेको नयाँ संविधानको समयबद्ध कार्यान्वयन नै हो भन्दै उहाँले २०७४ माघभित्रै तीन तहको निर्वाचन पूरा गरी मुलुकमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोतर्फ अगाडि बढाउन लाग्नुपर्ने बताउनुभयो ।

नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले प्रेसको सिर्जनात्मक आलोचनाले संसद् र सांसदहरुलाई समृद्ध र सुदृढ तुल्याउन योगदान दिने बताउनुभयो ।

व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल, नेता र सांसद सक्रिय भएमा जनताको प्रतिनिधि निकाय, संस्था संसद् स्वतः प्रभावकारी हुने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस