चैनपुर–ताक्लाकोट सडक: सरकारी उपेक्षा कहिलेसम्म ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चैनपुर–ताक्लाकोट सडक: सरकारी उपेक्षा कहिलेसम्म ?


प्रशासन विशेष ब्युरो

१३ मंसिर २०७३, सोमबार


बझाङ प्राकृतिक रुपमा सम्पन्न छ । सुदूर पश्चिमको हिमाली जिल्ला बझाङ जति प्राकृतिक रुपमा सम्पन्न छ त्यति नै आर्थिक सम्भावनाका हिसावले महत्वपूर्ण छ । कृषि, जलविद्युत, जडिबुटी, पर्यटन लगायतका तमाम् सम्भावनाले भरिपूर्ण जिल्ला बझाङ्ग चीनसंगको नाका जोडिएका कारण पनि अझ बढी सम्भाव्यता बोकेको जिल्ला हो ।

सदरमुकाम चैनपुरदेखि करीव १ सय ७ किलोमिटर दुरीमा रहेको ताक्लाकोटसम्म सडक पु¥याउने हो भने यसबाट नेपाल मात्रै हैन भारतीय पर्यटकका लागि समेत सहज हुने छ । बार्षिक लाखौं भारतीय पर्यटक मानसरोवर जान्छन् ।

भारतको नयाँ दिल्लीबाट मानसरोवर पुग्न करिव सात सय किलोमिटर मात्र छ । तर, अहिले २५ सय किलोमिटर घुम्नुपर्छ मानसरोवर पुग्नलाई । यदि चैनपुरदेखि ताक्लाकोटको नाका संचालन गर्न सकियो भने सुदूरपश्चिम मात्र नभइ मुलुककै पर्यटन विकासमा ठूलो हिस्सा ओगट्ने छ ।

दिल्लीबाट महेन्द्रनगर, धनगढी, अत्तरिया, खुटिया, दिपायल, थलारा हुँदै चैनपुर ताक्लाकोट पुगिन्छ । यो बाटो सवैभन्दा छोटो, सरल, सुरक्षित हुनेछ । मानसरोवर जाने बाटोमा सेती नदी, साइपाल हिमालको मनोरम दृष्य हेर्न पाइन्छ । धर्म, कर्मका लागि आउने तिर्थालुहरुले प्राकृतिक सुन्दरताको समेत आनन्द लिन सक्छन् ।

चैनपुरबाट अलिकति माथिसम्म सडक पुगिसकेको छ । चैनपुरदेखि ताक्लाकोटको बीचमा ठूला पहाड छन् । उरी र ताक्लाकोटको बीचमा अलि अप्ठ्यारो डाँडा छ तर जति नै चट्टानी पहाड भएपनि बनाउन नसकिने होइन । सोच चाहियो यसका लागि ।

चैनपुरदेखि ताक्लाकोटसम्म एक सय सात किलोमिटर बाटो मध्ये २०/२२ किलोमिटर ट्रयाक खुलिसकेको छ । सडक निर्माणका लागि असी करोड बजेट विनियोजन भइसकेको छ । अब सत्तरी किलोमिटर सडक निर्माण गरियो भने ताक्लाकोट पुगिहाल्छ । बझाङ र बैतडीको तल्लो भेगका मानिस अहिले पनि चीनतिरबाट नुन, तेल लगायतका सामाग्री ल्याइरहेका छन् ।

सरकार परिवर्तन भएपिच्छे अघिल्लो सरकारले गरेका काम अगाडि बढाउने गर्दैनन् । जसले विकासको काममा धेरै बाधा पुग्ने गरेको छ । जस्तोः पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले उत्तरी नाका खुलाउन गरेका प्रयासलाई वर्तमान सरकारले अगाडि बढाउने काम गरेको छैन । यसको अर्थ भारत तर्फका नाका बन्द गर्ने भनेको होइन । दुवै छिमेकीलाई हामीले समान दृष्टिले नै हेर्नुपर्छ । र, विकासका कामलाई जुनसुकै सरकारले गरेको निर्णय र प्रयास भएपनि त्यसलाई निरन्तरता दिनुपर्यो ।

हामीमा हाम्रो विकास हामीले नै गर्नुपर्छ भन्ने सोच नभएर पनि यस्ता अन्र्तराष्ट्रिय महत्वका विकास योजनाहरु अलपत्र परेको मैले महसुस गरेको छु । नेताहरुको नै कमजोरी छ । सम्वन्धित क्षेत्रबाट प्रतिनिधित्व गर्नेहरुले यसअघि आवाज नै उठाएनन् । यसअघि सभासदहरुले आवाज नउठाएपनि हामीले अहिले यसलाई प्राथमिकताका साथ आवाज उठाएका छौं । हामी राष्ट्रपतिबाट शिलान्यास गर्ने तयारीमा छौं । यसरी राष्ट्रपतिबाट सिलान्यास गरेको खण्डमा अन्तराष्ट्रिय जगतमा समेत प्रभाव पर्छ भनेर ।

हाम्रै पालामा निर्माण नसकिए पनि निर्माण सुरु भएपछि पुर्णता भने अवश्य पाउँछ । हामीहरुकोमा प्रशासनिक झमेला छ । निर्माणका लागि टेण्डर आह्वानदेखि लामो प्रक्रियाका कारण ढिलो हुने गरेको छ । बझाङ्गमा सडक निर्माण र पुनिर्माणका लागि यसअघि करोड बजेट जाने गरेकोमा अहिले झण्डै दुई अर्व जति बजेट गएको छ ।

जुन गतिमा काम गर्नुपर्ने हो त्यो भने हुन सकेको छैन । हामीले त बजेट राख्ने कुरा हो । तर सरकारी संयन्त्रले समयमै बजेट निकासा गरेर काम गर्नुपर्यो । देश विकासमा राजनीतिक नेता संगसंगै कर्मचारीको पनि उत्तिकै ठूलो भूमिका रहन्छ, त्यो कुरा कर्मचारीले महसुस गर्नुपर्छ ।

 

लेखकबाट थप

रक्सी ?

प्रतिक्रिया दिनुहोस