‘कालोसूची’का ग्राहकको लाइन काटिँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘कालोसूची’का ग्राहकको लाइन काटिँदै


प्रशासन संवाददाता

८ भाद्र २०७३, बुधबार


दमक, ८ भदौ । झापाको दमकस्थित नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्रले विद्युत् बक्यौता बढी भएका ग्राहकको बिजुलीको लाइन काट्न सुरु गरेको छ ।

प्राधिकरणले ठूलो रकम बक्यौता हुने ग्राहकको बिजुलीको लाइन काट्न केन्द्रको निर्देशन आएपछि यहाँको वितरण केन्द्रले पनि त्यस्ता कालोसूचीका ग्राहकका लाइन काट्न थालेको हो ।

केन्द्रले भदौ ५ गतेदेखि नै यस क्षेत्रमा लामो समयदेखि ठूलो बक्यौता रहेका ग्राहकको बिजुली धमाधम काटिरहेको जनाएको छ । अहिलेसम्म केन्द्रले दमकमा १२ वटा ग्राहकको बिजुलीको लाइन काटिसकेको तथा अन्य ठाउँमा समेत सो कार्य जारी रहेको केन्द्रका प्रमुख सुरेन्द्र शाहले बताउनुभयो ।

शाहका अनुसार केन्द्रले दुई दिनमा दमकमा बिजुलीको लाइन काटेको र ती ग्राहकको विद्युत् महसुल रु १३ लाख ८७ हजार ६९६ हजार बक्यौता रहेको छ ।

त्यस्तै, मङ्गलबार केन्द्रको टोलीले गौरादह क्षेत्रका १२ जना ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ जसको बक्यौता रकम करिब रु पाँच लाख रहेको छ ।

दमक वितरण केन्द्रअन्तर्गत बक्यौता भएको जम्मा रकम रु सात करोड २७ लाख रहेको जनाइएको छ । त्यसमा रु ५० लाख बक्यौता रहेका ग्राहकको लाइन काट्नु पर्ने अवस्था रहेको केन्द्रका लेखा अधिकृत मदन पौडेलले जानकारी दिनुभयो ।

जिल्लाको माइपश्चिम सहित पूर्वी मोरङको उर्लाबारी र पथरी क्षेत्रसम्म केन्द्रको कार्य क्षेत्र पर्ने ती क्षेत्रमा हाल ५० हजारभन्दा बढी ग्राहक सङ्ख्या रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस