घोराही । दाङमा शुक्रबार भएको बस दुर्घटनामा मृतकको संख्या २३ पुगेको छ ।
मृत्यु हुनेमा १९ जना पुरुष र चार जना महिला गरी २३ जना छन् । मृतक १३ जनाको शव सनाखत गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सनाखत हुन बाँकी शव अञ्चल अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।
सनाखत दाङको दंगिशरण गाउँपालिका–१ बस्ने २० वर्षीय संजित रतगैया, दाङको घोराही उपमहानगरपालिका–१७ बस्ने २८ वर्षीय प्रदीप घिमिरे, दाङकै बबई गाउँपालिका–५ बस्ने २१ वर्षीया कबिता खत्री, दाङको घोराही उपमहानगरपालिका–१४ बस्ने १९ वर्षीय बिजय घर्ती, दाङको घोराही उपमहानगरपालिका–३ बस्ने बस चालक २६ वर्षीय मदन खत्री क्षेत्री छन् ।
रुकुमको भुमे गाउँपालिका–६ बस्ने २८ वर्षीय नरेश वली, जाजरकोटको भेरीगंगा नगरपालिका–४ बस्ने १७ वर्षीय आतिस नेपाली र कन्चनपुरको कृष्णपुर नगरपालिका–५ बस्ने १७ वर्षीय खेमराज भट्टको पनि मृत्यु भएको छ ।
यसैगरी जुम्लाको चन्दननाथ नगरपालिका(६ बस्ने १६ वर्षीया कुसुम रावल, जुम्लाको चन्दननाथ नगरपालिका–३ बस्ने १७ वर्षीय हिक्मत बोहरा, जुम्लाको चन्दननाथ नगरपालिका–१ बस्ने १७ वर्षीय अर्जुन शाही, जुम्लाको हिमा गाउँपालिका–५ बस्ने वर्ष १७ की शैलजा शाही र जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बस्ने २० वर्षीय विरेन्द्र कन्डरा छन् । विरेन्द्रको बाँकेको कोहलपुर नर्सिङहोममा उपचारको क्रममा शनिबार बिहान ८ बजेतिर मृत्यु भएको हो ।
शुक्रबार साँझ घोराही उपमहानगरपालिका–१७ स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थीहरु सवार बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका–३ राम्री भन्ने स्थानमा दुर्घटना भएको थियो । उनीहरु शैक्षिक भ्रमणका लागि सल्यानको कपुरकोटस्थित वनस्पति उद्यानमा गएर फर्किँदै थिए ।
घाइते १४ जनाको बाँकेको नेपालगञ्जमा उपचार जारी छ ।