डोटी । बाजुराको प्रसिद्ध धार्मिकस्थल बुढीनन्दाबाट जनैपूर्णिमा मेला हेरी फर्किने क्रममा बेपत्ता भएका डोटीका पत्रकार तेजबहादुर खड्का ‘तेजु’ ८१ दिन हुँदा समेत भेटिएका छैनन् ।
बाजुराको बुढीनन्दा धार्मिक स्थलबाट दर्शन गरेर कोल्टि फर्किने क्रममा गएको भदौ १० गते पत्रकार खड्का बेपत्ता भएका थिए ।
नेपाल पत्रकार महासंघको आग्रहमा स्थानीय प्रशासनले बुधवार ८१ दिन पछि पुनः खड्काको खोजीका लागि बुढीनन्दा क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर खटाएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बमले जानकारी दिए । उनले भने “पत्रकार खड्का बेपत्ता भएको दुई महिना भन्दा बढी भइसक्यो योभन्दा पहिले पनि पहलै नभएको होइन, खोजीकार्यको लागि सम्बन्धी पक्षसँग परामर्श गरेका हौ मौसम प्रतिकुलका कारण सोचे अनुरूप हुन सकेन आज देखि फेरी नेपाली सेनाको हेलीकप्टर परिचालन भएको छ अब भने केही उपलब्धि हुन्छ भन्ने कुरामा हामी ढुक्क छौ ।”
सुदूरपश्चिम पृतना दिपायल राजपुरका अनुसार नेपाली सेनाको हेलिकप्टरले हवाई मार्गबाट बेपत्ता पत्रकार खड्काको खोजी कार्यका लागि खड्काकी श्रीमती र आफन्त पर्ने अर्की महिलासँगै अन्य २० जनालाई खड्का बेपत्ता भएको नजिकैको बस्ती कुरुका छेउछाउको क्षेत्रमा उतारी खोजी कार्य अगाडी बढाएको छ ।
पत्रकार खड्का बेपत्ता भएको धार्मिक स्थल बुढीनन्दा क्षेत्र समुन्द्री सतहबाट झन्डै ४२ सय मिटरको उचाइमा रहेको र पत्रकार खड्का ४१ सय मिटरको उचाइ क्षेत्रमा पर्ने ‘बर माग्ने डाँडा’ भन्ने ठाउँबाट सम्पर्क विहीन भएको एक प्रत्यक्ष दर्शीलेल बताइएको छ । बुढीनन्दामा मेला भरेर झन्डै ५ घण्टाको दुरीमा पर्ने ‘बर माग्ने डाँडा’ क्षेत्रमा पुगिसकेपछि उनी थर्मस छुटेको भन्दै मेलास्थल फर्केको र पछि एकाएक बेपत्ता भएको बताइएको छ ।
साबितको रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायल, हुँदै केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारमा समेत काम गरिसकेका पत्रकार खड्का पछिल्लो समयमा बाजुराको कोल्टीमा रहेको रेडियो बुढीनन्दामा स्टेसन म्यानेजरको रूपमा कार्यरत थिए ।
स्थानीय प्रशासनले गएको भदौमा सम्पक विहीन भएका पत्रकार खड्काको खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली बुढीनन्दा क्षेत्रमा खटाएको भए पनि मौसम अनुकूल नभएका कारण भदौमा हेलिकप्टर बुढीनन्दा क्षेत्रमा जान सकेको थिएन ।