२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती कारखाना : सेवा हैन हल्दाई, धन्दा चल्छ धन्दा !

अ+ अ-

हलिदाईले दिनभरि दुईवटा गोरु र एउटा हलोको सारथि बोकेर दिन कटाउनु हुन्थ्यो । भ्याइनभ्याइ थियो । बिहान र दिउँसोको डबल सिफ्ट । कहिलेकाहीँ बिहानै राति चार बजे हाजिर भई सक्नुपर्थ्यो । साँझमा बिस रुपैयाँको दुई गिलास ह्याप्पी वाटरले थकान मार्दा उहाँमाथि नै के के जातीको आरोप लगाइन्थ्यो । न उहाँले कहिले परिवारको लागि समय छुट्ट्याउन भ्याउनुभयो न परिवारले नै उहाँलाई । किनकि विवशता थियो । नत्र एक सिजन हल गोरु नगुडाएसम्म एक पाथी धानको पारिश्रमिक कसले दिने ? हालत आज पनि परिवर्तन भएको छैन । न उहाँको नाममा नागरिक लगानी कोष छुट्ट्याइएको छ, न कर्मचारी सञ्चयकोषको व्यवस्था छ । न त वहाँलाई निवृत्तिभरणबापत दुई छाकको ग्यारेन्टी छ । बेडमानको सरकारको सामाजिक सुरक्षा प्रायोजन प्रपञ्चले समेत उहाँलाई कुनै फरक परेको छैन ।

दसैँ बिदामा घरमा जाँदा भञ्ज्याँगको चौतारीमा देउराली चुरोटको ठुटो निभाउँदै गर्दा देखिएको पंकेसँग हलिदाइको आँखा ठोक्किएपछि हलीदाईले भने, बाबु तपाईँ त ठूलो हुनुभएछ । घरमा कहिले आउनुभएको ? धेरै पढेर ठुलो जागिर खानु भा’छ रे ! तपाईँ त सरकारी जागिर खा’को हाकिम हो भन्ने सुनेथे । जनताको सेवा गर्नेवाला एकदमै इज्जतिलो जागिर खानु भा’छ रेन्त । सन्चै हुनुहुन्छ ? ठिकै छ दाइ (हलिदाई भन्न अप्ठेरो लाग्यो पंकेलाई त्यसैले दाइ मात्र बन्यो नत्र पहिले पहिले हल्दाई हल्दाई भन्दै बोलाउँथ्यो) । अनि तपाईँ सन्चै हुनुहुन्छ ? सीता भाउजूलाई कस्तो छ ? चौपारीमा के गर्दै हुनुहुन्थ्यो ? पंकेका प्रश्नहरूलाई पन्छाउँदै अरू ठिकै छ बाबु तपाईँ जागिर खानु भा’को यस्सो ५०/१०० रुपियाँ दाम दिनु भए खाजा खान मन थियो ।

पंखेका आँखा एक्कासि रसाए किनकि पंकेले विगत बिर्सिएको थिएन । यहाँ धेरैले पावरमा पुगेपछि विगत बिर्सन्छन्, अनि आफ्नो क्यारेक्टरलाई बेचेर पावरमा पुगेपछि आफ्नै कपटी विगत हेर्न अप्ठेरो मान्नुलाई पंकेले त्यति अस्वाभाविक पनि ठान्दैनथ्यो । हलिदाईलाई बिहानै घरमा आएर गुरु फुकाई खेत जोत्न जाँदा बिच-बिचमा पानी र खाजा लगिदिने केटा त्यही पंके थियो । लगिदिएको खाजामध्ये अलिकति पंकेलाई पनि खुवाई दिन्थे । एक दिन हलिदाईको खाजाको भाग चाख्दै गर्दा पंकेका हजुरबुवाले देखेर पंकेलाई बेस्सनीको झपारेका पनि थिए । तर पनि हली दाइले पंकेलाई अधिक माया गर्थे र भन्ने गर्थे मालिक बाउ हजुर जस्तै मेरो पनि छोरा छोरी छन् । तर तपाईँ त स्कुल जानुहुन्छ नि, मेरा जाँदैनन् । धेरै पढ्नु होला, पढेर ठुलो मान्छे बन्नुहोला । ठुलो मान्छे भएपछि मलाई चाहिँ नबिर्सिनु होला नि फेरी ।

एकाएक सबै कुरा सम्झिएर, बरु आफू रित्तै भएर हलिदाइलाई ५० रुपैयाँ मात्र नभएर ५० हजार पनि दिन तयार थियो तर गोजीमा जम्मा चार हजार बोके रै’छ । त्यो मध्ये ३५०० चाहिँ हलिदाइलाई दियो । खाजा मात्रै नखानु होला अरू कुरा पनि किन्नुहोला अनि सीता भाउजूलाई नमस्ते भनिदिनु है भनी छुट्यो । हलीदाईले दिलखुस मुस्कान देखिरहेका थिए । पंके भने अन्योलपूर्ण आधा सन्तुष्टि बोकेर घर फर्कियो ।

गाउँघरमा बेलुकाको खाना छिट्टै नै खाने चलन हुन्छ प्रायः । खाना खाएर सबैजना आ-आफ्नो कोठामा सुत्न गए, पंके पनि आफ्नै बाल्यकालको कोठामा गयो । पहिले पहिले स्कुल पढ्दा त भित्ताभरि राजेश हमाल, शाहरुख खान र निरुता सिंहका पोस्टरहरू अटाइ नअटाई हुन्थे तर हिजोआज रित्तो भएका भित्ताहरूमाझ निस्लोट ओछ्यानमा बिना निद्राको रात बताउन गयो ।

न बत्ती बालेर निदाउन सक्छ न बत्ती निभाएर नै । धन्न दिउँसो ५० रुपैयाँको डाटा प्याक किनेको रहेछ । फेसबुक खोल्यो एउटा पोस्ट देख्यो “हिजोआज त मान्छेहरू पनि रुद्राक्ष जस्ता भएछन्, एक मुखे त पाउनै गाह्रो ।” स्क्रिन क्याप्चर गर्‍यो । अर्को पोस्ट हेर्‍यो “सच्चा कहानी भट्टीमा र झुटा कहानी अदालतमा बोलिन्छ । अपसोच, अदालतमा मदिरा वर्जित छ ।” फेरी स्क्रिन क्याप्चर गर्‍यो । फेरि अर्को पोस्ट हेर्‍यो “हाम्रा नेताहरूले जवानीमा मूलकी उचालेर जनवादी बिहे गरे । जन्तीलाई कालो च्या ख्वाए । मन्त्री बनेपछि श्रीमतीको नाममा रहेको भन्दै नामी ठाउँको घरघडेरी र सुनको फाली देखाए ।” फेरी स्क्रिन क्याप्चर गर्‍यो । अर्को पोस्ट हेर्‍यो “एकैनास सधैँ कहाँ हुन्छ र, घाटमा व्यापार गरेर बस्नेहरूलाई मान्छे नमरेको दिन नरमाइलो लाग्छ ।” फेरी अर्को पोस्ट हेर्‍यो “ए जन्तीहरू हो कति उफ्रन्छौ त्यो बारात तिम्रो होइन । ए मलामीहरू हो कति रुन्छौ त्यो लास पनि त तिम्रो होइन ।” (सादर अवगतार्थ : पोस्टकर्ता साथीहरूलाई हार्दिक आभार गर्दै नाम साभार गर्न नसकिएको व्यहोरा) । फेसबुक बन्द गर्‍यो । फेरी हलिदाई सम्झियो । अनि निजामती पेसा, पैसा र पावर ।

स्कुल पढ्दा धेरैले डाक्टर, इन्जिनियर, पाइलट र हिरो बन्न चाहन्छु भन्नेबाहेक अरू केही भन्नै जानेका थिएनन् । किनकि न प्रतिगामी पुस्तकहरूले सिकाए, न त मास्टर माईन्डेड गुरुबा र गुरुआमाले सिकाए । कसैले पनि म राष्ट्रसेवक कर्मचारी बन्छु भन्ने मान्छे मैले सुनेको चाहिँ थिइन । हल्दाई, अनि मलाई पनि के थाहा मैले के चाहन्थे र त्यसलाई मैले कसरी भनूँ । मलाई आधा पेटका मान्छेले भर्नै बाँकी रहेको अर्को आधा पेट बन्न मन छ । म बाँच्ने आधार पाउने बित्तिकै अरूलाई बाँच्न सजिलो बनाउन मन छ । मलाई गरिबको गुहार देखी एलर्जी हुन्छ हल्दाई, त्यसैले गरिबी मेटाउने मसिहा बन्न मन छ । मलाई चेलीहरूको चीत्कार देखी एलर्जी हुन्छ हल्दाई त्यसैले अन्यायको उपचार गर्ने मन छ । मेरो देश संसारभरिकै गरिब मध्येको पनि गरिब हो भनी सुन्दा एलर्जी हुन्छ हल्दाई, त्यसैले मलाई देश विकासको सिपाही बन्न मन छ । म कसरी भन्न सक्थे र हल्दाई मलाई जनताको स्वतन्त्रता र स्वाभिमान जनतालाई नै हस्तान्तरण गर्ने माध्यम बन्न मन छ । म कसरी भन्न सक्थे र हल्दाई मलाई लोकतन्त्रलाई मजबुत बनाई जनताको भलो गर्ने सेवाभावले भरिएको एउटा दरिलो पिल्लर बन मन छ । मलाई मोबाइलको एप जस्तै कन्सल्टेन्टवाला होइन, देशभक्तिको सर्भर बन्न मन छ । भन्न त उतिबेला जानिन तर जे चाहन्थे त्यहीँ जागिर खाएको छु । तहगत/श्रेणीगत रूपमा पनि आजसम्म कुनै कमी छाडेको छैन, तपाईँले भनेको ठिकै हो हल्दाई मैले सेवाभावले भरिएको इज्जतवाला जिम्मेवारीपूर्ण जागिर खाइरहेको छु ।

तर हल्दाई, आजकल मैले सोचेजस्तो सेवा छैन निजामती । मैले त एक सेवा भावपूर्ण आदर्शवादी पेसा मानेको थिएँ निजामती तर त्यस्तो होइन रहेछ । निजामतीको पेसा त हिजोआज आदर्शको खोल ओढी कमाइखाने भाँडो भएको रहेछ ।

बकम्फुसे राजनीतिको खुराफातपूर्ण खेललाई सफल तुल्याउने गोटी भएको रहेछ । बक्तृत्वकलामै अड्किएर खुइलिएको बेडमानको जनमतधारी सङ्गठनको अस्वस्थ सोमरस पिलाउने ठेक्काको डिलर पो भएको रहेछ । असक्षम नेताहरूको संगठन धानिदिने कुटिल माकुरी जालो अड्किने विस्तारवादी झ्याङ भएको रहेछ । म नजान्दैताका सन्तनेता किसुनजीले भन्याजस्तो राष्ट्रसेवक रहेन हल्दाई मेरो पेशा । नेताको तलुवा चाटी जनतालाई मर्दन गर्ने जमात भएको रहेछ । जनतालाई त जनता मानेकै छैनन् हल् दाई उल्लु भनेका छन् ।

हाईस्कूलको पढाइलाई नै आधार मान्ने हो भने सिद्धान्तत: पेसामा जागिर या व्यापार पर्छ । दिमागको भित्री मनले जे बोल्छ त्यही त अँगाल्ने हो नि पेसा, होइन हल्दाई । वादविवाद प्रतियोगितामा मेरो भागमा परेको “व्यापार भन्दा जागिर ठुलो” भन्ने पक्षमा जितेको गोल्ड मेडल मेरी आमाले सुत्ने कोठामा झुण्याउनु भएको छ, बेलाबेलामा पुछेर टल्काउनु पनि हुन्छ । जागिरमा पनि रकमका लागि पेसा कि सन्तुष्टिका लागि पेसा भन्ने हुन्छ । सेवा र सन्तुष्टिका लागि अँगालिने निजामती पेसामा पैसा र पावरलाई गौंड बनाउनु पर्ने होइन र !

जनताको प्रत्यक्ष सेवा र सिद्धान्त: सामाजिक सम्झौताको सफल कार्यान्वयन, देश विकासको प्रहरी गर्दै सार्वभौम राज्य सञ्चालनको निजामती सेना बनी बहुलवादमा आधारित आधिकारिक जनआवाज निर्देशित राजपत्रांकित नीति निर्देशनहरूलाई शिरोपर गरी अविरल तटस्थ सेवा गर्नु नै निजामती सेवा होइन र हल्दाई ?

तर हल्दाई, जागिरको नाममा सेवा जोडिएको भएता पनि धेरै मान्छेहरूले सेवा भनेको बुझेकै छैनन् । गतिविहिन उकालो यात्रामा भरियाले ५० रुपैयाँको ढेंडी माग्दा दिँदा १५० रुपैयाँ दिने र त्यसबाट उसको अनुहारमा झल्किएको भाव पढेर आफूमा महसुस हुने सन्तुष्टिको जननी नै सेवा हो । बालुवा र माटो मिसिएको कुवाको पानी भरेर ओसार्दै खाइरहेका बुढा हजुरबुवाको घरमा कलकल बग्ने खानेपानीको धारा र त्यसका बुँद बुँदबाट हजुरबुवाले सन्तोषको सास सुसेलेको नियाल्दा अनुभूत हुने आनन्दी नै सेवा भाव हो, होइन र !

तर हल्दाई, त्यस्तो छैन निजामतीमा अहिले । लिगलिगे दौड जितेर राजा भए जस्तै २/४ महिना ट्युसन सेन्टर धाउदै घोटिएर सेवा आयोगको उत्तरपुश्तिका भरेपछि सधैभरीलाई मनोमानी गर्ने अद्धितिय धन्दा भएको छ । ८/१० करोडको भष्ट्रचार गरी लुट्नेलाई लखेटेजस्तो मात्र गरी उन्मुक्ति दिँदै छोराको स्कुल फिस भर्न तिन हजार सापट लिनेलाई भष्ट्रचारी ठहर गर्दै बर्खास्त गर्ने फन्दा भएको छ । अझ (सानो-ठुलो) माछाको कुरा गर्छन् । सेवा भाव भनेको घोकेर र रटेर आउने चिज होइन, संस्कार चाहिन्छ । केही हदसम्म चिन्तन गर्न सक्ने आध्यात्मिकता पनि चाहिन्छ ।

छैसठ्ठी दशमलव छ सात डिग्री सेल्सियसको प्रचण्ड तापले हो की समसामयिक राजनीतिको रापले हो, कर्मचारी र कार्यकर्ता बिचको सीमारेखा डढिई सकेको छ हल्दाई । बहुसङ्ख्यक कार्यकर्ता पाल्ने र बिना उपलब्धिको दलगत संगठन बिस्तार गर्ने वैकल्पिक मार्ग भएको छ निजामती पेसा । सेवाभाव त परै जावोस् नुनको सोझो पनि गर्नु नपर्ने अजिवको हाजिर धन्दा भएको छ । कमाउको प्रतिस्पर्धामा अल्झिएको छ । घर घडेरी संकलनमा सफलता जोडिएको छ । सौखिन व्यक्तिहरूले विना लगानीको कमाई खाने भाँडो भएको छ निजामती पेसा । सेवा रहेन हल्दाई निजामती त धन्दा भएको छ ।

निजामती कारखानामा जनसेवा कम र राजनीतिक प्रदूषण अत्यधिक छ । कर्मचारी परिचालनमा राजनीति भयावह रूपमा हाबी भएको छ । सक्नेले मन्त्री मुख्यमन्त्रीको पावर लगाएका छन्, नसक्नेले वडाध्यक्ष पनि कहाँ छाडेका छन् र हल्दाई । सेवा आयोगको फाराम लगाउदा प्रमुख राजनीतिक संरक्षकको नाम किन नमागेको होला, म त छक्क पर्छु । नत्र, सिफारिस योग्यता क्रममा उमेरवाद, बाबु, आमा र बाजेको नाम थरको साथसाथै साइडमा अर्को कोलुम थपेर प्रमुख राजनीतिक संरक्षकको नाम थर पनि प्रकाशन गरिदिएको भए निर्णयकर्ताहरुलाई कति हल्का हुने थियो । त्यसतर्फ किन हो कसैको ध्यानाकर्षण नै भएको छैन ।

समायोजनका वेला सफ्टवेयरले काम गर्ने भन्ने हल्ला सुन्या छु । गफै त हो नि सम्धी, सधैँभरी सेटिंगले चलेको ठाउँमा सिस्टमले कहाँ काम गर्न देलान् र ! पहिलो कुरा त त्यो सफ्टवेयर बनाउनै दिँदैनन्, बनिहाले पनि प्रयोग गर्न दिंदैनन । किनकि सिस्टमले काम गर्न थाल्यो भने निजामती कारखानामा अनैतिक धन्दा चलाएर मोलमोलाईजा गर्ने यहाँ धेरैको रोजीरोटी खोसिन्छ । अनि तलबले मात्र खान त निजामतीमा कसलाई पुग्या छ’र !

तर पिर नगर्नु हल्दाई कुनै पनि कुरा अचाक्ली भएपछि भाटिएर जाने सांसारीक नियम हुन्छ । निजामतीको आलोकमा पावरको घमन्डमा नअल्झिई, राजनीतिको अराजनीतिक दबाबलाई थेग्न सक्ने, परिवारको समेत पर्बाह नगरी, धनको आडमा जकडिएको सामाजिक परम्परालाईसमेत बेपरवाह निरन्तर सेवामा समर्पित निजामतीका बीउहरू बाँकी नै छन् । समय आउनेछ र ती बीजहरू फुल्नेछन् । कारखाना चलाएर अरू धन्दा गर्नेहरूको आत्मा पश्चात्तापमा बल्झने छ ।

अब यो कुराको प्रतिज्ञा गर्ने सफा मनहरूको बाढी आउनेछ, छिट्टै । नआत्तिनु हल्दाई, कोही नभए पनि पंकेहरु छन् हल्दाई यो हिले मैदानमा । एक दिन सफा गरी छाड्छौँ । हाम्रै सेवाकालमा ।

यत्तिकै मनोभावमा खेल्दा खेल्दै कसो कसो पंके झकाएछ । राति कतिबेला हो कुन्नि चोर आयो चोर आयो भन्दै गाउँमा कराएको हल्ला सुन्यो । पंकेलाई उठ्न अल्छी लाग्यो । बरु अर्को कोल्टे फेर्‍यो । यहाँ दिन दहाडै अर्बौँको राजनीतिक लुट, करोडौँको नीतिगत कपटी र लाखौँको मोलमोलाईजा गर्ने द्रव्य पिशाचहरू खुलेआम कोट पाइन्ट र अझ हातमा डायरी बोकेर डुलिराका छन्, कसैले केही गर्न सक्या होइनन् । यो मध्यरातमा आउने त बिचरा खानै नपुगेर होला । लैजाओस् के नै लैजाला र ! त्यसलाई पनि दुई छाक राम्ररी खान पुगोस् प्रभु ।