काठमाडौँ । जिल्ला बैतडी दशरथचन्द नगरपालिका-४ साईलेक स्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
शुक्रबार साँझ १७:४० बजेको समयमा धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र. ०१-००१ ख ३६४६ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी २५: ३० मिटर तल खसी दुर्घटना भएको हो । बस चालक बैतडी पाटन नगरपालिका-८ बस्ने ३७ वर्षीय केशव सिंह महराले चलाएका थिए ।
दुर्घटनामा दशरथचन्द नगरपालिका-६ बस्ने ३५ वर्षीय वीरेन्द्र बहादुर चन्दको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १२ जना सवार रहेको बसका चालक भने सकुशल रहेका छन् । घाइते १० जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







