काठमाडौँ । किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले मानव जीवनरक्षामा योगदान पुर्याएका २०० भन्दा बढी अंगदातालाई विशेष समारोहकाबीच सम्मान गरेको छ।
मानव जीवन बचाउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउने दाताहरूप्रति आभार प्रकट गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रका सरोकारवाला, प्रत्यारोपण विशेषज्ञ, बिरामी, अंगदाता तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत विभिन्न स्थानीय तहका प्रमुख तथा सरकारी उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको अस्पतालले जनाएको छ।
कार्यक्रममा प्रस्तुत विवरणअनुसार अस्पतालले हालसम्म २०२ जनामा मिर्गौला प्रत्यारोपण तथा १५ जनामा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेको छ। त्यस्तै, नेपालमै पहिलो पटक जटिल मानिने ‘डुअल ट्रान्सप्लान्ट’ प्रक्रिया सफल रूपमा सम्पन्न गरिएको जानकारी पनि दिइएको छ।
अस्पतालका अनुसार हालसम्म प्रत्यारोपण गरिएका बिरामीमध्ये सबैभन्दा बढी उमेरका ८० वर्षीय तथा सबैभन्दा कम उमेरका १९ वर्षीय बिरामी रहेका छन्।
त्यसैगरी, क्यान्सरको उपचार क्रममा चिकित्सकीय मापदण्डअनुसार अंगदान गर्न योग्य ठहरिएकी ८० वर्षीया महिलाबाट प्राप्त अंगले एक बिरामीको जीवनरक्षा गर्न सफल भएको पनि अस्पतालले जनाएको छ।







