काठमाडौँ । वीर अस्पताल अन्तर्गत रहेको राष्ट्रिय ब्रेन ट्युमर केन्द्र (एनबीटीसी) ले ब्रेन ट्युमरका बिरामीलाई लक्षित गर्दै आगामी एक महिनासम्म शल्यक्रिया सेवा नि:शुल्क उपलब्ध गराउने घोषणा गरेको छ।
विश्व ब्रेन ट्युमर दिवसको अवसर पारेर सोमबार आयोजित कार्यक्रममार्फत अस्पतालले सो अवधिभित्र दर्ता हुने बिरामीहरूको शल्यक्रिया शुल्क पूर्ण रूपमा मिनाहा गरिने जानकारी दिएको हो। सोही अवसरमा ब्रेन ट्युमरसम्बन्धी जनचेतना अभिवृद्धिका लागि र्याली पनि आयोजना गरिएको थियो।
कार्यक्रमका क्रममा नेपालमा न्युरो-अन्कोलोजी सेवाको विकासमा योगदान पुर्याएको भन्दै डा. चिरधाम बुढाथोकीलाई ‘च्याम्पियन अफ न्युरो अन्कोलोजी केयर २०२६’ सम्मान प्रदान गरिएको थियो।
अस्पतालको न्युरो सर्जरी विभाग प्रमुख प्रा. डा. राजीव झाले समयमै उपचार उपलब्ध भए धेरै बिरामीको जीवन बचाउन सकिने उल्लेख गर्दै समयमै अस्पताल आउने प्रवृत्ति बढाउनुपर्नेमा जोड दिए। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका उनले हरेक वर्ष विश्व ब्रेन ट्युमर दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको बताए।
उनका अनुसार वीर अस्पतालमा मासिक रूपमा करिब ३० देखि ४० वटा ब्रेन ट्युमर शल्यक्रिया हुने गरेको छ। सामान्य अवस्थामा यस्ता शल्यक्रियाका लागि बिरामीलाई एक लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने गर्दछ।







