काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रतिनिधि सभाको शून्य समयमा उठाइएका जनसरोकारका विषयहरू कार्यान्वयनमा नआएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन् ।
संसद्मा बोल्दै उनले शून्य समयमा उठाइएका गम्भीर प्रश्नहरू निरन्तर बेवास्ता गरिँदै आएको अवस्थामा उक्त प्रक्रियाको औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको टिप्पणी गरे ।
सांसद खरेलका अनुसार तामाकोसी आयोजनासम्बन्धी छानबिन र भेडपु क्षेत्रमा सुकुम्वासीले भोग्दै आएको जग्गा समस्या जस्ता विषय पटक-पटक सदनमा उठाइए पनि सरकारबाट आवश्यक पहल नभएको आरोप छ ।
उनले शून्य समयलाई केवल अभिलेखका लागि मात्र सीमित राख्ने हो भने त्यसको अर्थ नरहने उल्लेख गर्दै उठाइएका विषय कार्यान्वयनमा लैजान विशेष संयन्त्र वा आयोग गठन गर्नुपर्ने सुझाव दिए ।
वर्षायाम नजिकिँदै गर्दा समेत प्रभावित नागरिकका समस्या समाधानमा सरकार उदासीन रहेको उनको भनाइ थियो ।
यसै क्रममा उनले यसअघि सांसद हरि ढकालले मौन विरोध गर्नुपरेको प्रसंग स्मरण गर्दै यस्ता अवस्था दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने चेतावनी पनि दिएका छन् ।







