गुरुको सम्झना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गुरुको सम्झना


प्रशासन विशेष ब्युरो

११ श्रावण २०७५, शुक्रबार


गुरु पूर्णिमा

गुरू ब्रह्मा, गुरू विष्णु, गुरू देवो महेश्वरः ।
गुरूः साक्षात् परब्रह्मा, तस्मै श्री गुरूवे नमः ।।

अर्थात्, गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन्, गुरु नै महेश्वर हुन्, गुरु नै साक्षात् बह्मा हुन्, यस्ता गुरुलाई मेरो प्रणाम छ ।

हिन्दू शास्त्रमा उल्लेख यो गुरु मन्त्रको अर्थ बुझ्ने हरेकले गुरुप्रति सम्मान गर्छन् । गुरु मन्त्रको अर्थ बुझेर हो वा गुरुको व्यवहारले हो, म पनि गुरुप्रति निकै सम्मान गर्छु ।

पाँच वर्षअघि म बत्तिसपुतलीस्थित सेवा सदन स्कुलमा कक्षा २ मा पढ्थे । कलिलो मस्तिष्क र सानो उमेर भए पनि त्यतिबेलाको गुरु पूर्णिमा मेरो मानसपटलमा ताजै छ । त्यहाँका गुरु (शिक्षक)ले हात समातेर मलाई अक्षर चिनाउनुभयो । त्यसैले म त्यहाँका गुरुलाई कहिल्यै भुल्न सक्दिनँ । उहाँहरूप्रति मेरो विशेष सम्मान छ । त्यतिबेला म लजालु र कम बोल्थें । तर, साहित्य लेखनमा भने रुचि थियो । विद्यालयमा हुने हरेक साहित्यिक प्रतियोगितामा म भाग लिन्थें ।

एक पटक विद्यालयले आयोजना गरेको हस्त लेखनमा सेमिफाइनलसम्म पुगेकी थिएँ । यसले मेरो लेखनलाई थप ऊर्जा दिएको थियो । र, साहित्यप्रतिको झुकाव बढाएको थियो ।

गुरु पूर्णिमा विद्यार्थी र शिक्षकको सम्बन्धको कारक मानिन्छ । यस वर्ष साउन ११ गते (आज) गुरु पूर्णिमा परेको छ । यो मेरा लागि ठूलो चाड हो ।

कक्षा ५ पछि मैले सेवा सदन स्कुल छाड्नुपर्याे । त्यतिबेला मलाई नरमाइलो लागेको थियो । पहिलो ज्ञान आर्जन गरेको विद्यालय छोड्दा सायद सबैलाई नरमाइलो नै लाग्छ होला ।

म अहिले भक्तपुर, सल्लाघारीमा रहेको सैनिक आवासीय महाविद्यालयमा कक्षा ७ मा पढ्दैछु । यो विद्यालयमा अघिल्लो वर्ष कक्षा ६ मा भर्ना भएकी हुँ । मेरा लागि यो विद्यालय, यहाँको माहोल, साथीहरू, गुरु सबै नयाँ थिए । तैपनि गुरुको मायाले माहोलमा भिज्न धेरै समय लागेन । गुरुले मप्रति देखाउनुभएको मायाको बयान गरी साध्य नै छैन ।

नयाँ माहोल भए पनि मलाई गुरुहरूले कक्षा ६ मा कक्षाको ‘भाइस क्याप्टेन’ बनाउनुभयो । कक्षा ७ मा त म कक्षाको ‘क्याप्टेन’ भएँ । यसले मलाई उत्साहित बनायो । यसको श्रेय पनि गुरूहरूलाई नै जान्छ । त्यति मात्र होइन, मैले सिकेको सबै कुराको हकदार गुरुहरू नै हुनुहुन्छ । पढाइसँगै अतिरिक्त क्रियाकलाप र मलाई दिइएको जिम्मेवारीलाई राम्रो सदुपयोग गर्दै अगाडि बढ्ने छु ।

पूर्णिमाको उज्यालो दिनको रूपमा मनाइने गुरू पूर्णिमा विद्यालय क्षेत्रमा नभई हरेक क्षेत्रमा मनाइने गरिन्छ । जसले असल कार्यका लागि प्रेरणा दिन्छ, त्यसलाई गुरू मान्ने गरिन्छ । गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण गुरुहरूलाई ढोग र नमन । साथै सम्पूर्णलाई गुरु पूर्णिमाको अवसरमा हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया दिनुहोस