काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सदस्य रहेको र नवीकरण भए पनि हाल उक्त सदस्यता होल्ड अवस्थामा रहेको बताएकी छन्।
नुवाकोटमा पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले एमालेसँग आफ्नो राजनीतिक सम्बन्ध निरन्तर रहेको दाबी गर्दै पार्टीलाई देशभक्त, राष्ट्रवादी, प्रगतिशील तथा सामाजिक न्यायमा प्रतिबद्ध संगठनका रूपमा चित्रण गरिन्।
उनका अनुसार आफूले एमालेको सदस्यता नवीकरण गरिसकेको भए पनि हाल त्यसको कार्यान्वयन स्थगित अवस्थामा रहेको छ। उनले आफ्नो राजनीतिक संलग्नता विभिन्न हिसाबले एमालेसँग जोडिएको उल्लेख गर्दै आफूलाई अहिले पनि एमालेकै सदस्यका रूपमा लिने बताइन्।
भण्डारीले आफ्नो राजनीतिक यात्रा २०३७ सालतिरको पार्टी सदस्यतासँग सुरु भएको उल्लेख गर्दै तत्कालीन माले हुँदै एमालेसम्मको रूपान्तरणसँग आफ्नो निरन्तर सम्बन्ध रहेको बताइन्।
उनले एमालेले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारेको उल्लेख गर्दै उक्त विचारधाराको श्रेय नेता मदन भण्डारीलाई जाने धारणा व्यक्त गरिन्। साथै, आफू मदन भण्डारीको जीवनसाथीको हैसियतले पनि पार्टी इतिहाससँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरिन्।
पूर्वराष्ट्रपतिले जनताको समर्थन, पार्टीको राजनीतिक संघर्ष र आफ्नो योगदानकै परिणामस्वरूप आफू दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारीमा पुग्न सफल भएको पनि स्मरण गरिन्।







