काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव शरणकुमार पाण्डेलाई दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा जिम्मेवारी दिइएको छ। कृषि मन्त्री गीता चौधरीले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै पाण्डेलाई उक्त जिम्मेवारी दिएकी हुन् ।
मन्त्रालयको पशुपन्छी तथा मत्स्य विकास महाशाखा प्रमुखसमेत रहेका पाण्डेले बिहीबार दिउँसो डीडीसी पुगेर पदबहाली गरेका छन्।
डीडीसीले किसानबाट दूध खरिद गरेबापत करिब ५० करोड रुपैयाँ बक्यौता भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ। जसको भुक्तानी प्रक्रिया विगत लामो समयदेखि विवादित बन्दै आएको छ ।
पछिल्लो समय डीडीसी विभिन्न विवादको घेरामा परेको छ। म्याद गुज्रिएको नौनीलाई घिउका रूपमा प्रशोधन गरी बिक्री गरिएको विषयदेखि संस्थाभित्रका विभिन्न आन्तरिक विकृतिहरू पनि उत्तिकै मौलाएको देखिन्छ ।
त्यसैगरी, किसानबाट सस्तोमा दूध खरिद गरी मुनाफासहित उपभोक्तालाई बिक्री गर्दा पनि संस्थाले घाटा व्यहोर्नु परेको अवस्थाबारे अनुसन्धान गर्नुपर्ने आवाजसमेत उठिरहेको छ । यससँगै विगतदेखि हालसम्म नेतृत्व तहसँग जोडिएका विभिन्न स्वार्थहरू पनि अनुसन्धानको दायरामा आउनु पर्ने अधिकारीहरूले बताउँदै आएका छन् ।







